एमसीसीमा देखिएको आलोकाँचो राजनीति
स्वयं प्रधानमन्त्रीले परियोजना कार्यान्वयनको अघिल्लो दिन संसद्मै दिएको अभिव्यक्तिले नेपालको राजनीति निकै हदसम्म आलोकाँचो छ भन्ने सन्देश दियो ।
अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यान्वयन सुरु भएको छ । पाँच वर्षभित्र पूरा गर्नुपर्ने परियोजनाको दिनगन्ती सुरु हुने गरी दुई देशका पदाधिकारीले बुधबार हस्ताक्षर गरे । तर यसबारे नेपाली राजनीतिमा देखिएको बखेडा चाहिँ निम्न कोटीको छ । केवल आफ्नो राजनीतिक रोटी सेक्ने उद्देश्यका साथ गरिएको राजनीतिले वास्तवमा देशको अन्तर्राष्ट्रिय छवि पनि धुमिल पारेको छ । अनुदान सहयोग पनि लिने र त्यसमा अनेक नौटंकी र बखेडा गरिरहने यहाँका नेताको कर्मले नेपालको अन्तर्राष्ट्रिय छवि अविश्वसनीय देखिएको छ । स्वयं प्रधानमन्त्रीले परियोजना कार्यान्वयनको अघिल्लो दिन संसद्मै दिएको अभिव्यक्तिले नेपालको राजनीति निकै हदसम्म आलोकाँचो छ भन्ने सन्देश दियो ।
एकातिर एमसीसी सदनबाट पारित गर्ने, त्यसमाथि आफ्नै राजनीतिक प्रतिष्ठाका लागि बाह्रबुँदे व्याख्यात्मक टिप्पणी राखेर जनताका आँखामा छारो हाल्ने काम भएकै थियो । अझै कार्यान्वयन सुरुआतको ११औं मिनेटमा पनि स्वयम् प्रधानमन्त्रीले उही व्याख्यात्ममक टिप्पणीको प्रसंग निकाल्दा हाम्रो अन्तर्राष्ट्रिय कूटनीतिको केटौलेपनको पटाक्षेप भयो । अन्तर्राष्ट्रिय मामिलामा सबै राजनीतिक दलको साझा धारणा नहुनु नेपाली लोकतन्त्र अझै शिशु अवस्थामै हुनुको द्योतक पनि हो । आफूले देश विकास गर्ने लगानीयोग्य पुँजी सिर्जना पनि नगर्ने र अरूबाट आएको सहयोगमा पनि अनेक बखेडा निकाल्दै घनघोर राष्ट्रवादी देखिनुपर्ने दलहरूको महारोगकै कारण देश पछौटेपनको सिकार भएको हो । ५५ अर्बको एमसीसी परियोजनाबाट विद्युत् र सडक पूर्वाधार निर्माण वास्तवमा नेपालको समृद्धिको आकांक्षामै योगदान पुग्ने हो ।
तर त्यसलाई जबर्जस्त अमेरिकी सुरक्षासँग जोड्ने अथवा आफ्नै देशलाई भूराजनीतिको चेपुवा आफैं घचेट्ने नेता र दलहरूका गतिविधि चाहिँ द्वैध चरित्रका पनि द्योतक हुन् । अन्तर्राष्ट्रिय शक्तिसँग नतमस्तक पनि हुने र नेपाली जनताका आँखामा छारो हाल्न पनि खोज्ने आलोकाँचो राजनीतिले न उनीहरूको न देशकै हित भएको छ । अन्तर्राष्ट्रिय सहयोग, अनुदान, ऋण र लगानी लिएरै मुलुकलाई अघि बढाउन सकिन्छ भन्नेमात्रै होइन । देश विकासको एकमात्रै सूत्र पनि त्यो होइन । देश विकासको सूत्र त आफैंले लगानी सिर्जना गरेरै अघि बढ्ने, आत्मनिर्भर हुने हो । तर उत्तरकोरिया वा क्युबाजस्तो एकलकाँटे पाराले बस्नु पनि त केवल आत्मश्लाघामात्रै हो । त्यस्तो आत्मश्लाघाबाट मुक्त हुने र प्रस्ट कूटनीतिक अस्त्रबाटै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार विकास गर्ने अनि आफ्नै बर्कतले देशलाई अघि बढाउनु नै श्रेयष्कर हुन्छ । अहिलेलाई भने सुरु भइसकेको एमसीसी परियोजना बेलामा पूरा गरेर पूर्वाधार निर्माणमा उपलब्धि हासिल गर्नुपर्छ । अन्तर्राष्ट्रिय कूटनीतिक विश्वसनीयता पनि बलियो पार्नुपर्छ । आलोकाँचो राजनीति हुनु हुँदैन ।