अविवाहित युवतीले जन्माएको बच्चा चिकित्सकले बेचेको खुलासा, ६ जना पक्राउ

अविवाहित युवतीले जन्माएको बच्चा चिकित्सकले बेचेको खुलासा, ६ जना पक्राउ
डा. तपेश्वरलाल कर्णलाई कोसी अस्पतालबाट नियन्त्रणमा लिँदै प्रहरी।
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका-९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) चिकित्सकले नै बेचेको खुलासा भएको छ। 

अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका-२ मा जीवितै फेला पारेको हो। प्रहरीका अनुसार शिशुलाई गत असार १४ गते जन्मनसाथ अस्पतालबाटै गायव पारिएको थियो। 

अन्दाजी ४६ वर्षीया दिलमाया राजवंशीको घरबाट मंगलबार साँझ ५:३० बजेतिर बच्चालाई सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले बच्चा बिक्री गरेको खुलेको छ। 

अस्पतालबाटै बच्चा गायव पारिएको विषय बाहिरिएपछि घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए। प्रहरीका अनुसार दिलमायाका छोरा सूर्यनारायण र बुहारी श्यामबत्तीको बिहे गरेको १० वर्षसम्म सन्तान नभएको पाइएको छ। ‘बिहे गरेको लामो समयसम्म सन्तान नभएपछि उनीहरू बेवारिसे बच्चाको खोजीमा रहेछन्। त्यही बेला अविवाहित युवती बच्चा जन्माउन अस्पताल आइन्,’ प्रहरी स्रोतले भन्यो, ‘चिकित्सक, युवतीका प्रेमी (बच्चाका बाबु) र अस्पतालमा काम गर्ने कर्मचारीसँग कुरा मिलाएर बच्चा लगेको देखिन्छ। पैसा लिएर बच्चा दिलमायाको परिवारलाई उपलब्ध गराएको पाइएको छ।’ 

कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) डा. तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाई कर्मचारी सुधा राजवंशीमार्फत दिलमायाको परिवारलाई बच्चा बेचेको प्रहरीको भनाइ छ। ‘दिलमायाका परिवारले ५० हजार रुपैयाँ तिरेर बच्चा लगेको बताएका छन्। तर, हामीसँग ५ लाखमा बिक्री गरिएको कुरा आएको छ,’ डीएसपी दाहालले भने, ‘यस विषयमा थप अनुसन्धान भएपछि वास्तविकता पत्ता लाग्छ। अहिलेसम्म बच्चा खरिद-बिक्रीको रकमका बारेमा पुष्टि भइसकेको छैन।’ 

कति रुपैयाँमा बच्चा बिक्री गरिएको हो भनेर यकिन गर्न विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए। उनका अनुसार पछि बच्चालाई विराट शिक्षण अस्पताल लगेर एक हप्तासम्म उपचार गराएको पनि पाइएको छ। ‘उपचारमा २ लाख रुपैयाँ खर्च भयो भनेका छन्,’ दाहालले भने। 

प्रहरीले डा. तपेश्वरसँगै उनको क्लिनिकमा काम गर्ने निर्मला यादव, ग्रीनक्रस अस्पतालकी कर्मचारी सुधा राजवंशी, अविवाहित युवतीका प्रेमी (बच्चाका बाबु) गोविन्द राई, बच्चा जिम्मा लिने दिलमाया र उनका छोरा सूर्यनारायणलाई पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार निर्मला डा. तपेश्वरको क्लिनिकमा कार्यरत रहेर बिरामी ओसारपसार गर्ने बिचौलियाको काम गर्थिन्। बच्चा बिक्री गरेको घटनामा संलग्नता देखिएपछि निर्मलालाई पनि नियन्त्रणमा लिइएको डीएसपी दाहालले बताए। 

उनका अनुसार दिलमाया र उनका छोरा सूर्यनारायण अस्पतालसम्म बच्चा लिन गएका थिए। ‘बच्चा लिन मोटरसाइकलमा अस्पतालसम्म पुगे,’ दाहाल भन्छन्, ‘बच्चा जिम्मा लिएपछि उनीहरू घर फर्किए।’ यो घटनामा हालसम्म ६ जना पक्राउ परिसकेको उनले बताए। उनका अनुसार डा. तपेश्वर र गोविन्द शुक्रबार पक्राउ परेका थिए। उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा अरु पक्राउ परेका हुन्। 

प्रहरीले पक्राउ गरेसँगै बिरामी परेको भन्दै डा. तपेश्वर उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका थिए। डा. तपेश्वरलाई उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भनेर अस्पताल प्रशासनले घटनाको सुरुवाती अनुसन्धानमा प्रहरीलाई असहयोग गरेको थियो। कोसी अस्पताल प्रशासन र चिकित्सकको असहयोगका कारण प्रहरीले उनलाई म्याद थप गर्न अदालतसम्म पुर्‍याउन पाएन। तर, प्रक्रिया पूरा गरेर उनीविरुद्ध प्रहरीले आइतबार नै म्याद थप गरेको थियो। 

null
पक्राउ परेका सबै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइसकिएको डीएसपी दाहालले बताए। उनका अनुसार डा. तपेश्वरलाई कोसी अस्पतालले मंगलबार डिस्चार्ज दिएको छ। अस्पतालबाट डिस्चार्ज हुनसाथ प्रहरीले उनलाई हिरासतमा लिएको छ। बच्चा गायव पारिएको गम्भीर घटनामा अनुसन्धान गर्न असहयोग गरेपछि कोसी अस्पताल र चिकित्सकलाई पनि प्रहरीले मुद्दामा प्रतिवादी बनाउने तयारी गरेको थियो। 

बिहे नभएकी २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन्। प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। उनीबाट भोलिपल्ट जन्मिएको शिशुलाई त्यही दिन बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार गोविन्द र युवती २ वर्षदेखि प्रेम सम्बन्धमा थिए। बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएका थिए। सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएका थिए। 
उक्त क्लिनिक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरकै हो। 

आफ्नो क्लिनिकमा परीक्षण गरिसकेर पैसामा कुरा मिलाएपछि युवतीलाई उनले प्रसूतिका लागि ग्रीनक्रस अस्पताल लगेका थिए। वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ। अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी-११ उल्लेख छ। ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई डिस्चार्ज दिएर पठाइएपनि बच्चा भने जिम्मा नलगाएको डीएसपी दाहालले बताए। 

अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले सुनसरीको इटहरी लिएर गएको युवतीले बताएकी छन्। इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र सुत्केरी अवस्थाकी आफू अलपत्र परेको गुनासो युवतीको छ। ‘बच्चा खोइ भनेर सोध्दा उहाँ (गोविन्द)ले अस्पतालमै छ भन्नु भयो। दुई दिनपछि मलाई अलपत्र छाडेर हिँड्नु भयो,’ उनले भनिन्, ‘त्यसपछि सुनसरीकै सोनापुरमा कोठा भाडामा लिएर बसें। उहाँ सम्पर्कविहीन हुनु भयो।’ 

उनले आफूले जीवितै जम्माएको बच्चा नर्सहरूले लिएर गएको र डिस्चार्ज गर्दा जिम्मा नदिएको बताइन्। चिकित्सकसँग मिलेमतो गरेर गोविन्दले बच्चा गायव बनाएको भन्दै ती युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले बच्चा सकुशल फेला पारेको हो। 

डा. तपेश्वरले भने ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको दाबी गर्दै आएका थिए। तर, पक्राउ परेका गोविन्द र बच्चाकी आमा (युवती)ले बच्चा आफूहरूसँग नरहेको बताए। युवतीले भने प्रसूतिका लागि डा. तपेश्वरलाई ३५ हजार रुपैयाँ तिरेको पनि बताइन्। ‘सुरुमा ५०  हजार मागेका थिए। पछि ३५ हजारमा कुरा मिल्यो,’ उनले भनिन्। 

ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले भने तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले थप उपचारका लागि शिशुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताएका थिए। उनका अनुसार जन्मदा शिशुको तौल ९ सय ५० ग्राम मात्रै थियो। 

डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बेचेको आरोप 

कोसी अस्पतालका पूर्वमेसुसमेत रहेका ६८ वर्षीय डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बिक्री गरेको आरोप लागेको छ। अविवाहित युवती तथा अवैध गर्भबाट जन्मिएको बच्चा मोटो रकम लिएर सन्तानविहीन दम्पतीलाई बिक्री गर्ने गरेको आरोप उनीमाथि लागेको हो। 

प्रहरीले पृष्ठभूमिसमेतलाई आधार बनाएर उनीमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार उनी लामो समयदेखि यो धन्दामा संलग्न रहेको पाइएको छ। ‘अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने गरेको पाइयो। शिशुलाई मोटो रकम लिएर सन्तान नभएकालाई बिक्री गर्ने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘शिशु बिक्री गर्दा १ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको कुरा आएको छ। थप अनुसन्धानपछि यस विषयमा प्रष्ट हुन्छ।’ स्रोतका अनुसार अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेटाउने गिरोह सक्रिय छ। 

त्यो गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। नर्स र अस्पतालका कर्मचारीदेखि उनको क्लिनिकमा बिचौलियाको काम गर्नेसम्मले अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेट गर्ने वातावरण मिलाउने गरेको पाइएको छ। अवैध गर्भलाई पतन गर्ने र गर्भपतन गर्न नमिल्ने शिशुलाई रकम लिएर बिक्री गर्ने गरेको प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन्। 

उनका अनुसार शिशु व्यवस्थापन गरिदिएवापत अभिभावकसँग पनि अलग्गै रकम लिने गरेका रहेछन्। प्रसूति तथा स्त्री रोग विशेष डा. तपेश्वरले कोसी अस्पतालमा अढाइ दशक काम गरेका थिए। त्यस क्रममा उनले अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर बिक्री गरेको आरोप छ। 

हालसम्म कति शिशु बिक्री गरे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेसु थिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.