सहमतीय सरकारको पक्षमा छु : मुख्यमन्त्री थापा
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राष्टिय राजनीतिमा जे भएपनि कोसी प्रदेशमा सहमतिको सरकारको विकल्प नभएको बताएका छन् । ‘म सहमतीय सरकारको पक्षमा छु । प्रदेशमा सहमतिको सरकार आवश्यक छ,’उनले भने, ‘यसको विकल्प नै छैन । सहमतिकै सरकार बनाउने बिन्दुबाट अघि बढ्नुपर्छ ।’
प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेपछि उठेका प्रश्नको जवाफ दिँदै थापाले राष्टिय राजनीतिको भन्दा कोसीको अवस्था विशिष्ट रहेको उनले बताए । आफू मिलेर काम गर्ने र टसलको राजनीति गर्न नचाहेको उनको भनाइ छ।
प्रदेशमा निर्णायक शक्तिका रूपमा रहेको राप्रपाले पनि साथ नदिएको उनले बताए । ‘राप्रपासँग पटकपटक छलफल भयो । तर, प्रदेशलाई दुर्घटनाबाट जोगाउने भूमिकामा राप्रपालाई पाउन सकिनँ,’उनले भने, यसअघि राप्रपासँग सहकार्यको सबै प्रयास असफल भएको छ । राप्रपाले मुख्यमन्त्री र सभामुख पनि लिन मानेन ।’
फरक विचार भएपछि कुरा सुन्न पनि मन नलाग्ने भन्दै थापाले सबैसँग विश्वासको मत मागिसकेको बताए । भने,‘मैले हिक्मत कार्कीसँग त पटकपटक फोन गरेर मत मागेको छु । तर, मत नै मागेन भन्ने कुरा सुनियो । यसमा कुनै आपत्ति छैन ।’
आफूलाई विश्वासको मत दिएर सहमतिको राजनीतिक सुरु गर्न एमाले र राप्रपालाई उनले आग्रह गरे । सरकारमा वा प्रतिपक्षमा जहाँ बसे पनि प्रदेशलाई दुर्घटनाबाट जोगाउन भने आवश्यक रहेको उनको भनाइ छ । कुनै विषयलाई मुद्दा बनाएर अघि बढ्नुभन्दा सहमति र सल्लाहबाट सरकार सञ्चालन गर्नुपर्ने थापाले दोहोर्याए ।
‘प्रदेश बनाउनुछ । कसैले केही जित्नु छैन । प्रदेशको समृद्धिको लागि लाग्नुछ । हामी नमिलेसम्म र सहकार्य नगरेसम्म केही हुँदैन,’उनले भने । थापाले टसल र द्वन्द्वभन्दा पनि आफूले सहकार्य चाहेको बताए ।
विश्वासको मत लिएपछि मात्रै सरकारले आफ्ना काम सुरु गर्नुपर्ने मान्यताका आधारमा आफूले विश्वासको मत लिन लागेको उनको भनाइ छ ।
‘साउन २४ गतेबाट प्रदेशसभा प्रारम्भ गर्ने हाम्रो योजना थियो,’उनले भने,‘तर, प्रमुख प्रतिपक्षीले नमानेपछि के गर्नु ?’
थापाले विकास र समृद्धिको बाटोमा प्रदेशलाई लैजान आफूले सक्दो प्रयास गर्ने पनि बताए । जनताको आधारभूत आवश्यकतासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ । लम्पी स्किनका कारण किसान मर्कामा परेपछि कृषि मन्त्रालयसँग समन्वय गरेर भ्याक्सिन खरिद गर्दै उपलब्ध गराइएको थापाले बताए ।
‘अहिले लम्पी स्किन,डेंगुलगायतका प्रकोपजस्ता अनेक समस्याबाट प्रदेश गुज्रिएको छ । त्यसको दोष र जिम्मेवारी लिन हामी तयार छौं,’थापाले भने ।