सोलुखुम्बुमा झाडापखालाका बिरामी बढे
सोलुखुम्बु : सोलखम्बुमा झाडापखालाका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । वर्षात सुरु भएसँगै जिल्लाको विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको संख्या वृद्धि भएको पाइएको हो । जिल्ला अस्पताल फाप्लुमा दैनिक २० देखि २५ जनासम्म बिरामी झाडावान्ताको समस्या लिएर आउने गरेको अस्पतालका डाक्टर कविन्द्र राईले जानकारी दिए ।
अधिकांश बिरामी बालबालिका रहेको डा. राईले बताए । केही बिरामी भर्ना नै गराएर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जटिल अवस्थामा पुगेपछि मात्रै बिरामी अस्पताल आउने गरेको डाक्टर सुरेन्द्र शाक्यले बताए।
जिल्लाको महाकुलुङ गाउँपालिका स्थित महाकुलुङ प्राथमिक अस्पतालमा पनि झाडापखालाका समस्या लिएर बिरामी आउने गरेको अस्पताल प्रशासन प्रमुख बसन्त राईले बताए । अस्पतालमा झाडापखाला बाहेक टाइफाइड, रुघाखोकी जस्ता मौसमी बिरामीको संख्या पनि उत्तिकै रहेको प्रशासन प्रमुख राईको भनाइ छ ।
दुधकोशी सामुदायिक अस्पताल मुक्लीमा पनि झाडापखाला, रुघाखोकी, श्वासप्रश्वास जस्ता समस्याको बिरामी बढ्दै गएको बुझिएको छ ।
वर्षातको समयमा पानी दुषित हुने भएकाले पिउने पानी निर्मलीकरणमा विशेष जोड दिन चिकित्सकले सुझाव दिएका छन् । वर्षातमा पानीको मुहानमा भलबाडीले विभिन्न फोहोर मिसिने भएकाले पानीको शुद्धिकरणमा ख्याल गर्न जिल्ला अस्पताल फाप्लुका डा.सुरेन्द्र शाक्यले बताए ।