गाईजात्राका विविध पक्षहरू
जनैपूर्णिमाको भोलिपल्ट भाद्रकृष्ण प्रतिपदाका दिन गाईजात्रा पर्व मनाउने गरिन्छ। यसपालि तिथिका कारण गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेको छ। पूर्वीय धर्मदर्शनअनुसार गाई लक्ष्मी हुन्। गाईको दूधमात्रै होइन गोबर, गहुँतसमेत हितकारी छ। गाईजात्राको परम्परा र गाईका विषयसँग सम्बद्ध धार्मिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक पक्षबारे उजागर गर्ने प्रयास गरिएको छ।
लक्ष्मीपूजा गर्दा गो पूजा गरिन्छ, गाईपूजाको भोलिपल्ट गोरुको पूजा हुन्छ तिहारमा। घरघरमा दीपमालिका गर्नुपूर्व गाईको गोबरले घर लिपिन्छ, यस अर्थमा गाईको गोबरमा श्रीलक्ष्मीको बास हुन्छ, गाईको गोबरले लिपेको घरमा लक्ष्मीको बास हुन्छ। घर, गोठ र गोबरको महत्त्व हुन्जेल, घरघरमा गौसेवा हुन्जेल हामीले अनाजका लागि विदेशी हात थाप्नु परेको पनि थिएन। गाईका चार पाउ चार वेद स्वरूप हुन्, गाईको दुई सिङमा श्रीविष्णु र इन्द्रको बास हुन्छ। सिङको बीचमा चन्द्रमा, यसको फेदमा ब्रह्मा र ललाटमा शिवको बास हुन्छ। दुई कानमा अश्विनीकुमारहरू, दाँतमा मरुद्गण, रोमकुपमा ऋषिमुनि, छालामा प्रजापति, श्वासमा रुद्र, नाकमा पुष्प, ओठमा बसुगण, मुखमा अग्नि, गर्धनमा पार्वती, पीठ भागमा २७ नक्षत्र रहेका हुन्छन्।
गाईको, पिठ्यूँमा आकाश, अपानमा सबै तीर्थ, मूत्रमा गंगा, नितम्बमा पितृ, पुच्छरमा भगवती, छातीमा कार्तिकेय, घुँडा, जँघा र ऊरुमा पाँच वायु, खुरमा गन्धर्व र सर्प, चार थुनमा चार समुद्र रहन्छन्। त्यसैले रति आदि र स्वधा, स्वाहा, दिशा, धृति, स्मृति, कान्ति, क्रिया सबैले हरदम गौसेवा गर्न लालायित हुन्छन्। सबै नदी, तीर्थ, वेद, धाम, समुद्र, देव, पितृहरूले पनि सधैं गो सेवा नै रुचाउँछन्। गाईलाई ब्रह्माले अग्नि कुण्डबाट प्रकट गरेका हुन्, गो सेवा गर्नेलाई दुःख दूर हुन्छ। धर्मको प्रतीक गाईले मानिसका पाप धोई वैतरणी पार गराउने गरुड पुराणको कथन छ। त्यसैले चाँदी, सुन, जमिन, घोडा, तिल सप्तधान्य र गोदान गर्ने प्रचलन रहेको हो। गाईका सबै अंग चोखा भए पनि गलत साक्षी बसेकाले श्रीशिव रुष्ट भई गाईलार्ई श्राप गर्नाले यिनको मुख भने बिटुलो मानिन्छ र ढोग्दा मुखमा होइन गोडा बा अन्य अंगमा ढोगिन्छ। गाईको बासस्थान भनेको मोक्षदायी क्षेत्र हो।
गोमूत्रले सेचन गर्दा आशौच शुद्धि हुन्छ भने गोमूत्र पानले शरीरमा निरोगिता हुन्छ,। जुठो, सुतकमा मानिसमात्रै होइन घर चोख्याउने पनि चलन छ, घाटबाट फर्कंदा गोमूत्रले सेचन गरे शुद्ध हुने र अपशकुन नहुने हुन्छ। गाईको दूध पञ्चामृत नै हो जसमा दही, घिउ, चिनी, महसमेतको मिश्रण हुन्छ, हर देव, पितृ कार्यमा दूध नभई हुन्न, गाईको दूधले दिइएको तर्पणले सीधै पितृहरूले पाउँछन्। श्राद्धका दिन कुकुरले देखे छोएको अन्न अरूलाई दिए खाएमा त्यसको फल सीधै प्रेतलोक पुग्छ भने गाईले देखेको अनाज सीधै देव, पितृलोक पुग्छ, त्यसैलै पिण्ड सेलाउँदा सकेसम्म गाईलाई नै खुवाउने चलन भएको हो। श्राद्धमा जो पायो उसलाई दान, भोजन निषेध छ, पतीत, जड, मौसमी र उन्मक्त ब्राह्मण, नपुंसक, कोढ्, मृगी, कुष्ठरोगी, झुटो नियममा बस्ने, अंगहीन, पाखण्डी, शास्त्र निन्दकलाई दान वा भोजन खुवाउन निषेध छ, दिनु परे छुट्टै दिनुपर्छ तर गाईले देखेका वस्तु भने जो कोहीलाई दिँदा पनि गोलोक वा भनौं देवलोकको पहुँच हुन्छ।
रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने दूध र यसका परिकार भनौं खिर आदि मात्रा मिलाई सेवन गरेमा शरीरलाई अमृत सरह हुने हुँदा वर्षा ऋतु, झरी, बादलको समय साउनको मध्यमा यस्तो खानाले शरीर स्वस्थ हुने भएकाले नै यस्तो परिकारलाई प्रश्रय दिइएको हो। हिंस्रक, झुटको सहारा लिने, देशद्रोही, देव निन्दक, दाजुको बिहे नगरी आफ्नो बिहे गर्ने परिवृत्त, वेश्यावृत्तिमा लागेको, अभक्ष वस्तु खाने, १० दिन नबितेको मृत घरको खाना खाने, पिपासु, चाण्डाल, जुवाडे, मदिरा सेवन गर्ने, पतीत, जड, उन्मक्त व्यक्ति, क्रूर, पिशाच प्रवृत्तिमा लागेको, देव पितृ, यज्ञको अपहेलना गर्ने यस्ता व्यक्तिहरू पनि गो स्पर्शबाट सजिलै आफ्नो प्रायश्चित्त गर्न सक्ने धर्म शास्त्रमा उल्लेख छ। व्यभिचारीको हातको अन्न खाने राज्यको ढुकुटी जथाभावी दुरुपयोग गर्ने, भोजनमा विभेद गर्ने, आफ्नो र अरूको भनी विभेद गर्ने, क्रोधी यस्ता व्यक्तिको आयु नास हुन्छ र पनि गो सेवा गर्नाले यिनको पाप क्षीण हुने हुन्छ।
राजा प्रताप मल्लको पालामा काठमाडौं उपत्यकामा बिफर रोग फैलियो। यो रोगले राजकुमारकै मृत्यु हुँदा रानी ठूलो शोकमा परिन्। उनलाई प्रहसनबाट मनोरञ्जन दिलाउने र शोक भगाउने अर्थमा राजाले मरेका घरहरूबाट गो यात्रा निकाल्न उर्दी जारी गरे। शोकमा परेकी रानीलाई कुनै माध्यमबाट जसले हँसाउन सक्छ, उसलाई पुरस्कृत गरिने घोषणा गरियो। अब सबैले जसको घरमा पुत्र मरेका छन् उसको घरबाट जोगीको भेषमा र जसको पुत्री मरेको छ गाईको भेषमा रंगीबिरंगी जुलुस निकाल्ने आदेश जारी गरियो। गाईजात्रे टोली दरबार जानुपर्ने र पुत्रशोकमा परेकी रानीलाई शान्त पार्ने व्यंग्य, ख्यालठट्टा, प्रहसन, परिहास, नृत्य गरेर देखाएपछि रानीको शोकमा कमी आयो र अरूका सन्तान पनि मर्दा रहेछन् भन्ने उनले बुझिन्।
यसरी शोक विस्तारै शक्तिका परिणत हुँदै आएपछि अब हरेक वर्ष यस्तो जात्रा निकाल्ने चलन मल्ल राजा त्यसमा पनि प्रताप मल्लबाट सुरु भएको इतिहास भेटिन्छ। उपत्यकामा गाई विस्तारै कम हुन लाग्दा नक्कली मुखुण्डो, गाईका साना बाच्छाहरू वा मान्छेहरूले गाईको अनुहार बनाई चित्र विचित्र रूपमा समूहमा टोलटोलमा निस्केर जात्रा परम्परा धानिँदै आउन थाल्यो। अहिलेसम्म पनि गाई जात्राका दिन वर्षभरिमा मानिस मरेका घरबाट गाईको भेषमा जात्रा निकाल्ने चलन छ। मुख्य सहर हनुमान ढोकाबाट निस्केको समूह त पाटन सहरसम्म पुग्ने, पंक्तिबद्ध हुने, फेरि हनुमान ढोकासम्म फर्किने चलन रहेको छ। प्रायः नेवार बस्ती बा बौद्धतिर पनि गाईजात्रा भव्य तरिकाले उत्सवका रूपमा मनाइने चलन छ।
यमलोकका ढोका वर्षदिनसम्म बन्द हुने र गाईजात्रा देखाएपछि मृत पितृहरू देवलोक पुग्ने शास्त्रीय मान्यताका कारण पनि गाईजात्रा निकाल्ने चलन रहेको छ। पद्म पुराणमा प्रवेश गर्दा गोमाहात्म्यको चर्चा भेटिन्छ र आजभन्दा २४ सय वर्ष पहिलेदेखि नै गाईको प्रसंग आउँछ भने हिन्दुधर्मीहरूका लागि त गाई गीता, गंगा, गायत्री, शालिग्राम, तुलसी, कुश, तिल आदि मुक्तिदायी नै हुन् भन्ने विश्वास छ। वैतरणी तर्ने भनेको साधन नै गाईको पुच्छर हो। मृत्युअघि वैतरणी र दसदानमा गाई नै प्रमुख साधन रहन्छ। मृत्युपछि पनि मृतकका सन्तानले गाईको पुच्छरमात्रै समात्न पाए पनि आपूm धन्य सम्झने हामी धेरै नेपालीहरू छौं। शास्त्रमा गाईलाई कामधेनु भनिएको छ, जसबाट इच्छाअनुसारको तत्त्व पाइन्छ। कृष्णलाई यशोदाले दूध पान गराउँदा सुरभी गाईको दूध दिने गर्थिन्। गाई पूजा गर्ने घरमा भूत, प्रेत, पिशाचको डर, अग्निभय, चट्याङ वास्तुदोष हुन्न, भूकम्पको सुरक्षणसमेत नाग, गाईहरूबाट हुन्छ भनेको छ शास्त्रले। गाईजात्रामा ठूलाहरूको उछितो काढ्ने गरिन्छ ।