कालिकोटको तिलागुफामा भेडीगोठका लागि सोलार वितरण
वीरेन्द्रनगर : कालिकोटको तिलागुफा नगरपालिका-१० रुडुका १५ भेडी गोठमा सोलार जडान गरिएको छ। तिलागुफा नगरपालिकाले स्थानीय भेडापालक किसानहरूको सहजताका लागि रुडुको लेकाली भेकमा व्यावसायिक रुपमा भेडापालनमा लागेका किसानहरूका गोठमा सोलार जडान गरेको हो।
तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले स्थानीय किसानहरूलाई सहयोग गरेर व्यावसायिक भेडापालन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न दातृ निकायबाट श्रोत व्यवस्थापन गरी १५ वटा भेडीगोठ व्यवस्थापनका लागि सोलार वितरण गरिएको बताए।
तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले प्रसस्त चरन क्षेत्र भएको रुडुमा भेडापालन व्यवसायलाई थप व्यवस्थित बनाउने बताए।
रुडुका स्थानीय भेडापालन गर्ने किसान नन्दबहादुर थापाले नगरपालिकाले सोलार दिएपछि अब भेडीगोठमा अन्धकारमा बस्नु नपर्ने बताए। उनले भने, 'हामी वर्षमा ६ महिना लेकतिर र ६ महिना औलतिर हुन्छौँ। सामान्य टर्चले भेडिगोठमा उज्यालोको काम हुन्थ्यो। लेधमा पाठालाई बाग पनि लाग्छ। हामीले रात दिन गोठ कुर्नेपर्छ। अध्यारोमा गोठमा निकै समस्या हुन्थ्यो। अब त गोठमा सोलार जोडिन्छ। झलमल्ल उज्यालोमा भेडाको रेखदेख गरिन्छ।'
यस्तै अर्का किसान धनजित रोकायले भेडापालन व्यवसाय रुडुको प्रमुख ब्यावसाय भएकाले यसलाई थप व्यवसायिक बनाउनुपर्ने बताए। उनले भने, 'पुर्खादेखिको हाम्रो भेडापालन गर्ने पेशा अहिले पनि निरन्तर छ। हाम्रा लागि सरकारी जागरि जस्तै हो। दुख गर्ने हो भने राम्रै आम्दानी पनि हुन्छ। भेडाहरूमा लाग्ने रोग, अव्यवस्थित गोठ जस्ता समस्याहरूले कहिलेकाही समस्या पनि आउने गरेको छ। तर पछिल्लो समय नगर सरकारले विभिन्न किसिमका सहयोगहरू गर्न थालेपछि हामीलाई भेडापालन गर्न हौसला मिलेको छ।'
पशुपालन व्यवसायमा प्रचुर सम्भावना बोकेको रुडुलाई भेडापालन पकेट क्षेत्र घोषणा गरिएको छ। यहाँ भेडापालन व्यवसायलाई अझ व्यवस्थित गर्नका लागि फर्म दर्ता, भेडाको बिमा जस्ता कार्यक्रमहरू अझ प्रभावकारी रुपमा लागू गर्नुपर्ने स्थानीय किसानहरूको माग छ।