विमानस्थलबाट सुन तस्करी प्रकरण: थप एक जना पक्राउ
काठमाडौं : त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न देखिएपछि पाल्पा जुठापौवा घर भएका गणेश पौडेल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइवी’को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। सीआईबी श्रोतका अनुसार सुन प्रकरणको अनुसन्धानका क्रममा भन्सार पास गराउन पौडेलको सहभागिता देखिएको छ। उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’का नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट गत साउन ३ गते बरामद भएको हो। राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले उक्त सुन फेला पारेको थियो।
मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं ल्याइएको सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका भएको बुझिएको छ। सीआईबी स्रोतका अनुसार यस प्रकरणको थप अनुसन्धान गर्नका लागि सीआईबीका एसएसपी दिनेश आर्चाय हङकङ गएका छन्। हङकङबाट सुन पठाउने गिरोहबारे थप अनुसन्धान गर्न प्रहरीले इन्टरपोलसँग सहयोग माग्दै पत्र पठाएको थियो।
सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा बेल्जीयम नागरिक दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ, ली वेन सुङ र गणेश पौडेल, राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, रहेका छन्।