डेंगी : सन्त्रास कि सतर्कता ?
लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगी रोगको प्रकोप अहिले नेपालको विभिन्न भागमा निकै बढ्दो छ। धरान, रूपन्देही, नवलपरासी, चितवन, पर्सा तथा झापा आदि ठाउँहरूमा हुँदै अहिले काठमाडौंमा पनि फैलिएको छ। र, डेंगु रोगको संक्रमणबाट हजारौं व्यक्ति बिरामी भएका छन्।
रूपन्देहीमा मात्रै झन्डै चार सय जनामा डेंगु संक्रमण भएको भेटिएको छ। रूपन्देहीमा १० वर्षअघि पहिलो पटक डेंगु संक्रमणका बिरामी भेटिएका थिए। सो वर्ष तीन सय जनालाई संक्रमण भएको थियो भने चार जनाले ज्यान गुमाएका थिए। यो वर्ष कम्तीमा दुई जनाको ज्यान गइसकेको छ। यस रोगको बढ्दो बिरामीको संख्याका कारण डेंगी इपिडेमिक भएर सन्त्रास फैलाउने खतरा बढेको छ।
तराईमा गर्मीयाममा लामखुट्टेको प्रकोप बढेसंँगै यो रोग फैलने गर्छ। लामखुट्टेको एक प्रजाति एडिज लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी भाइरसको संक्रमण हुँदा यो रोग लाग्ने गर्छ। डेंगी भाइरसका डीइएन वान, टु, थ्री, फोर गरी जम्मा चार रूप हुन्छन् र नेपालमा यी चारै प्रकारका डेंगु भाइरसको प्रकोप रहेको छ। डेंगु एडिस एगेप्टीनामक दिउँसो टोक्ने पोथी लामखुट्टेले टोकेर हुने भाइरल संक्रमण हो। यो लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालो–सेतो छिर्केमिर्के रङको हुन्छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, डेंगीले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ। यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ। यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन।
डेंगीको लक्षण संक्रमण भएको ३ देखि १४ दिनभित्र देखिन्छ। यसमा छाला, आमाशय, आन्द्रा आदि ठाउँबाट असामान्य रक्तस्राव हुन सक्छ। एउटा सामान्य चोट लाग्दासमेत निकै रगत बग्न सक्छ। यो भाइरसको कुनै उपचार छैन। यसमा सहायतात्मक उपचारमात्र गरिन्छ। डेंगी ज्वरोले पीडित व्यक्तिको रगतमा डेंगीको भाइरस धेरै बढी मात्रामा हुन्छ। एडिस लामखुट्टेले यस्ता बिरामीलाई टोक्दा उनीहरूको रगत चुस्ने गरेका छन्। यसरी रगतसँगै डेंगी भाइरससमेत लामखुट्टेको शरीरमा प्रवेश गर्छ। लामखुट्टेको शरीरमा डेंगी भाइरसको केही दिनसम्म विकास हुन्छ। यसपछि जब डेंगी भाइरस भएको लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्दा उसको शरीरमा समेत डेंगीको भाइरस पुग्छ र उसमा पनि यो ज्वरो विकसित हुन्छ।
डेंगी लागेमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबर आउने हुन्छ। केही बिरामीको शरीरमा सुरुमै रातो बिमिरा आउँछन्। त्यस्तै, शरीरमा डन्डिफोरजस्ता डाबर देखिन्छन्। ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तस्राव हुन्छ। तर, डेंगी हिमोराजिक फिभरबाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून छ। यस्ता बिरामीलाई विशेष हेरचाह गर्न अस्पताल भर्ना गर्नुपर्छ। बिरामीलाई सघन उपचारसमेत आवश्यक पर्न सक्छ।
यस रोगका तीन चरण हुन्छ, पहिलो तीन दिन ज्वरो आउने चरण (फेब्राइल फेज) मा बिरामीलाई उच्च तापक्रमसहितको ज्वरो आउने, जीउ, हात दुख्ने, रुघा लाग्ने, आँखा पोल्ने, जोर्नी दुख्ने हुन्छ। चौथो दिनदेखि छैटौं दिनसम्मको चरणलाई सघन चरण (क्रिटिकल फेज) भनिन्छ र यस अवस्थामा बिरामी सिकिस्त हुन सक्छन्। रगतमा प्लेटलेट (एक प्रकारको रक्त कोषिका) को कमी हुँदै जाने भएकोले रगतमा तरलता बढ्दा रक्तनलीहरूबाट रगत कमलो छालातिर जाने भएकोले शरीरमा रक्तचाप कम हुने, पानीको मात्रा कम हुने, शरीरमा डाबरहरू बन्ने, पेट दुख्ने र बान्ता हुने लक्षण देखिन थाल्छ। बिरामीको रगतमा रक्त कोषिका प्लेटलेटको मात्रा कम हुन नदिन सेतो रगत (कम्पोनेन्ट ब्लड) बिरामीलाई दिनुपर्ने हुन्छ। यस्तो सघन अवस्थामा मात्र बिरामीलाई त्यस प्रकारको कम्पोनेन्ट रगतको व्यवस्था हुने अस्पतालमा बिरामी जानुपर्ने हुन्छ र चिकित्सकले पनि त्यसै अनुरूप बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ। यो चरण सामान्य रूपमा पार गरेमा र बिरामी सिकिस्त नभएमा बिरामीको रोग ७ देखि १० दिनसम्मको रिकभरी चरणमा आफैं सामान्य भएर जान्छ। यस अवस्थामा बिरामी तङ्ग्रिँदै जाने र बिरामीले सहजता महसुस गर्न थाल्छ।
डेंगी रोगले ग्रसित बिरामीमा पहिलो चरणमा नै एनएसवानएजी, शरीरले बाह्य वस्तुको रूपमा चिन्ने एक प्रकारको भाइरल प्रोटिन वा एन्टिजेन, प्रतिक्रियात्मक (रियाक्टिभ) देखिएमा बिरामी सम्बन्धित रोगको सुरुआती अवस्थामा रहेको बुझिन्छ। रगतमा श्वेत कोषिका कम भएको, प्लेटलेटको संख्या कम भएमा पनि सो भाइरसको बोझ शरीरमा रहेको बुझिन्छ। उक्त भाइरसविरुद्ध मानिसको शरीरले बनाउने प्रतिक्रियात्मक तत्त्ववा एन्टिबडीहरूमध्ये आईजीएम र आईजीजी पनि पोजिटिभ हुन सक्छ। कति बिरामीमा आईजीएम पनि प्रतिक्रियात्मक (रिएक्टिभ) देखिन्छ। रोग ठीक हुन लागेको बिरामीमा वा रोग सुरु भएको चार–पाँच दिनमा आईजीजी पनि प्रतिक्रियात्मक (रिएक्टिभ) देखिन्छ। दोस्रो पटक संक्रमित व्यक्तिमा भने आईजीजी पहिला देखिन्छ। शरीरमा हिमाटोक्रिटको मात्रा बढ्ने ल्याब परीक्षण पनि यस रोगको पहिचानमा सफल मानिन्छ, जसको मात्रा चौथो दिनदेखि छैटौं दिनसम्म बढ्छ।
भारतका चर्चित योगगुरु बाबा रामदेवले घरआँगनमा पाइने जडीबुटीहरूबाट डेंगु ठीक हुने दाबी गरेका छन्। उनका अनुसार ५०–५० ग्राम गिलोय (अमृता), घिउकुुमारी (एलोबेरा), पेवाको पात तथा अनारको रस दिनको तीन पटक सेवन गर्ने हो भने डेंगु ठीक हुन्छ। तर यसको वैज्ञानिक परीक्षण चाहिँ भएको छैन। अन्तमा मानिसको रोगप्रतिरोधक शक्ति मजबुत भएको खण्डमा कोरोना भाइरस होस् वा डेंगी भाइरस वा अन्य कुनै भाइरस मानिसलाई केही गर्न सक्दैन। आउँछन्, जान्छन्। तनाव र अत्यधिक डर र त्रासले पनि मानिसको रोगप्रतिरोधक शक्ति घटाउँछ। त्यसैले डेंगुप्रति सचेत होऔं, सुरक्षाका विधि अपनाऔं, सन्त्रस्त नबनौं।