नाम : हेमराज विष्ट
कार्यालय : सुदूरपश्चिम प्रदेश वन निर्देशनालय
अकुत कमाइ : ६ करोड ८७ लाख
मुद्दा दर्ता : २०७८ पुस २१
मुद्दाको अवस्था : विशेषद्वारा सफाइ
सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक (उपसचिव) हेमराज विष्टले काठमाडौंमै २२ ठाउँमा घर बनाएर बिक्री गरेको भेटिएको छ। विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ। २०५५ वैशाख २७ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका विष्टले सरकारी सेवा प्रवेश गरेयताको २२ वर्ष (२०७७ कात्तिक १७ सम्म)मा आधा दर्जन जिल्लाका ८७ ठाउँमा पत्नी रुवि जीसी र आफ्ना नाममा जग्गा किनेको भेटिएको छ ।
विष्ट दम्पतीविरुद्ध अख्तियारले २०७८ पुस २१ मा ६ करोड ८७ लाख ५७ हजार बिगो र स्रोत नखुलेको जग्गाजमिन जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय १७ करोड ३७ लाख १२ हजारको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरू २४ करोड २४ लाख ६९ हजार खर्च तथा लगानी गरेको देखिन्छ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न उनी रहेका छन्।
काठमाडौं, भक्तपुर, कास्की, दाङ, कैलाली र कञ्चनपुरमा विष्ट दम्पतीको घरजग्गा देखिएको छ। यसमध्ये दाङ र कैलालीमा भएको घरजग्गामा अन्य व्यक्ति पनि जोडिएका छन्। उनलाई विशेष अदालतले सफाइ दिएको छ।
२०८० साउन १६ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बाँस्तोलाको इजलासले विष्ट र उनकी श्रीमती रुवि जीसीलाई भ्रष्टचार मुद्दामा सफाइ दिएको छ। अख्तियार यो मुद्दाको पूर्ण पाठ आएपछि पुनरावेदनमा जाने सम्भावना छ।