सोलुमा बाढीले बेलिब्रिज ढल्कायो, तीन मेसिन बगे,तीन घर जोखिममा
सोलुखुम्बु : बाढीका कारण सोलुखुम्बुको दिप्लीघाटस्थित बेलीब्रिज ढल्किएको छ । निरन्तरको वर्षात्कारण आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्ली र सोताङ गाउँपालिका-१ खोर्दाको सिमानामा रहेको दिप्ली पुल ढल्ने खतरा बढेको हो ।
स्थानीय तुल कुमार लामिछानेका अनुसार बाढीका कारण पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको छ भने पुल नजिकै रहेको एउटा जेसिबी,एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको छ । खोलामा जलसतह अधिक बढिरहेकाले थुलुङ दुधकोशी ८ तर्फको ३ घर जोखिममा रहेको स्थानीय यसोदा लामिछानेले जानकारी दिए।
उनका अनुसार खोला नजिकै रहेको केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा रहेको छ । पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारीका क्षेत्रहरु सोताङ र महाकुलुङको सवारी आवागमन ठप्प बनेको छ ।
आज बिहानबाट पुल ढल्किएपछि कोशी पारी जाने सवारी साधन तथा कोशीपारीबाट सल्लेरी, काठमाडौंलगायतका स्थानका लागि छुटेको सवारी साधन अलपत्र परेको स्थानीयले बताएका छन् ।
पुल कोशी पारीका क्षेत्र जाने एक मात्र सडक मार्ग हो । पुल बनेपछि खाद्यान्न ढुवानीदेखि आवातजावातमा समेत निकै सहज भएको थियो । तर, पुल ढल्ने खतरा बढेसँगै स्थानीय चिन्तित बनेका छन् ।