५ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
जोमसोम : अविरल बाढी,पहिरो र नदी कटानले अवरुद्ध राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी-जोमसोम सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । पछिल्लो पटक सडक शुक्रबारदेखि पहिरोका कारण अवरुद्ध भएको थियो ।
कालिगण्डकी करिडोरअन्तर्गत निर्माण कम्पनीहरूको सडक खन्ने उपकरण परिचालन गरी पहिरो पन्छ्याएपछि बेनी-जोमसोम सिधा यातायात सञ्चालनमा आएको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका सुपरभाईजर जगत प्रजापतीले जानकारी दिए ।
यसअघि अविरल वर्षासँगै बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडकको म्याग्दी खण्डमा झन्डै ४ दर्जन स्थान बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदै आइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्तामा सडक बेसनै पहिरोले भाँसिएको थियो ।
अन्य स्थानको ठाउँठाउमा पहिरो खसेपछि म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएन । सवारी साधनमा यात्रा गर्ने यात्रुहरु असहज अवस्थाको ठाउँठाउँमा हिँडेर सवारी परिवर्तन गर्न बाध्य थिए । बाढी ,पहिरोका कारण विद्युत तथा सञ्चार सम्पर्क समेतमा क्षति पुगेको थियो ।
सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न,निर्माण सामाग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न अप्ठ्यारो परेको थियो । पहिरो पन्छ्याउने र सडक मर्मत गरेपछि बुधबार बिहानबाट अलपत्र सवारी साधन गन्तव्यमा प्रस्थान गरेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।
निरन्तरको वर्षाले सडक माथिबाट पहिरो खसेपछि अन्नपूर्ण गापाको दाना,नारच्याङ,खाम भित्ता,तितर,गुईठे, जलथले,रुप्से,सुकेबगर र काभ्रेभीर लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो ।
बर्खायामको अविरल वर्षाले सडकमा क्षति पुर्याएपछि बेनी—जोमसोम सडक निकैकष्ठकर हुँने गरेको छ । बेनी—जोमसोम सडक साउन ३० र ३१ गते दुई दिन सडक सञ्चालनमा आएपछि साउन २० गतेदेखि भदौ ५ गते मंगलबार सम्म सिधा सडक यातायात प्रभावित बनेको थियो । राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दीको कमजोर धरातलीय भूबनोटका कारण बर्खायाममा निरन्तर सडक अवरुद्ध हुने गर्छ ।
बेनी-जोमसोम सडकको वैज्ञानिक अध्ययन नगरी सडक विस्तार गरिदा यो सडक यात्रु र सवारी साधानका लागि निकै जोखिम र चुनौतीपूर्ण छ । कतिपय जानकारहरुले बेनी-जोमसोम सडकको म्याग्दी खण्डको केही स्थानमा सडक एलाईमेन्ट परिवर्तन गर्न आवश्यक रहेको जनाएका छ ।
अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले बर्खायाममा म्याग्दी खण्डको सडक पटक पटक अवरुद्ध हुने भएकाले नारच्याङ हुँदै बैकल्पिक सडक मार्ग विस्तार गर्नुपर्ने उल्लेख गरेका छन् ।