चार हजार बढी घरधुरीलाई पानीको समस्या
नुवाकोट : नुवाकोटको सदरमकुाम विदुरमा तीन सातादेखि पिउने पानीको अभाव भएको छ। यसबाट सयौं घरधुरी तथा हजारौं उपभोक्ता समस्यामा परेका छन्।
दक्षिण एसियाकै नमूना खानेपानी आयोजना विदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फलाखु खोला मुहानको मुख्य पाइप खोलामा आएको बाढीले बगाउँदा सदरमुकाममा पिउने पानीको समस्या परेको छ।
यसबाट चार हजारभन्दा बढी घरमा पिउने पानीको समस्या भएको छ। अविरल वर्षाले गत साउन २७ र २८ गते फलाखु खोलाबाट ल्याइएको जडान गरिएका १३० मिटरको पाइप बगाएपछि संस्थाले वितरण गर्दै आइरहेको सदरमुकाम विदुर, बट्टार, माझीटार, पिपलटारलगायतका स्थानमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाइ खानेपानी संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए।
संस्थाले प्राविधिक सहितको टोली लिएर मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाइप बाढी बगाएको स्थलगत अवलोकन र निरीक्षणसँगै मर्मत तथा पुनर्निर्माण गरिरहेको छ।
बाढीले पानीको पाइप, ढलान र ग्याबिन जाली बगाउँदा ५० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। पुनर्निर्माण तथा अस्थायी रूपमा मर्मतका लागि १० दिन भन्दा बढी समय लाग्नेछ।
मर्मतका लागि जिल्ला विपद् व्यवस्थापन समिति र विदुर नगरपालिकालाई अनुरोध गरेको छ। ३५५ एमएमको पोलिथिन खानेपानी पाइप राख्न कार्य सुरु गरिएको छ।
साथै, विदुर नगरपालिका-१ ढुंगेदेखि विदुर ९ कोलेनीसम्मको मुख्य पाइपलाइन प्रयोगमा भएको सामग्री गुणस्तरहीन पाइएकाले उक्त सामग्री सम्झौता अनुसार गुणस्तरको प्रयोग गरी मर्मत कार्य सम्पन्न गराउन निर्माण पक्षलाई अनुरोध गरेको छ।
निरीक्षणका क्रममा फलाखु खोला मुहान सम्झौता अनुसारको संरचना निर्माण नभएको पाइएकाले संस्थाले तत्काल मुहान संरचना निर्माण गर्न निर्माण व्यवसायीलाई ताकेता गरेको छ।