चीनको बाटो हुँदै सिमकोट पुर्‍याइँदै बस

चीनको बाटो हुँदै सिमकोट पुर्‍याइँदै बस
सुन्नुहोस्

सुर्खेत : हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा चीनको बाटो हुँदै बस पुर्‍याइँदै छ। देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो। जहाँ यात्रुलाई सेवा दिनका लागि चीनको बाटो हुँदै पहिलो चरणमा २ वटा बस पुग्दैछन्। 

हुम्लाका व्यवसायी विजय लामाले चीनको बाटो हुँदै बस सिमकोट पुर्‍याउन लागेका हुन्। चीनसँग जोडिएको रसुवागढी नाकाबाट चिनियाँँ ट्रकमा राखेर बसलाई हुम्लातर्फ लगिएको हो। 

सिमकोटसम्म राष्ट्रिय सडक सञ्जाल नपुगे पनि जिल्लाभित्र भने सडकहरू खनिएका छन्। ती सडकमा हाल साना जीप र ट्याक्टर चल्ने गरेका छन्। तर तिनको भाँडा महँगो भएकाले यात्रुको सहजताका लागि चीनको बाटो हुँदै बस सिमकोट पुर्‍याउन लागेको व्यवसायी विजय लामाले बताए। 

चिनियाँ ट्रकमा लोड गरेर लगिएका बस चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म पुग्नेछन्। त्यहाँबाट भने बसलाई सिमकोट पुर्‍याइने छ। नेपालबाट बस लैजान सम्भव नभएपछि चीनको बाटो प्रयोग गरिएको हो। ‘सिमकोट आजसम्म राष्ट्रिय सडकसँग जोडिएको छैन’ व्यवसायी लामाले भने,‘देशभित्रै बाट सिमकोट पुग्ने बाटो नभएपछि चीनको बाटो प्रयोग गरेका हौं, चीनको सडकमा नेपाली नम्बर प्लेटका सवारी साधन गुडाउन नमिल्ने रहेछ। त्यसैले हामीले चिनियाँ ट्रकमा राखेर बस हिल्सा नाकासम्म लैजाँदै छौं, हिल्सासम्म लैजान ७ लाख रुपैयाँ भाडा तिरेका छौं।’

उनले मंगलबार बेलुकीसम्म बस सिमकोट पुग्ने जानकारी दिए। उनका अनुसार हिल्साबाट ९० किलोमिटर टाढा रहेको सिमकोट पुग्न बसलाई ६ घण्टा समय लाग्छ। सिमकोट पुग्ने बसको इन्जिन भारतबाट ल्याएर बाँकी संरचना सुर्खेतमा निर्माण गरिएको हो। 

बसमा २५ वटा सिट रहेका छन्। दुवै बसको गरी लागत करिब एक करोड रहेको सञ्चालक लामाले जानकारी दिए। उनका अनुसार बसलाई सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आवद्ध गराइएको छ। 

ट्याक्टर र जीपहरू सिमकोट–हिल्सा खण्डमा चलिरहेका छन्। तर त्यहाँका नागरिकले महँगो भाडा तिरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। ‘जीपले प्रतिव्यक्ति यो रुटमा ५ हजार रुपैयाँसम्म भाडा लिन्छन्, यो भाडा भनेको धेरै महँगो हो’ लामाले भने, ‘स्थानीयले बस सेवा सञ्चालन गर्न सुझाव दिए, त्यही अनुसार मैले पहिलो चरणमा २ वटा बस हुम्ला लैजान लागेको हुँ।’ 

उनले हुम्लाको भुगोल र सडक अनुसार २५ सीट भएका बस लगिएको भन्दै भाडा पनि स्थानीय नागरिकलाई सहज हुनेगरी तोकिने बताए। बस पुगेपछि हुम्लाका नागरिकलाई जिल्लाभित्र यात्रा गर्न सहज हुने उनको भनाइ छ। 

हाल हुम्लाबाट बाहिर जानका लागि एक मात्र विकल्प भनेको हवाई सेवा हो। तर मौसमका कारण हवाई सेवा पनि नियमित नहुने समस्या छ। यसले गर्दा हुम्लाका नागरिकले प्रायः पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।

हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि वर्षौंदेखि प्रयास जारी छ। सिमकोट जोड्ने कर्णाली करिडोरको निर्माण कार्य भइरहेको छ। जसअन्तर्गत कालीकोटको खुलालुदेखि सिमकोट जोड्ने सडकको नेपाली सेनाले निर्माण गरिरहेको छ। 

कर्णाली करिडोरको खुलालुदेखि सिमकोट सम्मको सडकको दूरी १९६ किलोमिटर छ। २०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोर निर्माणको जिम्मा २०७१ मा सेनालाई दिइएको हो। 

तर हुम्लाको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने थारे क्षेत्रमा कडा चट्टानका कारण निर्माणमा जटिलता भइरहेको हो। थारे भिरको आठ किलोमिटर सडक मध्ये साढे ४ किलोमिटर ट्रयाक खोल्ने कार्य निकै जटिल मानिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.