२० वर्षदेखि फरार बलात्कार र हत्या प्रकरणका आरोपीलाई थुनामा पठाइयो
हेटौंडा : २० वर्षदेखि फरार रहेका बलात्कार र हत्या प्रकरणका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। २० वर्षअघि ५ वर्षीया बालिकामाथि बलात्कार र हत्या प्रकरणका आरोपी ४५ वर्षीय सोमबहादुर राईलाई बुधबार जिल्ला अदालत मकवानपुरले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउन कारागार पठाउने आदेश गरेको हो।
जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार सो आदेश गरेको हो। राईले बालिकालाई २०६० असोज १८ मा फकाएर बलात्कार गरी हत्या गरेर हेटौंडा उपमहानगरपालिका–१०, स्थित राप्ती खोलाको ढुंगाको चेपमा फालेको प्रहरी अनुसन्धानमा खुलेको थियो।
बालिकाको शव २०६० असोज १९ मा फेला परेको थियो भने घटनापछि राई फरार रहेका थिए। घटना हुँदा राई २५ वर्षका थिए। राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गत साउन १३ गते ललितपुरको गोदावारीबाट पक्राउ गरी हेटौंडा ल्याएको थियो।
राईले बलात्कारपश्चात् बालिकाको आफैंले हत्या गरेर फालेको बयान दिएको बताइएको छ।