सानोठिमीस्थित बालसुधार गृहमा झडप हुँदा १५ प्रहरी र ६ जना बन्दी घाइते
काठमाडौं : भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको छ।
बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको हो। विभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरूले बाहिर निस्केर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो। झडपका क्रममा ८ जना सशस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरू घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
गेट बाहिर निस्केर प्रदर्शन गर्ने क्रममा केही बालबालिका भागेको उनले बताए। भागेकामध्ये अधिकांशलाई नियन्त्रणमा लिइसकेको र अन्यको पनि खोजी कार्य जानकारी रहेको निरौलाले बताए। घटनापछि सुधारगृहबाहिर ठूलो संख्यामा सुरक्षकर्मी तैनाथ गरिएको छ।