गोरखा : धार्चे–७ खानीगाउँकी ८६ वर्ष कटेकी आशमाया सुनारलाई अचेल सम्साँझै खाना खान हतार हुन्छ। साँझ नछिप्पिँदै खोलेफाँडो खाइवरी प्लास्टिक ओढेर ‘पाल’तिर उकालो लाग्छिन्। ‘पाल भनेको मात्रै हो, निद्रै लाग्दैन। आँखै चिम्म नगरी छर्लङ्गै उज्यालो हुन्छ’, उनी भन्छिन्, ‘रुनि कति रुनि, हाँस्नी कसरी हाँस्नी। म एक्लो छु। (पर देखाउँदै) पहिले ऊ त्यो खोलाको छेउमा थियो घर। भुइँचालोले भत्काइदियो। यहाँ आएर बल्लतल्ल बनाएको घर बस्नै नपाई फेरि यस्तो हालत भयो।’ उनी एकल महिला हुन्।
गत साउन २८ गते राति ६ वर्षीय बालकले गाउँ भत्किन थालेको पहिलोपल्ट थाहा पाएको हो। ‘अघिल्लो दिन दिनैभरि मेलामा काम गरेर आएको, खाना खाएर पल्टिनेबित्तिकै हामी भुसुक्क निदाएछौं। रातभरि पानी परेछ। बिहान चारबजेतिर यो नानी पिसाब फेर्न जान्छु भनेर उठ्यो। ओछेनबाट उठेर भुइँमा झर्नेबित्तिकै खाल्डोमा परेछ’, घटना सम्झँदै सुनिता विक भन्छिन्, ‘आमा, आमा किन यस्तरी भुईँ खनेको भनेर पो सोध्छ। के भन्छ यो भनेर उठेर हेरेको त घरभित्र खुट्टै गड्ने चिरैचिरा भइसकेको रहेछ। अनि मैले छिटो उठ्नू, छिटो उठ्नू भनेर घरको सप्पैलाई उठाएँ। हामी उठेर छिमेकी सबैलाई उठायौं। छिमेकीले गाउँले सबैलाई उठाए। सबैको घर चिरैचिरा भइसकेको रहेछ। अनि यहाँबाट पानी भित्रभित्र भागेको।’ त्यस दिनदेखि घरमा बास नरहेको उनको भनाइ छ।
घर चिराचिरा परेपछि चिन्तित स्थानीय सुनिता विकको परिवार।
बर्खा महिना यहाँ हरसाँझ झमझम पानी पर्छ। गाउँलेहरू चिरा परेको घरभित्र खाना खाएर अल्लि पर बनाइएको त्रिपालको टहरोभित्र सुत्न जाने गर्छन्। त्रिपालभित्र बस्दा पनि उनीहरूलाई डर भने लागिरहन्छ। ‘राति एकदम डर लाग्छ। यस्तो बच्चाहरू छन्। अहिले पो लान्छ कि, अहिले पो लान्छ कि सोच्दासोच्दै निदै जान्न, रातभरि चकटी बुन्दै बस्ने हो’, अर्का स्थानीय चञ्चला विक भन्छन्, ‘भर्खरै बनाएको घर, बनाएर सक्किएको पनि छैन। बस्दै गर्ने, बनाउँदै गर्ने भनेर बस्न थालेको तीन महिना पनि भएको छैन, पहिरोले बिगार्यो।’ पालमा बस्न जान बालबच्चा नमान्ने उनको भनाइ छ।
त्रिपालभित्र ओछ्याउने गतिलो छैन। ‘होचो त्रिपाल, चिसो भुइँ। फलेक ओछ्याएर सुत्नुपर्छ’, फूलमान बिक भन्छन्, ‘दिनदिनै पानी पर्छ। केटाकेटीहरू पानी भित्रभित्र पालमा जान मान्दैनन्। घिच्याउँदै लैजानुपर्छ। कताको पढ्ने, कताको लेख्ने।’ छ, सात जनाको परिवार एउटै पालभित्र सुत्नुपर्दा बालबच्चा र बूढाबूढीलाई समस्या भएको उनको गुनासो छ। सबै घर चिराचिरा परेको धार्चे गाउँपालिका ७ खानीगाउँ ।
‘तल गण्डकी नदी छ, माथि चुङगङको पहिरो छ, छेउमा गाउँलाई तानिरहेको खोल्सा छ। घरभित्र, बाहिर, बारीमा पनि कतै खुट्टा गड्ने, कतै मान्छे सिँगै अट्ने चिरैचिरा छ। रातदिन डरैडरमा बस्नु परेको छ’, काइँली सुनार भन्छिन्, ‘डराई–डराई बस्नुभन्दा बरु लाने जति एक्कैचोटी घर्याकघुरुक लगेको भए हुन्थ्यो।’ गाउँपालिकाले आफूलाई त्रिपाल पनि नदिएको उनको गुनासो छ।
जीवनभरि कमाएको पैसाले हालसालै बनाएको घर चिरा परेपछि एकल दिदी बहिनी ७३ वर्षकी मनमाया र ७० वर्षकी विष्णु गुरुङको दिन अचेल रोएरै बित्छ। उनीहरूलाई नेपाली भाषा पटक्कै बोल्न आउँदैन। रुँदैरुँदै भनेको उनीहरूको गुनासो नेपाली भाषामा उल्था गर्दै सचिन गुरुङ भन्छन्, ‘हुँदाखाँदाको घर भूकम्पले भत्कायो। बसोबास गरेको जमिन पनि यसरी नै चिरैचिरा पर्यो। संगोलमै बसेकाले सरकारले दिने भूकम्पको राहत उनीहरूको नाममा परेन, भाइको नाममा मात्र पर्यो। अनुदानमा थपथाप गरी भाइ नयाँ घर बनाएर छुट्टिए। वृद्धभत्ता संगालेर राखेका थियौं। दुःख गरेर जोडेको पैसाले ओत लाग्ने सानो झुप्रो बनाएका थियौं। पैसा तिर्न नसकेर घरमा बिजुली बत्ती पनि जोडेका थिएनौं। जसोतसो बसिरहेको यही घर पनि बस्नै नमिल्ने गरी चिरैचिरा पर्यो। अब हामी कहाँ बस्न जाने ?’ दिदीबहिनीहरू दुवै अविवाहित हुन्। बहिनी विष्णु अपांग पनि हुन्।
भूकम्पपछि लगातार खानीगाउँलाई पहिरोले तानिरहेको छ। भूकम्पले चिराचिरा भएको चुङगङ (चुनडाँडा) हरेक बर्खामा पहिरिँदै जाने गरेको छ। गाउँको तल र माथि पहिरो छ। एकातर्फ गहिरो खहरे खोला छ। यही पहिरो र खोलाले गाउँको सतह हरेक वर्ष तलतल तानिरहेको स्थानीय जनप्रतिनिधि पन्दुर गुरुङको भनाइ छ। ‘भूकम्प गएको आठ वर्षयता १९ घर पहिरोले पूरै लगिसकेको छ। उनीहरू बिस्थापित भएर स्कुल टोलमा बस्छन्। उनीहरू बसेको जग्गा पनि अर्काको हो। न किनबेच भएको छ, न लालपुर्जा बनेको छ’, वडा सदस्य गुरुङ भन्छन्, ‘भाडा तिरेको जग्गामा पनि पक्की घर बनाएर बसेका छन्। जग्गाको भाडा तिरेका छन्। अब अहिले यही घर पनि चिराचिरा भयो। त्यहाँबाट यहाँ आइयो। यहाँ पनि त्यस्तै भएपछि अब कहाँ गएर बस्ने ? समस्या यहाँनेर छ।’
अहिलेको बर्खाले यहाँका ८२ घरमध्ये २६ घर बिस्थापित भएका छन्। गाउँपालिकासँग पर्याप्त त्रिपाल नहुँदा १२ घरपरिवारलाई मात्र त्रिपाल दिएको उनको भनाइ छ। बाँकी १४ परिवारमध्ये कोही स्कुल टोलको आफन्तको घरमा, कोही छरछिमेकीको घरमा शरण लिइरहेका छन्।
चिरिएकै घरमा बस्छिन् सानी गुरुङ
घर, आँगन, करेसाबारी सबै चिराचिरा परेपछि गाउँ नै बिस्थापित भए पनि ८५ वर्षकी सार्नी गुरुङ घर छोड्न मान्दिनन्। परिवारका अन्य पाँच जना घरबाट पर त्रिपालमा सरेर बस्छन्, तर उनी एक्लै पहिरोले चिराचिरा परेको घरमा बस्दै आएकी छिन्।
‘डर त लाग्छ तर मर्ने बेला भएको बूढी कहाँ बस्न जाने ?’, नेपाली भाषा नबुझ्न् उनी स्थानीय गुरुङ भाषामा भन्छिन्, ‘भूकम्पले त्यहाँबाट धपाएर यहाँ ल्याइपुर्यायो। अहिले फेरि यहाँबाट पनि धपाएर कहाँ पुर्याउन खोजेको हो ? अरू जहाँसुकै जाउन्, म त जान्न। यहीँ कुखुरा, बाख्रासित बस्छु।’ डर लागेर ननिदाइकन रात कटाउने गरेको उनको भनाइ छ।
त्रिपाल पनि पाइएन
रातभरि गाउँका घरघरमा पहिरोले चिराचिरा पारेको तर आफूले बिहान पाँच बजेमात्र थाहा पाएको वडा सदस्य पान्दुर गुरुङको भनाइ छ। ‘मेरो घरचाहिँ गाउँबाट अल्ली तल छ। त्यहाँचाहिँ पहिरोको समस्या छैन’, उनी भन्छन्, ‘राति गाउँका सबै घरमा धाजा फाटेछ। भागाभाग भएछ। मैले बिहान पाँच बजे मात्र थाहा पाएँ। मैले थाहा पाएपछि वडाअध्यक्ष राकेश गुरुङलाई फोन गरेँ। अध्यक्षले गाउँपालिका अध्यक्षलाई फोन गर्नुभएछ। त्यस दिन त्यसै भयो। भोलिपल्ट गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ १२ वटा त्रिपाल लिएर आउनुभयो।’
घर त सबैको चिरिएको, तर गाउँपालिकामा त्यति नै त्रिपाल भएकाले त्यति मात्र बाँड्न पाएको उनको भनाइ छ। ‘त्रिपाल नभै भएको छैन। अब अध्यक्षज्यूले व्यवस्था हुन्छ भन्नु भएको छ। के हुन्छ होला’, उनले भने। त्रिपाल नपाउँदा समस्या भएको अर्की स्थानीय सरिता गुरुङको भनाइ छ। ‘हामी गैराटोल र काफलटोल सबैको घर बस्न हुनी छैन’, उनी भन्छिन्, ‘कसैकसैले मात्र त्रिपाल पाए, हामीले पाएनौं। अरूको घरमा कति दिन पाहुना भएर बस्न जाने ?’
पहिरोले घर जोखिम भएपछि त्रिपालभित्र बसेका स्थानीय।
त्रिपालका लागि रेडक्रस र गण्डकी प्रदेश सरकारसँग समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको भनाइ छ। स्थानीय सुशील गुरुङका अनुसार भूकम्प लगत्तै भूगर्भ विभागबाट खटिएका हरेराम पराजुलीसहितका विज्ञ टोलीले खानीगाउँको सबै ठाउँ पहिरोको उच्चजोखिममा रहेको छ भनेका थिए। त्यसैले यथाशीघ्र सुरक्षित ठाउँ खोजेर पुनस्र्थापना गर्नुपर्ने सिफारिस गरेको थियो।
तीन वर्षअघि धार्चे गाउँ कार्यपालिका बैठकले यहाँका करिब ४५ घरपरिवारलाई गोरखा सदरमुकाम बजार आसपासको सिमलगैरी क्षेत्रमा पुनस्थापित गर्ने निर्णय गरेको थियो। तर, घरमात्र भएर नहुने, गरिखाने जग्गा जमिन नभएपछि परिवार पाल्न समस्या हुने कारण देखाउँदै गाउँलेहरू सर्न मानेनन्। ‘तर, यसपालि त्यस्तो अवस्था छैन’, वडा सदस्य गुरुङ भन्छन्, ‘अहिले वरिपरि बस्न सुरक्षित जग्गा नै नदेखिएकाले जहाँ लगेर पुनस्थापित गराए पनि जान्छौँ भनेका छन्।’ त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ।
हामीले पहिल्यै बस्ती सार्नुपर्छ भनेका थियौं : विज्ञ पराजुली
भूकम्पपछि खानीगाउँ रहेको जमिन र बचेखुचेका घरहरू चिराचिरा भएर क्षतिग्रस्त भएपछि २०७५ सालमा भूगर्भविद् लेखप्रसाद भट्ट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीसहितको विज्ञ टोलीले सो गाउँको स्थलगत अध्ययन गरेको थियो। अध्ययनपछि सो ठाउँ पहिरोको उच्च जोखिममा रहेकाले पूरै बस्ती सार्न सुझावसहितको प्रतिवेदन बुझाएका थिए।
‘पाँच वर्षअघि भूगर्भविद्सहित पुनर्निर्माण प्राधिकरणको टोलीले खानीगाउँका १ सय २१ घरधुरीलाई बर्खाअघि नै सुरक्षित स्थलमा सार्न सिफारिस गरेका थियौं’, पराजुलीले भने, ‘तर अहिलेसम्म पनि सुरक्षित स्थलमा नसार्नु दुखद् कुरा हो। हामीले गाउँलाई सार्न सकिने दुइटा सुरक्षित ठाउँ पनि हेरेर यहाँ उपयुक्त हुन्छ भनेर सिफारिस गरेका थियौं।’ त्यतिबेला जग्गा छनोट गरी स्थानान्तरणको प्रक्रियाअघि सारेको भए जग्गा किन्ने रकम पनि प्राधिकरणले उपलब्ध गराउने उनले बताए।
गाउँको भित्रि सतहमा ‘स्लोप रक’ रहेको र त्यसमाथि माटोको सतह रहेकाले हरेक वर्षाका बेला तलतल बगिरहने उनले बताए। ‘त्यहाँभित्र स्लोप रक छ। बाहिरी सतहमा नरम माटो छ। माटो पनि थोरै पानीमा पनि पग्लिने कमेरे माटो छ। त्यो बगिरहने खालको माटो हो’, उनले भने, ‘त्यो एकैचोटी गल्र्यामगुर्लुम पहिरिएर जाने खालको पनि होइन। आँखाले नदेखिने, तर बिस्तारै बग्दै जाने, ढल्किँदै जाने खालको ठाउँ हो। त्यसलाई लङटर्म सेटलमेन्ट भन्छ। त्यसैले त्यहाँ बस्ती रहन दिनु नै हँुदैन भन्ने हाम्रा निश्कर्ष थियो।’
स्थानीय दुङ्स्योङ खोलाको भित्री बहावले जमिन तीव्र कटान गरेको र पहिरो क्रमशः बस्तीतिर सर्दै गएको उनले बताए। ‘त्यतिबेलै पनि बस्तीभित्र ठाउँ–ठाउँमा चिरा परेको थियो। अहिले धेरै जोखिम भयो होला। पछि झन् जोखिम हुन्छ’, उनले भने। गाउँलेले आफ्नो इच्छाअनुसार सुरक्षित ठाउँ खोजेर बसोबास गर्न चाहेको ठाउँमा तत्काल स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ।
अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छौं : प्रजिअ भुसाल
खानीगाउँको प्रारम्भिक अवस्थाबारे जाँचबुझ गर्न प्रहरी पठाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जनाएका छन्। ‘त्यहाँ के भइरहेको छ भन्ने बारेमा बुझ्न म गाउँपालिकाका अध्यक्षसँग नियमित सम्पर्कमा छु’, उनी भन्छन्, ‘प्रहरीबाट विस्तृत विवरण आउँछ। के–के भएको रहेछ हेरुँ। प्रदेश सरकारसँग पनि त्रिपाललगायत राहत सामग्री माग गरेको छु। रेडक्रससँग पनि समन्वय भएको छ। सामग्री दिन्छौं भनेका छन्।’
दीर्घकालीन समाधानका लागि पुनर्वास गराउन सुरक्षित ठाउँ खोज्ने र पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणसँग समन्वय गर्ने योजना रहेको प्रजिअ भुसालले बताए। यसअघि २०७५ सालमा भूगर्भविद् र पुनर्निर्माण प्राधिकरणको टोलीले गरेको अध्ययनको प्रतिवेदन पनि खोज्ने उनले बताए।
अल्पकालीन र दीर्घकालीन योजना बनाइरहेका छौं। विज्ञको प्रतिवेदन अध्ययन गरेर अघि बढ्ने छौं।
दिनेशसागर भुसाल , प्रमुख जिल्ला अधिकारी
राहत सामग्रीका लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय भइरहेको छ। पहिले राहतको व्यवस्था गरौं। अनि अन्य व्यवस्था पनि सँगै गर्दै लैजानुपर्ला।
लक्ष्मण गुरुङ, गाउँपालिका अध्यक्ष
पहिले गाउँपालिकाले सार्न खोजेको ठाउँमा सरिएन। अबचाहिँ जहाँ लगेर राखे पनि गाउँले तयार छन्। अब केही गर्नुपर्ला।
पन्दुर गुरुङ, वडा सदस्य
हामीले त पाँच वर्षअघि नै तत्काल स्थानान्तरण गर्नुपर्छ भनेर सुझाव दिएका थियौं। अहिलेसम्म नसर्नु दुखद् कुरा हो। अबचाहिँ स्थानीयले रोजेको सुरक्षित ठाउँमा सार्न ढिला गर्नुहुन्न।
हरिराम पराजुली, विज्ञ