प्यूठान झिमरुक गाउँपालिकामा नीतिगत भ्रष्टाचारको आरोपबारे छानविन गर्न समिति गठन
प्यूठान : प्यूठान झिमरुक गाउँपालिकामा नीतिगत भ्रष्टाचारको आरोपबारे छानविन गर्न समिति गठन गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले गाउँपालिका अध्यक्ष र कर्मचारीहरूमाथि लगाएका ‘नीतिगत भ्रष्टाचार’ का आरोपमाथि छानबिन गर्न वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर पुनको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा आठ सदस्य छन्। जसमा कार्यपालिका सदस्य कल्पना थापा, चोपबहादुर विक, पूर्वाधार विकास समितिका संयोजक धुर्वराज खनाल, आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर जिसी, सामाजिक विकास समितिका संयोजक तुलसबहादुर बस्नेत, वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सिताराम पोखरेल र वडा नम्बर ५ का अध्यक्ष दधिराम पोखरेल सदस्यका रूपमा छन्।
केही दिनभित्रै गाउँपालिकामा महालेखा परीक्षण सुरु हुने भएकाले त्यसपछि छानविन सुरु हुने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पोखरेलले जानकारी दिए। छानविन समितिले मलेपको प्रारम्भिक प्रतिवेदनलाई पनि आधारका रुपमा लिने छ। समितिले असोज २० गतेसम्म प्रतिवेदन तयार गर्ने निर्णय भएको छ।
गाउँपालिका उपाध्यक्ष पोखरेलले तीन/चार महिनाअघिदेखि विभिन्न क्षेत्रमा नीतिगत भ्रष्टाचार भएको भन्दै कार्यालय प्रमुख र लेखा शाखाका कर्मचारीहरूलाई फाइल माग गर्दै आइरहेका थिए।
उनले केही दिनअघि आफ्नो फेसबुक लाइभ मार्फत १८ मिनेट ३१ सेकेण्डसम्म आफ्नै कार्यालयमा भ्रष्टाचार भएको आरोप लगाएका थिए।