सुदूरपश्चिममा गौराको रौनक
धनगढी /कञ्चनपुर : सुदूरपश्चिमको मौलिक पर्वका रूपमा रहेको गौरा पर्वको रौनक सुरु भएको छ। सुदूरपश्चिमको बाजुराबाहेक अछामका केही भाग र अरू जिल्लाका अधिकांश भागमा मनाइने गौरापर्व भदौको ४ गतेदेखि नै सुरु भएको हो। बिहीबार अष्टमीका दिन गौरीको मन्दिरमा गएर निराहार बसेका महिलाले गौरा मनाए।
‘पञ्चमीको दिनदेखि नै गौरापर्वको औपचारिक सुरुवात भएको छ। बिहीबार अथवा अष्टमीको दिन मुख्य दिन हो,’ ब्रतालु अम्बीका भण्डारीले भनिन्। पञ्चमीका दिन पाँचवटा अनाजहरू गहुँ, गहत, गुराँस, केराउ र मास भिजाएर गौराको औपचारिक सुरुवात हुनेगर्छ। त्यस पञ्चअनाजलाई स्थानीय भाषामा ‘विरुडा’ भनिन्छ।
षष्टीका दिन नजिकको तलाउ वा कुण्डमा गएर विरुडा धुने, सप्तमीका दिन घरभित्र राख्ने र अष्टमीका दिन गौरीको मन्दिरमा गएर परिवारका सदस्यहरूको टाउको पुजन गरिन्छ। गौरीको निराहार व्रत बसेर विवाहित महिलाले पुरुषको जनेउ जस्तै दुब–धागो लगाउने चलन छ। गौरीको व्रत बस्नु मात्रै गौरा होइन। महिलाहरू र पुरुषहरूले देउडा खेलेर रमाइलो पनि गर्ने गरिन्छ। प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान शिवकी अर्धांगिनी शक्तिस्वरूपा पार्वती (गौरी) लाई गौरादेवीका रूपमा पूजा अर्चना गरिँदै आएको संस्कृतिका जानकार बताउँछन्।
डोट्याली लोकसाहित्यमा विद्यावारिधि गरिरहेका महेन्द्रनगरका साहित्यकार कविराज भट्टले भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार मनाइने गरेको बताए। विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रूपमा दुब–धागो लगाउने चलन यस क्षेत्रमा रहेको छ। नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रूपमा दुब–धागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उनले बताए।
दुर्वाष्टमीका दिन (बिहीबार) गौराको महत्वपूर्ण दिन हो। यसलाई अठेवाली पनि भन्ने गरिन्छ। यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन्। सबै महिला जम्मा भई अठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन्। अठेवालीकै बीचमा प्रसंगअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ। यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्छन्।
त्यसपछि मंगल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौं तिलले सजाउने परम्परा छ। पाँच अन्न बिरुडा (मास, गहत, गहुँ, कलौँ र गुरौँस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भिœयाइन्छ। बिरुडालाई देवीको प्रतीकका रूपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ। ‘प्रदेशभरि गौराका बेला देउडा खेलहरू, प्रतियोगिताहरू हुने गर्छन्। तराई र पहाडका हरेक गाउँमा रौनक छाएको छ’, बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले भने। यसपालि सुदूरपश्चिममा गौराका लागि दुईवटा तिथि परेका छन्।
केहीले भदौको ४ गतेको तिथि मानेर गौरा मनाएका छन् भने केहीले भदौको २१ गते गौरा मनाउने भएका छन्। प्रदेशवासीबीच भाइचारा दर्शाउने मौलिक गौरा पर्व दुईवटा भएपछि केही खल्लो पनि भएको जानकारहरू बताउँछन्।
धनगढीको बनदेवी गौरा मन्दिरका पुजारी पुष्पराज अवस्थीले ज्योतिषहरूबीच एकमत नहुँदा दुईवटा गौरा मनाइको बताए। ‘यस्तो पर्वमा एउटै निर्णय हुनुपर्छ। तर, यसपालि त्यो देखिएन। त्यसैले प्रदेशभरि दुई दिन गौरा मनाइने भएको छ’, पुजारी अवस्थीले भने, ‘यसले अली खल्लो महसुस भएको छ।’ नेपाल पंचाङ्ग निर्णायक विकास समितिले भदौ ७ गते गौरा मनाउने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार प्रदेश सरकारले प्रदेश भरी भदौ ७ र ८ गते दुई दिन गौराको विदा दिएको छ।