मुस्ताङको स्याउ असोजअघि टिप्न नपाइने
जोमसोम : मुस्ताङको स्याउ असोज अगावै टिप्न नपाइने भएको छ। जिल्ला समन्वय समितिको पहलमा आयोजित अन्तरपालिका स्तरीय बैठकले मुस्ताङको स्याउलाई असोज अगावै टिप्न नपाइने निर्णय गरिएको हो।
यसवर्ष मुस्ताङ जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरलाई कायम राख्न असोज महिना सुरु भएपछि मात्र स्याउ टिप्न जिल्लाका ५ वटै स्थानीय तहका किसानलाई अनुरोध गरिएको छ। यसका लागि सम्बन्धित स्थानीय तहलाई सहजीकरण गर्न जिल्ला समन्वय समिति मुस्ताङले जिम्मा दिएको छ।
जिल्ला समन्वय समिति मुस्ताङले स्याउ लगायतका अन्य विषयमा निर्णय लिन साउन १९ गते अन्तरपालिका समन्वय बैठकको आह्वान गरेको थियो। सोही निर्णय भएपछि भदौ महिनाभर मुस्ताङमा किसानको बगैंचामा स्याउ टिप्न प्रतिबन्ध लगाइएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले जानकारी दिइन्।
समुन्द्री सतहको करिब २५ सय मिटरको अग्लो उचाइको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउले केही वर्षअघिसम्म गुणस्तर र निकै प्रख्याती कमाएको थियो। तर, पछिल्ला वर्षहरूमा मुस्ताङको स्याउ बगैंचामा पूर्ण विकसित नहुँदै स्याउ धनी र व्यापारी मिलेर खरिद/बिक्री गरी बजार पुर्याउने भएकाले सहर/बजारका उपभोक्ताले मुस्ताङको स्याउ गुणस्तर खस्किएको गुनासो गर्दै आइरहेका थिए।
स्याउ बगैंचामा राम्ररी नपाक्दै बजार पुर्याउने परिपाटीले मुस्ताङको स्याउ ब्रान्ड माथि नै उपभोक्ता माँझ नकारात्मक सन्देश प्रवाह भएको थियो।
मुस्ताङको स्याउले पूर्ण रूपमा फलको स्वाद/गुणस्तर र आकार ग्रहण नगर्दै स्याउ टिप्दा मुस्ताङको स्याउ स्वादिलो र गुणस्तर कायम हुन सकेको थिएन। मुस्ताङको सदिंयौंदेखि स्याउ ब्रान्डको गुणस्तर कायम राख्न यसवर्ष पनि स्याउ टिप्ने समय निर्धारण गर्नुपरेको जिसस उपप्रमुख माया गुरुङले उल्लेख गरिन्।
केही वर्षअघि स्याउ मुस्ताङको स्याउ व्यापारीले असोज अगावै टिपेर बजार पुर्याउने गर्थे। स्याउ धनी र व्यापारीहरूको आपसी सहमतिमा बगैंचा अवलोकन गरी स्याउको ठेक्का र बैनापट्टा गरिन्थ्यो। यसरी स्याउ धनीले पूर्ण रूपमा स्याउ नपाक्दै व्यापारीलाई बिक्री टिप्न दिँदा यहाँको स्याउ असोज नलाग्दै बगैंचा रित्तिने गर्थ्यो। जसका कारण मुस्ताङको स्याउ स्वाद भरिलो हुन पाउँदैनथ्यो।
मुस्ताङमा स्थानीय उन्नत जातको स्याउ खेती गरिँदै आइरहेकोमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वको स्याउ खेती पनि विस्तार हुँदै आइरहेको छ। यसप्रकार उच्चघनत्वको स्याउ खेतीमा प्रदेश सरकारबाट बर्सेनि अनुदान सहयोग हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।
मुस्ताङमा स्याउका उन्नत जातका रेडडेलिसियस,रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस आदी खेती हुँदै आइरहेको छ। यसै उच्चघनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका विरुवा लगाइएको छ।
विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असरका कारण मुस्ताङको स्याउ खेतीमा नकारात्मक प्रभाव पर्न थालेको छ। यसवर्ष स्याउको फुल फुल्ने समय जेठ असार महिनामा निरन्तरको वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन)हुन पाएन।
स्याउ बोटमा परागसेचन नहुँदा स्याउ उत्पादन ५० प्रतिशतले घट्न सक्ने कृषि ज्ञानकेन्द्र मुस्ताङको अनुमान छ। स्याउको फुल फुल्ने समयमा मौसम अनुकुलित हुनुपर्ने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ।
जलवायु परिवर्तनका कारण निरन्तरको वर्षाले स्याउ खेतीमा उत्पादन घट्ने देखिएपछि यहाँका स्थानीय किसान चिन्तित छन्। स्याउ बोटहरूमा विभिन्न संक्रमण रोगहरू देखिँदा किसानहरू स्याउ खेतीको उत्पादन घट्ने देखिएको हो। कुनै बेला मुस्ताङका स्याउ बगैंचामा लटरम्म स्याउ फल्ने गरेकोमा यसवर्ष निकै पातलो फल लागेको जोमसोमका किसान अजित थकालीले जानकारी दिए।
पछिल्लो समय मुस्ताङको स्याउलाई गुणस्तर कायम राख्न स्थानीय किसानहरू पनि निकै सचेत रहेको मार्फाका किसान दीपक लालचनले बताए।‘पहिला पहिला स्याउ धनीहरूले पैसा भए पुग्थ्यो, गुणस्तरतर्फ ध्यान दिन सकेका थिएनन्, किसान लालचनले भने, ‘पछिल्लो समय किसानहरू स्याउको गुणस्तर बचाउन निकै सचेत भएका छन्, व्यापारीलाई पनि असोज लागेपछि मात्र आउन खबर गरेका छन्।’ मुस्ताङका किसानले व्यापारीलाई पहिल्यै मुल्य तोकेर जिम्मा लगाउँदा यहाको स्याउ प्रति उपभोक्ता प्रश्न गर्ने गरेको स्मरण गरे।
मुस्ताङका ५ स्थानीय तहमा कुल १४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भइसकेको छ। जसमध्ये ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। कुल विस्तार भएको स्याउको क्षेत्रफल मध्ये ३८ हेक्टर जमिनमा उच्चघनत्वको स्याउ खेती विस्तार भएको हो।
गत वर्ष मुस्ताङमा ६५९७ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये ४४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउ उत्पादन भएको थियो।