ठूलो बाबुलाई बाबु बनाएर नागरिकता लिन खोज्ने भारतीय पक्राउ

ठूलो बाबुलाई बाबु बनाएर नागरिकता लिन खोज्ने भारतीय पक्राउ
सुन्नुहोस्

परासी : नवलपरासीमा ठूलो बाबुलाई आफ्नै बाबु बनाएर नेपाली नागरिकता लिन खोज्ने एक जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका २० वर्षीय राहुल कुर्मी छन्। 

प्रतापपुर गाउँपालिका-६ कठहवाका गौरीशंकर कुर्मीले आफ्नी सालीका छोरा राहुललाई नागरिकता दिलाउन खोजेका थिए। वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस र अन्य सबै कागजपत्र बनाएर राहुल र गौरीशंकर इलाका प्रशासन कार्यालय सेमरीमा नागरिकता लिन पुगेका थिए। 

एक महिनाअघि मात्र राहुलको जन्मदर्ता भएको कागज देखेपछि प्रशासनका कर्मचारीले शंका मानेर प्रहरी सर्जिमन गर्न पठाएका थिए। प्रहरी सर्जिमनमा स्थानीयले राहुल गौरीशंकरका सालीका छोरा रहेको बताएपछि उनी भारतीय नागरिक भएको खुलेको हो। 

जन्मदर्तामा राहुलका बाबुआमा गौरीशंकरका दम्पती उल्लेख छ। गौरीशंकरको नागरिकता वंशजको हो। गौरीशंकरले केही महिनादेखि सालीका छोरालाई नागरिकता दिलाउने प्रयासमा बाबु बनेर काजपत्र तयार गरेको एक स्थानीयले बताएका छन्।

भारतीय नागरिक साली र साडुको मृत्यु भएपछि गौरीशंकरले सानै उमेरदेखि छोरालाई ल्याएर पालेका थिए। जन्मदर्ताको प्रमाण पत्र र गौरीशंकर आफैंले वडामा आएर छोरा हो भनेर सनाखत गरेपछि नागरिकताको सिफारिस दिइएको कार्यबाहक वडाध्यक्ष अवदेश यादवले बताए।‘गौरीशंकरका आफ्ना दुईवटा छोरा छन्। नागरिकता बनाउन आएका व्यक्तिको अनुहार पनि गौरीशंकरसँग मिल्छ, कान्छा छोराको नागरिकता बनाउन आएका होलान भनेर सिफारिस दियौं। झुक्काएर लगेको पछि बल्ल थाहा भयो,’ कार्यबाहक वडाध्यक्ष यादवले भने। 

इलाका प्रशासनको पत्रानुसार गाउँमा गएर सर्जिमन बुझ्दा भारतीय नागरिक भएको खुलेपछि राहुललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए। 

उनलाई नागरिकतासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा गैरनागरिकलाई नागरिकता दिलाउन खोज्ने र सिफारिस गर्ने सबै क्रमशः अनुसन्धानको दायरामा आउने प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.