मदन भण्डारी लोकमार्ग फेरि अवरुद्ध
उदयपुर : लगातार वर्षाका कारण मदन भण्डारी लोकमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका-६ स्थित मौवासी खोला नजिकको पहिरो बगेर सडक पुरिँदा बिहीबार रातिदेखि सडक अवरुद्ध भएको हो।
बिहीबार बिहानदेखि निरन्तर पानी परेर सडकमाथि पहिरो खस्दा ५० मिटर सडक अवरुद्ध भएको आयोजना कार्यालय प्रमुख गोपालप्रसाद खकुरेलले बताए।
अवरुद्ध सडक सञ्चालन गर्न कार्यालयले जेसिबी र लोडर प्रयोग गरे पनि पानी नरोकिएका कारण सम्भव नभएको उनले बताए। सडक अवरुद्ध हुँदा शुक्रबार बिहानैदेखि पूर्वबाट राजधानी काठमाडौं र काठमाडौंबाट पूर्वतर्फ हिँडेका सवारी साधनहरू वारिपारि नै सडकमा जाम लागेर बसेका छन्। सडक जाम हुँदा पश्चिमबाट आएका सवारीसाधन कटारी र पूर्वबाट आएकाहरू गाईघाटमा रोकी महेन्द्र राजमार्गबाट पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए।