मोरङको रंगेलीमा दुर्घटना : नाबालकको मृत्यु, दुई जना घाइते
विराटनगर : मोरङको रंगेली नगरपालिका–२ मंगलबारेमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बिहीबार दिउँसो २:४० बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा परेर सुनवर्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशी राजवंशीका छोरा ३ वर्षीय दीक्षा राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते भएकी छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका आमा–छोरालाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा राति ८:३० बजेतिर नाबालक दीक्षाको मृत्यु भएको डीएसपी दाहालले बताए।
बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ। उनको दाहिने खुट्टाको घुँडादेखि तलको भाग कच्याककुचुक भएको प्रहरीले जनाएको छ। आमा–छोरा मोटरसाइकलको पछाडि सवार थिए।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ कञ्चनबारीका अन्दाजी ४६ वर्षीय दिनेश राजवंशी पनि घाइते भएका थिए। सामान्य अवस्थाका उनको गोल्डेनमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते दिनेश र बबिता पारिवारिक नाता सम्बन्धका हुन् कि हैनन् भन्ने प्रहरीले पुष्टि गर्न बाँकी छ।
दुर्घटनालगत्तै बस र चालक रंगेली–७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।