अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिन्छौं : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने संकल्प व्यक्त गरेका छन्।
गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा शुभकामना दिँदै उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको उल्लेख गरेका छन्।
‘जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन्। यो हामी सबै नेपालीहरूका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय हो।’ शुभकामना सन्देशमा भनिएको छ, ‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार, बेथितिको अन्त्य गरी सुशासन कायम गर्न, व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन तथा विभिन्न महामारी, विश्व भूराजनीतिक संकट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताको सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने संकल्पमा छ। पछिल्लो समय सरकारको तर्फबाट जे–जति पहलहरू लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित छन्।’
उनले पर्वले राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस् भन्ने कामना समेत गरेका छन्।