सानोठिमीस्थित बाल सुधार गृहबाट भागे १३५ बढी किशोर, प्रशासन भन्छ- खोजीकार्य तीव्र पारेका छौं
काठमाडौं : भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट १३५ जनाभन्दा बढी किशोरहरू भागेका छन्। सोमबार दिउँसो उनीहरू ढोका फोडेर भागेको भक्तपुरका सहासय सीडीओ डोरेन्द्र निरौलाले बताएका छन्।
उनका अनुसार सुधारगृहमा रहेका १८ वर्षीय कमल बस्नेत आइतबार विहान मृत्यु भएको थियो। ओछ्यानमा अचेत अवस्थामा भेटिएका बस्नेतलाई भक्तपुरकै नागरिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सोही कारण सुधार गृहमा उत्तेजित भीडका कारण बालबालिका तथा किशोरहरू ढाका फोडेर भागेको सहायक सिडीओ निरौलाले बताए।
'सुधारगृहमा रहेका २५६ मध्ये ४३ जना महिला किशोरी र केही ७८ जना बालकहरूमात्रै सम्पर्कमा छन्। बाँकी उत्तेजित भीडका कारण भाग्न पुगेका छन्,' अन्नपूर्णसँग उनले भने।
सुधारगृहबाट भागेहरूको खोजीकार्य तीव्र पारिएको छ। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको नाकामा उच्च सतर्कता अपनाएर खोजीकार्य भइरहेको सहायक सीडीओ निरौलाले बताए। 'सुधारगृहमा सुरक्षाकर्मीले हातहतियार लिएर जान मिल्दैन। त्यहाँ लाठी चार्ज पनि गर्न मिल्दैन। कमजोर व्यवस्थापनका कारण कतिपय किशोरहरू भाग्न पुगेका छन्। उनीहरू सुरक्षा घेराभन्दा बाहिर छैनन्। सम्पर्कमा आउने क्रम जारी छ,' उनले भने।
उनले मृतक बस्नेतको मृत्युको कारण नखुलेको बताए। उनको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल लगिएको उनले बताए। 'राति सुत्दा हल्का ज्वरो आएको भन्ने कुरा आएको छ। तर के कारणले मृत्यु भएको भन्ने खुलेक छैन। घटनाको छानविन गर्न समिति बनाइएको छ। समितले काम गरिरहेको छ,' उनले भने।