कर्णालीबाट अरूले सिक्नेगरी काम गर्नुपर्छ : मन्त्री सिंह
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आर्थिक अनुशासन कर्णाली प्रदेशबाट अरूले सिक्ने गरी काम गर्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेशलाई आर्थिक अनुशासनमा नबाँधिएको प्रदेश हो कि भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै यस्तो बताएका हुन्। उनले कर्णालीप्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई चिर्न खासगरी लेखा समूहका कर्मचारी चनाखो हुनुपर्ने बताए।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित प्रदेश लेखा इकाईहरूको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी प्रदेश लेखा इकाईका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले अरूले हाम्रो कामबाट सिक्ने गरी काम गर्नुपर्ने बताए।
उनले दुर्गम क्षेत्रमा रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई सेवा प्रवाहमा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय लाग्ने प्रतिबद्धता जनाए। उनले दुर्गममा कार्यरत कर्मचारीहरूले पेलिएर गएको अनुभूति नगर्न आग्रह समेत गरे। कर्मचारीहरूको सरुवालाई न्यायोचित बनाउने गरी सरकार लाग्ने उनको भनाइ छ।
कार्यक्रममा मन्त्री सिंहले संघ सरकारबाट विभिन्न शीर्षकमा प्रदेशलाई प्राप्त रकम फिर्ता नजाने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले भने, 'वित्तीय र आर्थिक अनुशासन कायम गर्ने शैली अपनाएर काम गर्नुस्। हामीमाथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ। असोज र कार्तिकभित्र बजेट कार्यान्वयनको प्रक्रिया अघि बढाई सक्नुपर्नेछ। संघ सरकारबाट प्राप्त रकमलाई फिर्ता नजाने गरी काम गर्नुहोला।'
सरकार जनताप्रति उत्तरदायी छ भन्ने महसुस गराउने जिम्मा राष्ट्रसेवक कर्मचारीकै बढी हुने भएकाले आफ्नो जिम्मेवारी र सरकारको भरोसालाई बुझेर काम गर्नुपर्ने उनको भनाइ छ।
समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण, जिल्लाको समग्र खर्च स्थिति, बजेट तथा कार्यक्रम कार्यान्वयन र निकासाका विषयमा रहेका समस्या र समाधानका विकल्पबारे छलफल भएको थियो।