प्रचण्डलाई भेटेर कांग्रेस नेताले भने : सुन काण्ड र भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही होस्
काठमाडौं : नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारबाहीको माग गरेको छ। कांग्रेस नेताहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर देशमा सुशासन कायम गर्न र भ्रष्टाचार काण्डमा दोषि सबैलाईकार्बाहि गर्न ध्यानाकर्षण गराएका हुन्।
नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु मधु आचार्य, भुपेन्द्रजङ्ग शाही, जगदीश नरसिंह केसी, जनार्दन आचार्य, खग्रेन्द्र मल्ल लगायतका नेताहरुले भेट गरेका हुन्।
उनीहरुले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड र सुनकाण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने र कुनै पार्टीलाई आग्रह पुर्वाग्रह नराखी नाम जोडिएका माओवादी नेताहरुसहित जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
उनीहरुले जुनसुकै तहको नेता भएपनि कडा कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्। जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै दलका नेता भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए। प्रचण्डले नाम मुछिएका सबैमाथि सीआईबीले अनुसन्धान गर्ने बताउँदै सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा लागि परेको बताए।
यस अगाडि पनि नेपाली कांग्रेस रुपान्तरण अभियानका सात नेताले विज्ञप्ति जारी गर्दै चर्चित भ्रण्टाचारका काण्ड अनुसन्धान अघि बढाइरहेका प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका थिए। कांग्रेस रुपान्तरण अभियानको नाममा क्रियाशील रहेको कांग्रेसका युवा नेताको समूहले प्रहरी अधिकारीलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको बताएका थिए। कांग्रेस नेताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तह मै गम्भीर प्रश्न उठेको छ। यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन ।’
मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी र गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेपछि उनीहरुले आपत्ति जनाएका हुन्।
‘पछिल्ला विकसित राजनीतिक घटनाक्रमहरुका कारण नेपालको वर्तमान परिस्थिति थप पेचिलो बन्दै गएको छ । मुलतः लोकतान्त्रिक शासन प्रणालीलाई सबल तथा सफल बनाउने आधार भनेकै सुशासन हो। सुशासनलाई सुनिश्चित गर्ने प्रमुख विषय भ्रष्टाचारको नियन्त्रण हो। नेपाल उँभो नलाग्नुमा अनियन्त्रित भ्रष्टाचार नै हो । तसर्थ अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास जग्गा काण्ड तथा क्वीण्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाई सरकारले तार्किक निष्कर्षमा पुर्याउनुपर्छ ।’विज्ञप्तिमा भनिएको छ।