सर्लक्कै समाज

सर्लक्कै समाज

निबन्धमा प्रकट विचारले पाठकलाई भित्रैदेखि कम्पन गराउँछ। लेखकको ठूलो शक्ति भनेकै पाठकको संवेदनालाई छुन सक्नु हो।

नेपाली साहित्य जगत्मा कलमका माध्यमबाट पीडितका आवाजलाई शक्तिशाली स्वर दिने साहसिक साहित्यकार हुन् रुकु कार्की। दुःख र संघर्षको पहाडले दमित महिलाका पीडा र वेदनामा उनी आफूलाई समाहित गराउँछिन्। उनका प्रायः सबैजसो निबन्धले नारीलाई सम्बोधन गरेका छन्।

नेपाली समाजभित्र महिलाको जीवन कसरी अगाडि बढ्छ भन्ने यथार्थलाई जीवनका विविध आयाम पुस्तकले  छर्लंग पार्छ। जुन पुस्तक बन्धनबाट मुक्तिकै दोस्रो भाग भने पनि फरक नपर्ला। जसमा १८ निबन्ध समावेश छन्। तिनमा मानव जीवनमा आइपर्ने अनेकौं दुःख र सुखको संयोजन देखाइएको छ। निबन्धमा जीवन र संघर्ष एकअर्काका पर्याय हुन् भन्ने अनुभूति हुन्छ। नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेका विकृति र विसंगतिलाई निबन्धका शीर्षकले नै प्रष्ट पार्छन्। जस्तैः विभेदको भुमरीमा रुमल्लिएको समाज, वैदेशिक रोजगारीमा जानेहरूको पीडा, स्रष्टा, सिर्जना र मूल्यांकन आदि।

निबन्धमा प्रकट विचारले पाठकलाई भित्रैदेखि कम्पन गराउँछ। लेखकको ठूलो शक्ति भनेकै पाठकको संवेदनालाई छुन सक्नु हो। दूरदराजका गाउँबस्तीमा बसोबास गर्ने महिलाले धर्मको नाममा भिरेर आएका रुढीवादी परम्परालाई आत्मसात् गरेकै कारण यी भेगका महिला आआफ्ना वर्ग, जाति, धर्म, संस्कार र जीवनशैलीअनुसार आजसम्म आमरूपमा प्रताडित छन्। छाउपडी प्रथाले त्यहाँका महिलाको जीवन पशुभन्दा निम्नस्तरको बनाएको छ। छाउपडीका घटनाहरू सुन्दा डर लाग्छ, अहिले पनि सुदूरपश्चिमका दिदीबहिनीले छाउपडीमा सामाजिक, धार्मिक र सांस्कृतिक बन्धनभित्रका काँडा पन्छाउँदै कसरी जीवन बिताइरहेका होलान् ?

२०६४ सालमा छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका जारी भयो तर कार्यान्वयन गर्ने कसले ? बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १६ वर्षीया अनिता चन्दको महिनावारी हुँदा गोठमा सुतेकै बेला सर्पको टोकाइबाट मृत्यु भयो भन्ने २०८० साउन २५ को समाचार सुन्दा कसको मन नदुख्ला ? जति नै परिवर्तनका नारा रटे पनि निर्देशिका लागू असमर्थ छौं। किन ? समाजमा गहिरोसँग लुकेर बसेका यस्तै कुप्रथा छाउपडी निबन्धमा तथ्यांकसहित आएको छ।

मातृभूमिको सम्झनामा लेखिएको निबन्ध त्रिशूलीको कलकल र जन्मभूमिको माया, वरपीपल: आलाप, मातृदेवो भवः पितृदेवो भवःमा जीवनको खुसी, आनन्द, सद्भाव र प्रेरणा अटाएका छन्। वरपीपल: आलापमा भने मानव जीवनलाई वृक्षसँग तुलना गरिएको छ। जसबाट एउटा अनुच्छेद– ‘यो चौतारी मेरो मानसपटलमा फनफनी घुमिरहन्छ। तैपनि त्यो वृक्ष जो आँधीबेरी, वर्षा, असिना र चट्याङ, जाडो र गर्मी सबै बेहोरेर बाँचिरहेको त्यो बूढो वरपीपल हेर्दा आफैं जस्तो लाग्छ।’ वास्तवमा जीवन कतै पनि निरस छैन। कहिले भर्खरै पाउलिएको जस्तो, कहिले फूलैफूलको बोट जस्तो त कहिले पात झरेर जीर्ण र शुष्क। यी समयसँगै प्राप्त हुने आनन्दको प्रकृति र मानव चोला पनि सायद उस्तै हो र त्यसै स्थितिमा नपुगीकन त्यसको बोध हुँदैन। त्यसैले बेग्लाबेग्लै समयका सत्यहरू पनि बेग्लाबेग्लै हुने गर्छन्। आज गाउँकै वरपीपलले उनलाई जीवनको महिमा बोध गराएर निबन्ध लेख्न बाध्य गरायो।

समयसँगै मानवका तिर्खा र खोजका प्रकृति परिवर्तन हुने गर्छन्। समयसँगसँगै रुचि आनन्दका माध्यम र पात्रहरू परिवर्तित भइरहन्छन्। उनको बन्धनबाट मुक्तिले आफ्नै भोगाइका दुःखकष्ट सम्बोधन गरेको छ। कतिपय निबन्धमा संवेदनाको घनत्व बढेर जान्छ। जस्तैः विभेदको भुमरीमा रुमल्लिएको समाज। जसको अनुच्छेद हेरौं– ‘पश्चिम रुकुमको चौरजहारी सोतीमा भएको घटना गणतान्त्रिक नेपालको सबैभन्दा आततायी, अमानवीय र क्रूर घटना मानिन्छ। जाजरकोट बासिन्दा नवराज वि.क.को जातका कारण भएको हत्यालाई इतिहासकै कालो दिनको रूपमा मानिन्छ। जातीय भेदभावका कारण समाजमा आज पनि यस्ता क्रूर घटना घटिरहेका छन्।’ उनले नवराजको हत्या के कसरी भयो भन्ने विस्तारमा उतारेकी छन्। अर्को अनुच्छेद– ‘एक्काइसौं शताब्दीमा आइपुग्दा पनि नवराज वि.क. र सुष्मा मल्लको प्रेमबन्धनलाई त्यही जातभात र छुवाछूतले निर्दयतापूर्वक मार्‍यो। गाउँलेले कुटिरहे, प्रहरी हेरिरहे...। त्यो घटनामा

आधा दर्जन घाइते भए भने आधा दर्जनको मृत शरीर भेरी नदीमा फेला पर्‍यो।’

यतिखेर संसारको सबैभन्दा ठूलो माग शिक्षा नै हो। तर मान्छे जति शिक्षित हुँदै गइरहेछन् झन् बढी असहिष्णु बनिरहेछन्। किन होला मान्छेको झन्झन् अँध्यारो हुँदै गएको ? यो समयमा अचानक नेल्सन मण्डेलाको सम्झनाले सताउँछ– सन् १९६१ ताका मन्डेलासहित उनका सहयोगीलाई रंगभेदी सरकारले देशद्रोहीको आरोप लगायो। त्यो लडाइँमा उनलाई जेल पठाइयो। २७ वर्षको जेलसजायपश्चात सन् १९९० मा ७१ वर्षको उमेरमा उनले कानुनी युद्धको लडाइँ जिते। जातीय भेदभावको अन्त्य गराएका मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाएरै छोडे। जातका कारण अनागरिक बनाउने हाम्रो समाजले यस्ता महान् नेतालाई बेलाबेलामा सम्झिदिए हुन्थ्यो। मानव सबै एकै हौं भन्ने बुझिदिए हुन्थ्यो।

काठमाडौं बसाइका दुई दशक भन्ने निबन्धमा भने आफैंले धेरै दुःख गरेर गाउँदेखि सहर पसेको कथाव्यथा समेटिएको छ। सन्तानलाई गाउँभन्दा काठमाडौंमा पढाउन पाए अझै राम्रो हुन्थ्यो भन्ने उनको इच्छा, काठमाडौंमा घर बनाउँदाको कष्ट आदि छ। मान्छेलाई पेटको भोकसँगै आआफ्नो चेतनाअनुसारका भोक पैदा हुन्छन्। निश्चय नै खानु, पेट भर्नु जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पेट भर्नेेदेखि बाहेक पनि मान्छेलाई भोक लाग्ने विषय हुन्छन्। उनको भोक चैं छोराछोरीको उज्ज्वल भविष्यप्रति थियो। त्यसैले गजुरीदेखि काठमाडौंसम्मको यात्रा तय भयो उनको। विगत सम्झँदै उनी लेख्छिन्– ‘बितेका दिनहरू नियालेर हेर्दा जीवन संघर्षैसंघर्षको संघार रहेछ। विरह र उत्पीडनका

दिनसँगै यौवनका उत्ताल तरंगहरू पनि सकिए। सधैं आघातैआघात भोग्दा जीवन बन्धनजस्तो लाग्दोरहेछ। मुक्तिको गोरेटो खोज्दै जाँदा काठमाडौं आएपछि एउटा नयाँ जीवन बाँचेको अनुभूति भइरहेछ।’

यसरी जीवनका विविध आयाममा साहित्यकार रुकुले नारी हृदयको कोमलता पोखेकी छन्। नेपाली साहित्यमा उनको योगदान उदाहरणीय र प्रशंसनीय छ। जीवन जगत्लाई ज्यादै हार्दिकता साथ भोग्ने र तिनको चित्रण गर्दै अनुभूतिजन्य विचारहरूलाई मार्मिकताका साथ प्रकट गर्न सक्ने साहस उनमा मनग्य छ। रातदिन नभनी नारी अस्मिताको आवाज उठाउने उनलाई समाज सुधारकका रूपमा विशिष्ट नारी भनेर नेपाली साहित्य आकाशले सदैव सम्झनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.