कोसीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च जान्छौं : एमाले
विराटनगर : संविधानविपरीत विश्वासको मत लिएको भन्दै कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमाले सर्वोच्च अदालन जाने भएको छ।
सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको एमालेको ठहर छ। सभामुखको भूमिकामा रहेर प्रदेशसभाको अध्यक्षता गरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सोमबार प्रदेशसभामा थापालाई विश्वासको मत दिएका थिए।
एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मत लिने नाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिने काम भएको बताउँछन्।
मत हाल्ने समयावधि सकिएपछि ‘जुरुक्क उठेर’ सभामुखले मतदान गर्नु घोर आपत्तिजनक र संसदीय अपराध भएको भण्डारी बताउँछन्। मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च जाने र त्यसको तयारी थालिएको उनले बताए। ‘सत्तारुढ गठबन्धनले पटकपटक संविधानको धज्जी उडायो। कानुन नमान्ने र संसदीय गरिमा नराख्ने काम गर्यो,’ भण्डारी भन्छन्, ‘संविधानमाथिको हमलाले निर्लज्ज बनाएको छ। प्रदेशसभाभित्र संसदीय मूल्य मान्यताविपरीत दण्डनीय अपराध भएको छ।’
सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई सर्वोच्चले सच्याए पनि गठबन्धनले पुनः त्यही बाटो अवलम्बन गरेको उनले बताए।