राप्रपा सांसदको प्रश्न- माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गरी हिरासतमा किन नराखेको?
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेको भन्दै सरकारको आलोचना गरेका छन्।
बुधबार संसद बैठकमा बोल्दै उनले देशमा दुइटा कानुन बनाउन नपाइने बताए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले किन माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।
'म प्रधानमन्त्री र गृहमन्त्रीज्युलाई सोध्न चाहन्छु, पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान किन नगरेको? देशमा दुइटा कानुन राख्न पाइँदैन। यो देशमा दुइटा कानुन बनाइयो भने सडकमा आन्दोलन हुन्छ,' उनले भने।
उनले कानुन सबैका लागि बराबर भएको भन्दै नेता र जनतालाई भेद्भाव गर्न नपाइने बताए। 'ठूला नेतालाई कानुनै नलाग्ने। प्रहरीको हिरासतमा जाँदै नजाने। जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाए उफरगौडी लगाएर जेलमा हाल्ने काम भइरहेको छ। यस्तो किन हुँदैछ सरकारले जवाफ देओस्,' उनले भने।