कर्णाली क्रिकेट संघमा खड्का
दैलेख : कर्णाली प्रदेश क्रिकेट संघको अध्यक्षमा पदमबहादुर खड्का चयन भएका छन्। बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रथम साधारणसभा तथा अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले कर्णालीलाई मान्यता दिएसँगै खड्का पहिलो पटक अध्यक्ष बनेका हुन्।
कर्णालीलाई लुम्बिनीको मातहतमा राखेर कर्णालीमा क्रिकेटका गतिविधि सञ्चालन गरिँदै आएकोमा खड्काले कर्णालीलाई छुट्टै मान्यता दिनुपर्ने अडान राख्दै आएका थिए। खड्काको लामो प्रयासपछि क्यानले कर्णालीलाई मान्यता दिएको हो। खड्काको पहलमा कालिकोट, दैलेख, रुकुमपश्चिम र सल्यानमा क्रिकेट संघको जिल्ला शाखा विस्तार गरिएको छ।
कर्णाली प्रदेश क्रिकेट संघको उपाध्यक्षमा कालिकोटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र कोषाध्यक्षमा सुर्खेतका सूर्य थापा चयन भए। पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिमा सदस्यहरूमा बालकुमार नकाल, कुलप्रसाद ओली (रुकुम), सविन हमाल, बुलन्दबाबु सेजुवाल (सल्यान), दमनराज शाही (कालिकोट), प्रकाश भुसाल (सुर्खेत), पवनकुमार थापा, समुन्द्र शाही र मनोज थापा (दैलेख) छन्। २०५४ सालमा सुर्खेतमा क्रिकेट संघ प्रस्ताव गरे पनि २०६२/६३ मा आएर क्यानले मान्यता दिएको थियो।
दुई दशक सुर्खेत क्रिकेट संघको नेतृत्व सम्हालेका खड्काले २०७४ मा सुर्खेत क्रिकेट संघको नेतृत्व श्रीधर केसीलाई हस्तान्तरण गरेका थिए। संघको कर्णाली संयोजक रहेका खड्का हाल नेपाल क्रिकेट संघको केन्द्रीय सदस्यसमेत छन्।