बर्दियामा गौहत्याविरुद्ध विरोध प्रर्दशन, दोषीलाई कारबाहीको माग
गुलरिया : बर्दियाको सदरमुकाम गुलरियामा गौहत्याको विरोधमा प्रर्दशन गरिएको छ । विश्व हिन्दु परिषद् नेपाल, शिवसेनासहितको सम्पूर्ण ओमकार परिवारले बजार परिक्रमा गर्दै गौहत्यविरुद्ध विरोध प्रर्दशन गरेका हुन्।
गौहत्या बन्द गर, हिन्दु राष्ट्र नेपाल घोषणा गर, धर्मनिरपेक्षता मुर्दावादलगायतको नारा लगाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत गौहत्या गर्नेलाई कारवाहीको मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
विश्व हिन्दु परिषद नेपाल बर्दियाका अध्यक्ष सुभम आचार्य तथा सचिव सौरभ यादवद्वारा हस्ताक्षरीत विज्ञप्तिमा धरानमा सार्वजनिक रुप्मा गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
गाई गौवंश नेपालको राष्ट्रिय जनावर मात्र नभइ बहुसंख्यक सनातनी हिन्दुहरूको आस्था एवम् अन्तरआत्मासँग जोडिएकोले यस्ता घटनाक्रमले हिन्दु समुदायको आस्था एवम् भावनामा गम्भीर चोट पुर्याएको नेपालको राष्ट्रिय जनावरको रक्षा एवम् बहुसंख्यक जनताको भावनाको कदर गर्दै गोवंश हत्यामा संलग्नलाई बचाउन खोज्ने तत्व समेतलाई कडा कारवाही गर्न सम्बन्धित निकाय समक्ष ज्ञापनपत्रमार्फत् माग गरिएको छ । अपराध गर्नेलाई जोगाउने प्रयास गरिए कदम चाल्न बाध्य हुने बताउँदै श्रृजित परिस्थितीको जिम्मेवार सम्बन्धित पक्ष हुने ज्ञापनपत्रमा उल्लेख छ ।
शिवसेनासहितको सम्पूर्ण ओमकार परिवारले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । बर्दियाको बढैयाताल गाउँपालिका -९ जनता नगरस्थित खोपकेन्द्रको नामबाट हिन्दुहरूको पवित्र स्थल मन्दिर बनेको ठाउँ नजिक चर्च खडा गरी बाइबललगायतको धर्मप्रचार गर्दै हिन्दुहरूको धर्म अस्तित्वलाई खतम पार्ने काम भइरहेको जानकारी गराउँदै गौहत्या गर्नेलाई कडा कारवाहीको माग ज्ञापन पत्रमा भनिएको छ।
गौहत्यविरुद्धमा प्रदर्शन आह्वान गरेपछि धरानमा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ।