सुन प्रकरणमा पक्राउ परेका दावाको कनेक्सन केही पूर्वआईजीपीसँग छ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन केही पूर्वप्रहरीका उच्चअधिकारीसँग रहेको दावी गरेका छन्। बुधबार संसद बैठकमा बोल्दै सभापति लामिछानेले केही पूर्वमहानिरीक्षकसँग दावाको सम्पर्क देखिएको सूचना प्रहरीले आफूलाई दिएको दावी गरेका हुन्। तर, उनले दावासँग सम्पर्कमा रहेका ती पूर्वप्रहरी महानिरीक्षकहरूको नाम भने खुलाउन चाहेनन्।
लामिछानेले भने,' सरकारका बहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले मलाई दिएका छन्। यसमा संलग्न केही बिचौलीयाहरूबारे जानकारी पनि उपलब्ध गराएका छन्, 'उनले भने,' यसको जानकारी सम्बन्धित निकायलाई गराउनेछु।'
उनले दावा भनिएका व्यक्तिसँग प्रहरीका उच्चअधिकारीको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको त्यस्तै हेर्न पाउनुपर्ने माग गरे। 'फरेन्सिक ल्याबबाट दावासँग टेलिफोनमा भएको रेकर्ड संसदीय समितिले अथवा संसदले जस्ताको तस्तै हेर्न पाओस्,जहाँभित्र अत्यन्तै सूचना छन्,'उनले भने।