यो यस्तै छ !
प्रसंग १ : गएको महिनासँगै कलेज पढेका काठमाडौंमा बस्दै आएका साथीबीच जमघट राखेका थियौं। भेट्नु थियो राजधानीकै कुनै रेस्टुरेन्टमा। समयमै सबै त्यहाँ पुग्यौं। केही साथीले आफ्ना हुर्कंदै गरेका छोराछोरी पनि लिएर आए। जोसुकै बालबालिका भेट्दा पनि आफैं तिनलाई नमस्कार गर्ने गर्छु। साथीका छोराछोरी यसै पनि माया लाग्ने भइहाले, उनीहरूलाई नबोलाउने नचलाउने त कुरै भएन। तिनलाई नमस्कार गरें। एक बालबालिकाले थुथु गर्दै गोडा उचालेर हान्न खोजे। छक्क पर्दै उनकी आमाको अनुहारतिर हेरें। हाँसीरहेकी थिइन्। भनिन्, ‘यो यस्तै छ।’
लात्ती देखाउँदा पनि खासै केही नलागेको म यसकारण अचम्ममा परें कि ति साथीले एक वचन ‘बाबु यो गर्नु गलत हो भनिनन्।’ लगभग चार घण्टासँगै बस्यौं। उनले त कुनै न कुनै हर्कत देखाइरहे। कसैको पानी पोखिदिए। कसैको खानामा जुठो हालिदिए। कसैलाई यस्तो नमीठो खाना के खाएको ? भनेर गिज्याए। फोटो खिचिरहेकालाई पछाडिबाट धकेलिदिए तर उनकी आमा ‘यो त यस्तै गर्छ भनेर मौन बसिरहिन्।
स्वभावैले बालबालिका चकचके त हुन्छन् नै। जति उनीहरूले चक्चक् गर्छन् उनीहरूको दिमागको विकास उत्तिकै तीव्र गतिमा भइरहेको हुन्छ भनेर बालमनोवैज्ञानिकले भनिरहेकै हुन्छन्। तर कतिसम्म चक्चक्लाई सामान्य रूपमा लिने ? अनि यो चक्चक्को उमेरको हद पनि हुन्छ होला नि। सबै बुझेर कतिसम्म गाइड गर्ने, कतिसम्म छुट दिने यो अभिभावकको दायित्व होइन र ? भन्छौं त– ‘बालबालिका काँचो माटो हुन्, यिनलाई चाबी लगाएर ढाल्नुपर्छ। अनि काँचो माटोलाई यो त यसरी नै फुट्छ, यो त गिलो भएर बग्यो भनेर छोडिदियो भने त्यसले कुनै आकार लिन्छ होला ?’ यो त यस्तै गर्छ भनेर छोराछोरीका हरकुरालाई सामान्य रूपमा लिने आमाबाबु जताततै भेटिन्छन्।
प्रसंग २ : हप्ता दिनअघि पूर्वाञ्चल गएँ। जुन घरमा बसें, त्यहाँका नानीबाबुको काम र आचरण देखेर अचम्ममा परें। ती नानीबाबु जंक फुडबाट टाढै बस्ने रहेछन्। उनीहरूको दैनिक खाजा उसिनेको मकै, उसिनेको आलु, उसिनेको अन्डा, गहुँको रोटी र घरमै यसरी बनाएको खानेकुरा रहेछन्। बेलुकाको साँझबत्ती दाजुबहिनी पालैपालो बाल्दा रहेछन्। आफूले खाएको थाल पनि सफा गर्ने रहेछन्। न कुनै रिस, न त कुनै ठास्सठुस्स। स्वत:स्फुर्त रूपमा उनीहरू त्यो सबै गरिरहेका थिए। उनीहरू बिहान सबेरै उठेर हजुरबुवासँग योग र ध्यान पनि गर्दा रहेछन्। ओहो ! कस्तो संस्कार ! यति गर्दा न उनीहरूको पढाइ बिगे्रको थियो, न त दिक्क मानेको देखियो। सबै गरिरहँदा उनीहरूमा झनै सकारात्मक थपिएको पाएँ।
प्रसंग ३ : साथीले मसँग गुनासो गरी– श्रीमान्ले जहिले पनि छोराछोरीको अगाडि म यति पैसा कमाउँछु भनेर सुनाइरहनु हुन्छ भनेर। ‘बालबालिकाको अगाडि पैसाको कुरा गर्न त नहुने।’ भनें। उनी पनि यो कुरामा सहमत थिइनन्। अझ उनका श्रीमान्भन्दा रहेछन्, ‘मैले कमाएको पैसा मेरै छोराछोरीका लागि हो। तिमीहरूलाई के गर्न मन छ त्यही गर। ती साथीलाई छोराछोरी बिग्रने हुन् कि भन्ने ठूलो पिर। त्यसैले घर–झगडासमेत हुने गरेको रहेछ। यति कुरा भएको दुई महिनापछि भेट भयो। उनले अचम्मको कुरा सुनाइन्। भएछ के भने उनको छोराको स्कुलबाट फोन आएछ। दुवैजना स्कुल पुग्नासाथ प्रिन्सिपलले भनेछन्, ‘तपाईंहरू सन्तानलाई के सिकाउनु हुन्छ ? तपाईंको सन्तान त बाबाले यति पैसा कमाउनु हुन्छ। म जे पनि किन्न सक्छु, जे पनि गर्न सक्छु भनेर साथीलाई गफ लगाउँदो रहेछ। यी सबै कुरा आपराधिक गतिविधि गर्ने मानिसको कानमा प¥र्याे भने तपाईं र तपाईंको सन्तानको हालत के हुन्छ ?
सामाजिक सञ्जालमा छताछुल्ल सबै कुराहरू राख्ने र अबोध बालबालिकाको अगाडि जे पनि बोलिदिने कारणले कतिपय घटना घटिरहेका छन्। यो पनि कारण हो। माथिका उदाहरणमा प्रमुख पात्र भनेको अभिभावक नै हौं। हाम्रा व्यवहारबाट बालबालिकाले सिकिरहेका हुन्छन्। सामान्य लागेर बोले गरेका कतिपय कुराले उनीहरूमा गहिरो असर पारिरहेको हुन्छ। अझ राम्रो कुराभन्दा नराम्रो कुरा छिटो सिक्छन् बालबालिकाले। हामीले उनीहरूलाई समाजमा मान्छेको अगाडि कसरी प्रस्तुत गराउने भन्ने पनि केही प्रतिशत निर्धारण गरेको हुन्छ। बालबालिकाले देखेर सिकिरहेका त हुन्छन्। हामीले सम्झाउने, सिकाउने र बुझाउने कुरा पनि उत्तिकै हुन्छन्। अहिले सानै छ पछि सुध्रिन्छ भनेर पनि कतिले यसै छोडिदिएको देखिन्छ। सुध्रिएन भने ?