बाँसखर्कको सुन्तलाले रैथाने जातको मान्यता पायो
बेनी : म्याग्दी, पर्वत लगायत धौलागिरि क्षेत्रमा खेती हुँदै आएको सुन्तलालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ‘बाँसखर्क’ जातको उन्मोचन (मान्यता) दिएको छ।
बाँसखर्क म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-१ मा पर्दछ। बाँसखर्कमा खेती भएको सुन्तलाको जात अनुसन्धान गरी नार्कले बिरुवा उत्पादन र व्यावसायिक खेतीका लागि मान्यता दिएको हो।
जलजला गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले बाँसखर्कको सुन्तलालाई नार्कले रैथाने जातको मान्यता दिएर व्यावसायिक खेतीका लागि सिफारिस गरेको जानकारी दिए।
‘नार्कले अनुसन्धानका क्रममा नेपालमा हाल खेती भइरहेका सुन्तलाका अन्य जात भन्दा फरक विशेषता भएको आधारमा बाँसखर्कलाई रैथानेको मान्यता दिएको हो,’ उनले भने ‘नार्कले सिफारिस गरेपछि बाँसखर्कसँग मिल्दोजुल्दो हावापानी भएको ठाउँमा यो जातका सुन्तलाको व्यावसायिक खेती गर्न सकिन्छ।’
राष्ट्रिय फलफुल विकास केन्द्रका अनुसार हाल नेपालमा धनकुटा (खोकु) स्थानीय, ओकित्सुवासे, मियागावा वासे, मरकट, योशिदा पोङकान, ओता पोङकान र किन्नो जातका सुन्तला खेती हुने गरेको छ।
राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटामा बाँसखर्कबाट लगिएको जातलाई अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरिएको थियो। अनुसन्धानमा संलग्न कार्यक्रम संयोजक डा. उमेशकुमार आचार्यको टोलीले बाँसखर्कको जातलाई रैथाने मान्यता दिन सिफारिस गरेको हो।
२०६३ सालदेखि बासखर्कको सुन्तलाको जातका बारेमा धनकुटा, स्याङ्जा र पर्वतमा अनुसन्धान गरिएको थियो। एक हजार देखि एक हजार छ सय मिटरको उचाई भएको पाखो जग्गामा खेतीका लागि बाँसखर्क जात सिफारिस भएको छ।
यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्ने मध्य मौसमी जात भएको अनुसन्धानमा संलग्न टोलीले पहिचान गरेको छ। दानाका लागि ‘ब्राण्ड’ बनेको बाँसखर्कको सुन्तलाले रैथाने जातको मान्यता पाएपछि यसको बिरुवाको माग बढ्ने अपेक्षा गरिएको छ।
कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले तिसौ वर्षैदेखि र केही नर्सरीहरूले समेत यसै जातको कलमी बिरुवा उत्पादन गरी बिक्री वितरण गरिरहेकोमा अब औपचारिक मान्यता पाएपछि बिरुवा उत्पादन तथा बजारीकरण सहज हुनेछ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बाँसखर्कको सुन्तलाको गुणस्तर र गुण अरु जातमा पाउन मुस्किल हुने र यो जात उन्मोचन हुनु गण्डकीका लागि महत्वपूर्ण उपलब्धी भएको बताए।
बाँसखर्क सुन्तला स्वादिलो, ठूला दानाका कारण पोखरा आसपासका बजारमा महँगोमा बिक्री हुन्छ। यो जातको सुन्तलाको दानाको तौल करिब १०० ग्राम र कुल घुलनशील पदार्थ (गुलियोपना) १२ प्रतिशतसम्म पाइन्छ। जुन अन्य जातको तुलनामा बढी हो। यो जातमा क्यांकर र डाँठमा प्वाल पार्ने किराको प्रकोप कम हुने बताइएको छ।