आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु
दार्चुला : दार्चुलामा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
आइतबार बिहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले घरमा कोही नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।
घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए।
साउँदले शरीरमा किन आगो लगाइन् भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।