मौन यात्रा
अचेल
र टाउको हातखुट्टामा अल्झनु
यो अस्तित्वको विशाल जंगलमा
हराउनु मान्छेको दैनिकी हो
त्यसैले
हराइरहेको एउटा मान्छे
खोज्दै छ कोही भने...
दुई फरक फरक हिमालबाट
आरोह–अवरोह भोग्दै
कुनै दोभानमा मिसिन आइपुगेको
पानी हुँ म
कुनै आगन्तुक कुर्दै
देउरालीको रोगी वरपीपल
चुपचाप लत्रँदै
फœर्याक फœर्याक बर्बराउँदै
खस्न बाँकी अन्तिम पात हँु म
बिरानो चौतारीमा
ठुटो बिडीको अन्तिम सर्को तान्दै
बुन्दै जिन्दगीको तानावाना
सोचमग्न एक वटुवा हँु म
धुजा–धुजा भइसकेको
आधुनिक सभ्यताको
जीर्ण तर कसैको उद्धार पर्खिरहेको
मानव दस्तावेज हँु म
यसरी कसैले
खोज्दा–खोज्दै कुनै दिन आफैंलाई
हौसला सकिए
मौनता मनको निहार्नु
मनकै केही दूरीबीच
ओठमा छिपेको हुन सक्छ
आफ्नै लागि एक खिल्ली मुस्कान
त्यो मुस्कानको सर्जकमै हँु
यसरी कसैले
बादल-हिमाल-हिऊ
एक थोपा पानी बुझेको दिन
दिन-रात-समय
एक थान जिन्दगी बुझेको दिन
समुद्रको पिटाइ
आकाशको गर्जन
आँखा रसाउनु
नदीझैं बग्नु
मनको छालमा
जिन्दगीका तरंग
मग्न लयमा लहलहाउनु
सुखदुःखको पहिरो खस्नु-थामिनु
बुझेकै क्षण
मौन यात्रामा भेट्नेछ आफैंलाई !