तीन वटा चिस्यान गृह निर्माण

तीन वटा चिस्यान गृह निर्माण
मुस्ताङमा निर्माण भएको चिस्यान गृह । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपुर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको तीन वटा चिस्यान गृह निर्माण भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत म्याग्दीमा एक र मुस्ताङमा दुई वटा चिस्यान गृह निर्माण भएको हो । स्याउ र सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यानगृह निर्माण भएका परियोजनाका कृषि अधिकृत बिक्रम बस्यालले बताए ।  

‘निजी फार्म, कृषक समूह र सहकारीहरुले चिस्यानगृह बनाउन कुल लागतको ८५ प्रतिशत सम्म अनुदान दिइएको छ,’ उनले भने ‘चिस्यानगृहमा कृषकले सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्नेछन् ।’ 

बेनी नगरपालिका–९ को बियाडामा परियोजनाको १० लाख रुपैयाँ अनुदानमा पाँच हजार किलोग्राम क्षमताको सुन्तला भण्डारण गर्ने चिस्यान गृह निर्माण भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०/१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । 

मार्फाको चिस्यानगृह बनाउन ११ लाख तीन हजार रुपैयाँ र खिङ्गामा ११ लाख २८ हजार रुपैयाँ अनुदान दिएको कृषि अधिकृत बस्यालले जानकारी दिए । वातावरण अनुकुल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाइने बेनी नगरपालिका–९ बियाडाका मधु गिरीले बताए ।  

परियोजनाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ मा ५ टन क्षमताको एक वटा, २०७७/०७८ मा ४२ टन क्षमताको तीन वटा, आर्थिक वर्ष २०७८/७९ मा ३० टन क्षमताको तीन वटा चिस्यान गृह निर्माण भएका छन् । यसअघि मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा निर्माण भएका निस्यानगृह प्रभावकारी बनेका छन् । 

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बंगुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष म्याग्दी, पर्वत र बागलुङमा सुन्तला जोनको २१ लाख ४२ हजार रुपैयाँ अनुदानमा निर्माण भएका १८ वटा साना सिचाई योजनाबाट १२५ रोपनीमा सिचाई सुविधा विस्तार भएको छ । 

आठ लाख पचास हजार रुपैयाँ अनुदानमा बेनी नगरपालिका–३ मा दुई वटा र पर्वतको जलजला गाउँपालिका–५ मा एक वटा सुन्तला नर्सरी स्थापना भएको छ । मुस्ताङमा २.१६ हेक्टरमा स्याउ खेति विस्तार भएको र म्याग्दीमा दुई हजार दुई सय सुन्तलाका बिरुवा अनुदानमा वितरण गरेको कृषि अधिकृत बस्यालले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.