पहिरोको जोखिममा विद्यालय
बेनी : पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ। चार÷चार कोठे तीनवटा भवनको अगाडिको भाग भत्किएपछि जोखिम बढेको हो। भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र ग्याबीन पर्खाल वर्षात्का कारण भत्किएको प्रअ मेखबहादुर खत्रीले बताए।
गत वर्ष मात्र त्यहाँ जग्गा व्यवस्थापन गरी तीनवटा नयाँ भवन र शौचालय बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो। कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा ११० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पहिरोका कारण विद्यालय भवन पनि भत्कने र थप क्षति हुने जोखिम छ। पहिरोमा खसेर विद्यार्थीलार्ई चोटपटक लाग्ने जोखिम देखिएको छ। प्रअ खत्रीले पर्याप्त आर्थिक स्रोत नभएको र न्यून बजेटमा बनाएको पर्खाल पनि भत्किएर समस्या भएको बताए।
यसैबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले जोखिममा रहेको ज्योती मण्डल माविको भवन, बाढीले पुरिएको जलजला गाउँपालिका–२ को बराह ताल र जोखिममा रहेको मूलघडेरीको निरीक्षण गरेका छन्।
मन्त्री जुग्जालीले तत्कालीन रूपमा थप क्षति हुन नदिन र पहिरोमा पानी छिर्न नदिन पाल राख्न र हिउँदमा पर्खाल पुनः निर्माणका लागि अन्तर मन्त्रालय समन्वय गरेर बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए। जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले पहिरोले भत्काएको पर्खालमाथि राख्ने पाल गाउँपालिकाले उपलब्ध गराउने र दीर्घकालीन समाधानका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताए।
जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँचवटा बस्ती जोखिममा छन्। पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौं रोपनि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवार विस्थापित भएका छन्।
पाँच वटा बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेका छन्। असार ११ गते राति कुवापानीको चिहानडाँडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो। मूलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका हुन्। उनीहरू पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा आश्रय लिएर बसेका छन्।