बेहुली जस्तै मेरो देश
हिउँकाल ताल सफा हिमाल लहरा बुट्टा भरिए सरी
कर्णाली कलकल काली सलसल सेती र भेरी पनि
झण्डा यो अविरल फरर यसको रूपै कति दिव्य छ
रातो रक्तिम वर्ण सूर्य सरीको चन्द्र सरी यो सभ्य छ
बनमा फल्दछ फूल लाली धस्ने मनमोहकै छ अति
तनमा छातीभरि सदैव रहने मेरो प्रिय झैं देश कति ।
सँगाली मनमा सुवास यसको समृद्धिशाली भूमि
यस्को रूप सजाउँ हरपल सबै नेपाली हामी मिली
सिञ्जाका तटको सभ्यता पहिचान विश्वभरि नै गरी
सर्वोच्च शिखरै चिनाउँ पहिला पर्यटकहरु बोलाइ ।
पानी, खानी र रत्न छन् धर्तीमा तिनको पहिचान गरौं
समृद्धि देशको कृषि उपजमा छ भन्ने कुरा यति बुझौं
औद्योगिक क्रान्ति गरेर देशको स्वरूप नै फेर्न सकौं
यो रत्नसरिको अमूल्य निधिको जतन र सम्मान गरौं
शोभा दिव्य छ है यो जन्मभूमिको माटो मलिलो अति
आभा भव्य कति छ चन्द्रसरिको घाम झैं झरिलो अनि
वेदैका ध्वनि छर्दछन् पशुपति ऋचा बजाई टलपल
मेरो माइती घर नेपाल भूमिको होस मंगलै मंगल ।