अस्पतालमा आमा

अस्पतालमा आमा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मलाई सानोमा खुब बिरामी पर्न मन लागिरहन्थ्यो। यस्तो बिरामी जुन शरीरलाई गाह्रो नहोस्। ताकि बाआमाको अगाडि पुल्पुलिएर धेरै माया पाइयोस्। जे माग्यो त्यही खान पाइयोस्। मैले सोचेको जस्तो हल्का बिरामी कति भए कति र त्यो बेला आमाले अरू बेलाभन्दा बढी स्याहार र माया गर्ने पलहरू विशेष लाग्थे।

उमेरसँगै बाल्यावस्था जस्तो बिरामी पर्न कहाँ मनलाग्दो रहेछ र ? तीन सन्तानकी आमालाई हामी तीनै जनाले सानो छँदा पालैपालो बिरामी भएर कयौं रात निदाउन दिएनौं। कहिले दाइ बिरामी कहिले भाइ कहिले म। मध्यरातमा हनहनी ज्वरो आउँदा अत्तालिँदै अस्पताल धेरै पटक दौडाउनु भएको छ हाम्री आमाले। बुवा कामले हप्ता, दुई हप्तामा घर आउने तर आमाको निरन्तर एउटै रफ्तारको बेतलबी जागिर थियो। घर, बालबच्चा, भान्सा, भाँडाकुँडा अनि पाहुनापासा ओहो ! धन्न भ्याउनु हुन्थ्यो रहेछ आमाले। अझै पनि याद छ, म ६ वर्षको हुँदा मैले चाहेभन्दा फरक अर्थात् बढी नै बिरामी भएँ। ‘निमोनिया’ले शिथिल मेरो शरीर। त्यतिबेला बालबालिकाका लागि अहिलेको जस्ता निजी क्लिनिक र अस्पतालको चाङ थिएन।

हतारहतार आमाले पल्लो कोठामा बस्ने छिमेकीलाई दाइ र भाइ जिम्मा लगाएर कान्ति बाल अस्पताल पु¥याउनु भयो। आफूले बुझेसम्म हातमा क्यानुला घोपेको, स्लाइन दिएको त्यो नै पहिलो पटक जस्तो लाग्छ। म बेहोसमै हँ हँ गरिरहेकी थिएँ। मलाई गाह्रो भो भन्दै रुन्थें। त्यसबेला मसँगै मेरी आमा रोएको झल्को आयो यसपालि। १२ दिनको अस्पताल बसाइमा सायदै आमा सुत्नु भयो। अनि सायदै केही खानु भयो। अस्पतालबाट घर लगेको केही दिनसम्म मैले जे जे माग्यो त्यो पु¥याई दिनुहुन्थ्यो।

साँझ पर्दै थियो बुवा आफ्नो कामबाट घर आउँदा म लुटपुटिएँ र चाउचाउ खान मन लागेको सुनाएँ। उहाँले मामा चाउचाउ ल्याइदिनु भयो। दाइ पनि मभन्दा डेढ वर्ष मात्र ठूलो। उहाँलाई चाउचाउ देखाउँदै खाएँ। दाइले मलाई पनि चाहियो भनेर पिर्न थालेपछि बाआमा दुवैले बेस्मरी गाली गर्नुभयो। रातको भात पाकिसकेकाले बहिनी बिरामी भएकाले मात्र दिएको ‘तँ भात खा’ भन्दा मलाई औधी खुसी लागेको थियो। बाल मानसिकतामा आफूमात्र प्यारो हुन पाउँ भन्ने भ्रमले यसै पुलकित बनाउने रहेछ।

जसोजसो दिनदशा उसैउसै परिस्थिति मिल्दै जाने अनुभूति यसपालि आमाको स्वास्थ्यमा अचानक आएको समस्याले पुष्टि गर्यो‍ मेरो जीवनमा। साउनको दोस्रो सोमबारको व्रत बसेको दिन असह्य पेट दुखाइबाट सुरु भएको आमाको स्वास्थ्य समस्यामा तेस्रो हप्ता र चौथो हप्ताको सोमबारसम्म थुप्रै जटिलता आए। त्यससँग जुझ्दै काठमाडौंको अस्पतालबाट कहिल्यै नपुगेको धुलिखेल अस्पतालसम्म पु¥यायौं। ११ वर्षअघि पित्तथैली फ्याँकेको आमालाई पित्तथैलीको नलीमा पलाएको पत्थरी (ढुंगा)को पीडासँगै उपचारको क्रममा विभिन्न सफल असफल प्रक्रियाहरूले थपेको पीडा सपनाजस्तै लाग्छ।

आमालाई असफल भएको ईआरसीपी उपचार पद्धतिपछि एक्युट प्यान्क्रियाटाइटिस भएको चिकित्सकले बताए। अस्पतालको ४८ घण्टे बसाइपछि थपिएको निमोनियाले एक हप्ता आईसीयूको बास आमाका लागि निकै सकसपूर्ण रह्यो। आईसीयू साइकोसिसका कारण एन्जाइटी र फोबियाको क्रम बढ्दै जाँदा मैले पुरानै स्वरूपमा आमालाई देख्न पाउने आस नै मारिसकेको थिएँ। आमाका लागि म यो समयमा छायाँ समान साथ रहिरहें। छिनछिनमा झिजो मानेर उहाँले झर्काेफर्काे गर्नुभयो। फेरि छिनमै आफूलाई छोडेर नजान अनुरोध गर्नुहुन्थ्यो। तँ घर गइस् भने म बाँच्दिनँ भनेको बेला बाल्यकालमा मलाई डाक्टरको भन्दा आमाको भर लागेको जस्तै कतै आमालाई पनि मेरै भर लागेछ भन्ने महसुस भयो।

यति लाचार, विवश र बालापन आमामा कहिल्यै देखेको थिइनँ। मैले उहाँलाई सानो बच्चासरह स्याहारसुसार, सहानुभूति र प्रोत्साहन दिइनै रहें। कमजोर शरीरले लाज शरम, उमेर, सम्बन्ध सबै कुरा भुलाउने रहेछ। कठिन परिस्थितिहरूमा मेरा साना दुवै छोराहरूले म खोजेनन् वा खोजेर पनि प्रष्फुटन गर्न सकेनन्। केही भइहाले छोराहरूको बिजोग हुन्छ भन्ने मेरो काल्पनिक डर पनि यो अवस्थामा तोडियो। आखिर मानव चोला परिस्थितिहरूसँग पौंठेजोरी गर्दै अघि बढ्ने रहेछ। कसैको अनुपस्थितिले सबैथोक रोकिन्छ भन्ने भ्रम मात्र हो कि ? यी कष्टपूर्ण दिनहरू धुलिखेल अस्पतालमा बिताएँ।

काठमाडौंका हामीलाई बिरानो लागेको धुलिखेल अस्पतालले दूरदराजबाट उपत्यकामा उपचारका निम्ति धाउने बिरामी र कुरुवाका डर, त्रास र रनभुल्लपनको अनुमान लगाउन सकेँ। अस्पतालको १८ दिनको बसाइमा आमालाई आईसीयूबाट वार्डमा सारिएको छ। ड्रिप, स्लाइन र अक्सिजनको सहाराबाट बिस्तारै आमालाई मुखबाट खुवाउन सक्यौं। घर जान पाइने आसले अहिले आफैं शौच गर्ने र हिँड्ने प्रयासमा हुनुहुन्छ आमा। 

अस्पतालमा आमालाई सम्हालेकी म धेरै रात सुतिनँ। एक्लै कुना पसेर भक्कानिएका पलहरूमा आफैंले आफैंलाई सयौं पटक ‘सब ठीक हुन्छ’ भनेर सम्झाइरहें। मैले मेरो बाल्यवस्थाका बिरामी हुँदाका दिन र अहिले आमा बिरामी भएका दिनहरू दाँजे परिस्थिति उस्तै छ। मात्र हाम्रो स्थान बदलिएको छ। त्यो समयमा म बिरामी आमा कुरुवा, यो समयमा आमा बिरामी म कुरुवा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.