खुम्बु क्षेत्रमा पर्यटन आवागमन घटयो
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले घटेको छ । गत असारको तुलनामा साउन महिनामा ८२.६५ प्रतिशतले पर्यटक आवागमन घटेको सगरमाथा राष्ट्रिय निुकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
निकुञ्जको तथ्यांक अनुसार गत असारमा १ हजार १ सय ९९ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा साउनमा घटेर २ सय ८ जनामा सिमित बनेको छ । जुन प्रतिशतको हिसाबले ८२.६५ र संख्यात्मक हिसाबले ९९१ जनाले कमी हो ।
पर्यटकमध्ये अधिकांश विदेशी छन् भने केही संख्यामा आन्तरिक पर्यटक पनि रहेको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए । असार,साउनलाई खुम्बुमा अफसिजन नै मानिन्छ। तर, अफसिजन मानिए पनि असारमा पर्यटकको आवागमन उत्साहजनक थियो ।
तर, साउनमा भने यो संख्यामा भारी गिरावट आएको छ । साउनमा निरन्तर मौसम प्रतिकूलताका कारण हवाई उडान हुन नसक्दा पर्यटक आवागमन प्रभावित बनेको निकुञ्जले जनाएको छ । मौसम खुलेको समयमा भने तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा उडान तथा अवतरण बाक्लिने गरेको छ । जसका कारण निकुञ्ज क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या उत्साहजनक हुने गर्दछ ।
तर, मौसममा खराबी आउने वित्तिकै पर्यटकको संख्या घट्ने गरेको सूचना अधिकारी मण्डलले बताए । साथै नेपाल नागरिक उड्ययन प्राधिकरणले मनलाग्दी नियम लादेपछि पर्यटन क्षेत्र नै जोखिममा परेको छ। लुक्लाको उडानमा समेत ह्रास आएको विमानस्थल स्रोतले जनाएको छ ।
वर्षातको समयमा हेलिकोप्टर उडानमा समेत प्रधिकरणले कडाइ गरेको छ भने जसका कारण खुम्बुको पर्यटक आवागमनमा ह्रास आएको जानकार बताउँछन् । खुम्बु भ्रमणका लागि आउने पर्यटकले हवाई मार्ग नै प्रयोग गर्ने गर्छन् ।
लुक्लासम्म सडक नपुगेका कारण केही पर्यटकले मात्रै स्थल मार्गको प्रयोग गर्ने गरेका छन् । सल्लेरीबाट काँडेथामडाँडासम्म कच्ची सडक पुगेको भएपनि वर्षातले सडक जिर्ण हुँदा सल्लेरी–थामडाँडाको यात्रा कष्टकर रहेको यात्रुहरु बताउँछन् ।