साइकलबाट लडेर बिर्तामोडमा एक जनाको मृत्यु
झापा : झापाको बिर्तामोडमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
बिर्तामोडस्थित मुक्तिचौक छेउको प्रसाईँ सुपर मार्केट अगाडि सोमबार बिहान उनी मृत फेला परेका थिए। अन्दाजी ३५ वर्षका व्यक्ति ढलभित्र मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ।
ढलभित्र मानिस मृत भेटिएसँगै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली तत्काल घटनास्थल पुगेका थिए। घटनास्थल वरिपरि राखिएको सीसीटीभीको फुटेज हेर्दा साइकलमा सवार ती व्यक्ति आफैँ अनियन्त्रित भएर ढलमा गएर लडेको स्पष्ट देखिएको डीएसपी रिजालले बताए। मृतकको पहिचान खुलाउन सोधपुछ भइरहेको उनले बताए।