जनता आवास : अधुरो घर,आगनभरी पानी
विराटनगर : 'पक्की घरको लोभमा छाप्रो भत्काइयो, तर दुई वर्षमा पनि घर बनेन', सुनवर्षी नगरपालिका ८ जितनीले भनिन्। सरकारले पक्की घर निर्माण गरिदिने बताएपछि फुसको घर भत्काएकी जितनी अहिले निकै निरास भएकी छिन्।
वर्षौंदेखि फुसको चुहिने घरबाट मुक्ति पाइने कुराले उनी र उनको परिवार निकै खुसी थियो। कुराकानी चलेको केही समयपछि घर निर्माणको काम पनि सुरु भयो। उनले पनि खुसी–खुसी आफूले टाउको लुकाउँदै आएको सम्पत्तिको नाममा भएको फुसको छाप्रो हटाइदिइन्। घर बनाइदिन्छु भनेर आएका शहरी विकास तथा भवन कार्यालय विराटनगरका कर्मचारीले लगभग एक वर्षमा तिम्रो आफ्नै पक्की घर हुन्छ भनेको उनी सम्झन्छिन्।
उनी जस्तै दिने रिसिदेवले पनि आधा भत्किएको झुपडीमा बसेर पक्की घर निहालेको दुई वर्ष भइसक्यो। उनको पनि कथा जितनीको भन्दा फरक छैन। सरकारले दिन्छु भनेको पक्की घर बनि नसक्दै भत्कने अवस्थामा खण्डरमा परिणत भएको छ। तर पक्की घरमा बस्ने सपना पूरा भएको छैन। घरको जगदेखि पर्खाल लगाउनेसम्मको काम सकिएको छ। माथि जस्तापता समेत लगाइएको छ। तर बस्न सकिने अवस्था छैन।
यसरी घर अलपत्र परेको एक वर्षभन्दा बढी भएको उनले सुनाए। उनको भनाइअनुसार उक्त घर निर्माण भएको स्थानमा अहिले पनि २ फिट पानी जमेको छ। देव समुदायको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय विराटनगरले वाटो बिना नै सो स्थानमा ५५ वटा घर निर्माणको काम दुई वर्ष अघि सुरु गरेको थियो । 'चारैतिर धानको खेती हुने ठाउँ छ', बाटो छैन कैलु रिसिदेवले भने , ‘ चौरमा बाटो नभएको स्थानमा बनाएको अधुरो घरमा बस्नु भन्दा राम्रो जसोतसो बाँस र फुसको छाप्रो बनाएर बस्नु नै हुन्छु।'
सरकारले बनाएको घरमा बसेर सर्प र लामखुट्टेलाई टोकाउनुभन्दा पुरानै छाप्रोमा तातो चिसो सहँदै बस्नु ठिक लागेको उनले सुनाए। ‘यसरी बिचल्ली हुन्छ भन्ने थाहा पाएको भए झुपडी भत्काउन दिने थिइनँ,’ कैलुले भने , ‘हाम्रो त झन बिजोग भयो। जाडो जसोतसो कटाइयो। अब वर्षा त कसरी कटाउने हो ? सरकारले जनता आवासको लोभ देखाएर आफूजस्ता विपन्नको उठिबास लगायो।,’ इन्जिनियर ओम प्रकास शर्माले आफूहरूको कुनै कुरा नसुन्ने गरेको स्थानीय मुसहरहरू बताउँछन्।
उनी जस्ता बिचल्लीमा परेका यस मुसहर टोलमा मात्र ५५ परिवार छन्। उनीहरू सबैको समस्या उस्तै छ। उनीहरूलाई सरकारले दिने भनेको आवास आकाशको फल बनेको छ। दुई वर्षदेखि तयार होला र बसौँला भन्दाभन्दै अहिले बिचल्ली बनाएको स्थानीय मुसहर परिवारको गुनासो छ।
उक्त आवासमा वालको प्लास्टर र माटो पुर्न अझै बाँकी छ। भित्तामा समेत प्लास्टर नगरिएकाले लगाएको सिमेन्ट बालुवा झर्ने गरेको छ। तराईको ठाउँ विषालु सर्पको बिगबिगी हुने गरेको बेला बाटो बिनाको घर र आगनमा पानी जम्ने स्थानमा घर बनाएर प्लास्टर नगरेको इँटाको कापमा सर्प बस्ने चिन्ता लागिरहेको स्थानीय अगुवा जयप्रकाश राजवंशीले बताए ।
पटकपटक जानकारी गराउँदासमेत सम्बन्धित निकायले ध्यान नदिएको मुसहरहरूको दुःखेसो छ। जसियादेवीले भनिन्, ‘कहाँ जाने ? कसलाई भन्ने ? कसैले हाम्रो कुरा सुन्दैन। जनप्रतिनिधिहरूलाई भनेँ, यो प्रदेश र संघ सरकारको हो भन्छन्। कुन सरकारको हो ? हामी पढेलेखेका छैनौँ। कसरी थाहा पाउने ? बरु यो घर हटाएर हाम्रो छाप्रो बनाइदिनु। हामी हिउँद र वर्षामा यसरी खुला आकाशमा बालबच्चाको बिचल्ली पारेर कति दिन बस्नु ?’
ठेकेदारले घर निर्माणमा मनोपोली गरेर कमसल सामग्री प्रयोग गर्दासमेत सम्बन्धित निकायले आँखा चिम्लिएर बसेको मुसहरहरुले बताए।
शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर ओमप्रकाश शर्माले भने सबै काम स्टिमेट अनुसार नै भएको बताए। उनले भने, ‘घरभित्र भुईं ढलान र प्लास्टर गर्ने स्टिमेटमा छैन।' बाटो बनाउने काम आफूहरुको नभएको उनले बताए । उनले निर्माण भएको घरमा नबसेसम्म हस्तान्तर समेत नहुने सुनाए। शहरी विकास कार्यालयले तीन लाख ३२ हजार ५ का दरले प्रत्येक घर बनाउने गरी योजना ल्याएको बताइएको छ।