मिसन मुन

मिसन मुन
फाइल तस्बिर।

चन्द्रमाको विविध विषयको खोजी चन्द्रयान–३ मा मात्र सीमित छैन। नासा र यसका साझेदारहरूले सन् २०२५ भित्र चन्द्रमाको सतहमा अब महिला र अर्को पुरुष पठाउने लक्ष्य लिइएको छ।

चन्द्रमामा सूक्ष्मजीवको अस्तित्व सम्भव छ। वैज्ञानिकहरूको यो अनुमान सत्य पनि हुन सक्छ। किनकि सूक्ष्म जीवहरू जस्तोसुकै वातावरणमा पनि बाँच्न सक्छन्। पृथ्वीमा पनि केही त्यस्ता जीवहरू चरम परिस्थितिमा पनि जीवितै छन्। जुन हजारौं वर्षपछि विकसित भएर आउँछन्। चन्द्रमामा जीवनको सम्भावनाका विषयमा हालसम्म विश्वभर थुप्रै अनुसन्धान भए।

अघिल्लो साता भारतले अन्तरिक्षको क्षेत्रमा पाएको सफलता विश्वभर चर्चाको विषय बन्यो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को निकै महत्त्वाकांक्षी परियोजना चन्द्रयान–३ ले चन्द्रमाको माटो, तापक्रम र अन्य भौतिक अवस्था अध्ययन गरिरहेको छ। साथै चन्द्रमाको रासायनिक र भौतिक संरचनाको अध्ययन गर्नु पनि यस मिसनको उद्देश्य हो। चन्द्रमामा जीवन अस्तित्वको खोजीमा लागि परेका अनुसन्धानकर्ताहरूलाई चन्द्रयान–३ ले दिने सूचनाले यस विषयलाई अझै निखार्न मद्दत पुर्‍याउने छ।

भारतको तेस्रो चन्द्रमिसन ‘चन्द्रयान–३’को ल्यान्डर मोड्युल (एलएम) गत अगस्ट २३ तारिखमा चन्द्रमाको सतहमा अवतरण गर्‍यो। यसरी चन्द्रमामा अवतरण गर्ने चौथो देश भए पनि दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बनेर भारतले इतिहास रच्यो। चन्द्रमाको सतहमा चन्द्रयान–३ लाई सुरक्षित अवतरण गराउनु र चन्द्रमामा घुम्ने रोभरको प्रदर्शन गर्नु यस मिसनका महत्त्वपूर्ण उद्देश्य थिए। ती पूरा भइसकेका छन्। मिसनको अर्को उद्देश्य प्राप्ति अर्थात् वैज्ञानिक खोजहरूमा हाल चन्द्रयान–३ को रोभर व्यस्त छ।

के–के भेटिए चन्द्रमामा ?

ल्यान्डर ‘बिक्रम’मा रहेको रोभर ‘प्रज्ञान’ चन्द्रमाको सतहमा ओर्लिएसँगै दक्षिण ध्रुवका रहस्यहरू खुल्ने क्रममा छन्। यसै सन्दर्भमा गत अगस्ट २७ तारिखमा इसरोले चन्द्रमाको सतहमा रहेको तापक्रमको विषयमा एउटा ग्राफ जारी गर्‍यो। चन्द्रमाको माटोको तापक्रम माइनस १० डिग्री सेल्सियसदेखि ७० डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ।

चन्द्रमाको सतहभन्दा ८० एमएममुनि माइनस १० डिग्री र सतहभन्दा करिब २० एमएममाथि ७० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। अन्तरिक्ष एजेन्सीका वरिष्ठ वैज्ञानिकले चन्द्रमामा पाइएको उच्च तापक्रमप्रति आश्चर्य जनाए। समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै इसरोका वैज्ञानिक बीएचएम दारुकेसाले भनेका छन्, ‘हामी सबैले सतहमा २० देखि ३० डिग्री सेन्टिग्रेडसम्म तापक्रम हुन सक्ने विश्वास गरेका थियौं तर यहाँ ७० डिग्री सेन्टिग्रेड देखियो। यो आश्चर्यजनक रूपमा हामीले सोचेभन्दा बढी हो।’

चन्द्रयान–३ को रोभर प्रज्ञानले चन्द्रमाको सतहमा खोजी गर्ने क्रममा करिब ४ मिटर व्यासको खाडल सामना गर्‍यो। इसरोबाट आएको अपडेटमा रोभरले आफूभन्दा तीन मिटर अगाडि उक्त खाडल रहेको पायो। रोभरलाई नयाँ बाटो हिँड्न आदेश दिएपछि रोभरले आफू सुरक्षित रूपमा नयाँ बाटोमा अघि बढिरहेको जानकारी इसरोलाई गरायो।

गत अगस्ट ३० तारिखमा, चन्द्रयान–३ को ‘प्रज्ञान’ रोभरमा जडित एक उपकरणले दक्षिणी ध्रुव नजिकैको सतहमा सल्फरको उपस्थिति पुष्टि गर्‍यो। त्यहाँ एल्मोनियम, क्याल्सियम, फलाम, क्रोमियम, टाइटेनियम, म्यागनिज, सिलिकन र अक्सिजनजस्ता तत्त्वहरू पनि पत्ता लागेको छ। अन्तरिक्ष एजेन्सीले हाइड्रोजनको खोजी पनि भइरहेको जानकारी दिएको छ।

पृथ्वीमा फर्केला चन्द्रयान–३ ?

चन्द्रयान–३ को चन्द्र दिन अर्थात् १४ दिनबराबरको आयु छ। चन्द्रयानको ल्यान्डर विक्रम र रोभर प्रज्ञान सूर्यको तापबिना निष्क्रिय हुन्छन्। तर सूर्यको उदयसँगै यी पुनः सक्रिय हुन थाल्छन्। यही १४ दिनको अवधिभर चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा खोजी गरेर पत्ता लगाएको तथ्यांकलाई ल्यान्डरमा पठाउँछ। ल्यान्डरले ती तथ्यांकलाई पुनः पृथ्वीमा पठाउँछ। १४ दिनपछि चन्द्रमामा रात पर्नेछ। त्यो रातको अवधि पनि १४ दिनसम्म रहनेछ। त्यतिबेला अत्यधिक चिसो मौसम हुनेछ।

त्यसैले त्यतिबेला विक्रम र प्रज्ञान दुवै निष्क्रिय हुनेछन्। तर जब यो अवधि सकिएर सूर्य उदाउनेछ, यी पुनः सक्रिय पनि हुन सक्छन्, नहुन पनि सक्छन्। यसको यकिन अझै इसरोका वैज्ञानिकले गरिसकेका छैनन्। यद्यपि यो कुरा स्पष्ट छ कि ल्यान्डर विक्रम र रोभर प्रज्ञान अब पुनः पृथ्वीमा भने फर्कन सक्दैनन्।

चन्द्रमामा शिवशक्ति प्वाइन्ट

वैज्ञानिकहरूका अनुसार रोभर अहिले ‘समयको विरुद्ध दौड’मा रहेको छ भने इसरो छ पाङ्ग्रे सवारीसाधनमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी पार गर्ने काममा लागि परेको छ। चन्द्रयान–३ को विक्रम ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलताका साथ अवतरण गरेको स्थानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरे। त्यसैगरी सन् २०१९ मा चन्द्रयान–२ ल्यान्डर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भएको ठाउँलाई ‘तिरंगा पोइन्ट’ नाम दिइएको थियो। चन्द्रयान–३ ल्यान्डरले चन्द्रमाको सतहमा छोएको दिन अगस्ट २३ तारिखलाई भारतले ‘राष्ट्रिय अन्तरिक्ष दिवस’का रूपमा मनाउने भारतीय प्रधानमन्त्री मोदीले घोषणासमेत गरे।

मिसनमा महिला शक्ति

इसरोका प्रमुख एस. सोमनाथले चन्द्रयान–३ मिसनको अवधारणा, डिजाइन र कार्यान्वयनमा महिला वैज्ञानिकको भूमिका निकै महत्त्वपूर्ण रहेको बताए। 

‘केहीले ल्यान्डरको अवतरणको क्रममा महत्त्वपूर्ण भूमिका खेले’, सोमनाथले भने।

चन्द्रयान–३ मिसनको महिला हस्तीमध्ये एक थिइन्, आयोजनाकी उपनिर्देशक कल्पना कलाहस्ती। उनको अनुभवले भारतको दोस्रो चन्द्र मिसन र मार्स अर्बिटर मिसनमा भूमिका लेखेको छ। कलाहस्ती उपग्रह विशेषज्ञ हुन् र उनले परिष्कृत इमेजिङ उपकरणहरूको निरीक्षण गरेकी छन्। उनको कामले इसरोलाई पृथ्वीको सतहको ‘हाइ–रिजुलुसन’ तस्बिरहरू खिच्न सफल बनायो।

रोबोटिक्स विशेषज्ञ रिमा घोषले चन्द्रमाको सतहमा काम गरिरहेको ‘प्रज्ञान’ रोभरको विकासमा योगदान गरिन्। ‘मेरा लागि प्रज्ञान सन्तान जस्तै हो र उसले चन्द्रमामा पाइला टेकिरहेको छ। पहिलो पटक चन्द्रमामा रोभर रोल आउट भएको देख्नु एक अद्भुत अनुभव हो’, चन्द्रयान–३ मिसन सफल भएपछि उनले प्रेससँगको कुराकानीमा यसो भनेकी थिइन्।

वरिष्ठ वैज्ञानिक एवं एरोस्पेस इन्जिनियर रितु करिधलले सन् १९९७ मा इसरो प्रवेश गरेकी हुन्। तत्पश्चात् उनले चन्द्रयान–२ लगायतका धेरै महत्त्वपूर्ण मिसनमा योगदान दिइसकेकी छन्। चन्द्रयान–२ मा उनले परियोजना निर्देशकको भूमिका निभाएकी थिइन्।

त्यसैगरी, मंगल ग्रहको परिक्रमा मिसन ‘मंगलयान’मा पनि उनले काम गरिसकेकी छन्। भारतको ‘रकेट वुमन’ भनेर चिनिने करिधलले इसरो युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेकी छन्। ‘चन्द्रयानले भारतको नाम चन्द्रमामा सदाका लागि लेखेको छ’, करिधलले सामाजिक सञ्जालमा लेखेकी छन्।

अर्की वरिष्ठ वैज्ञानिक निधि पोरवालले चन्द्रयान–३ को सफलता सुनिश्चित गर्न चार वर्षसम्म लगनशीलताका साथ काम गरिन्। उनले चन्द्रमाको सतहमा पुग्ने ल्यान्डरलाई ‘जादु’ को रूपमा वर्णन गरेकी छन्। उनले इसरोमा महिला वैज्ञानिकको योगदान अन्य क्षेत्रका लागि बलियो उदाहरण बनेको बताइन्।

असीमित पानी भण्डार खोज्दै चन्द्रयान

चन्द्रमामा पानी खोज्ने काममा सन् २००८ मा भारतले पठाएको चन्द्रयान–१ अन्तरिक्ष यानले महत्त्वपूर्ण भूमिका निभाएको थियो। नासाले उपलब्ध गराएको चन्द्रमाको मिनरलजिकल म्यापर (एम थ्री) नामक उपकरणलाई पहिलोपटक चन्द्रमा चन्द्रयान–१ मार्फत पुर्‍याएर पानी पत्ता लगाउने प्रयास इसरोले गरेको थियो। यसले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला खाडलहरूमा पानीको बरफको अस्तित्व निर्धारण गरेको थियो।

यसलगत्तै सन् २००९ मा नासाले लुनार क्रेटर अब्जरभेसन एन्ड सेन्सिङ स्याटेलाइटको माध्यमले दक्षिणी ध्रुवमा रहेको एउटा अँध्यारो खाडलभित्र लुकेको पानीका बरफ पत्ता लगाएको थियो। त्यतिबेला देखिएको पानीको बरफ पानी नै हो वा हाइड्रोअक्सिल (ओएच) नामक अणुमात्र हो भन्ने शंका लामो समय रह्यो।

उक्त शंका सन् २०२० मा आएर हट्यो। जब नासाको स्ट्रयाटोस्फेरिक अब्जर्भेटरी फर इन्फ्रारेड एस्ट्रोनोमी (सोफिया) टेलिस्कोपले चन्द्रमाको दक्षिणी ध्रुवमा पानीको पहिचान पुष्टि गर्‍यो। सोफियाको तथ्यांकको आधारमा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रमाको माटोको प्रत्येक एक घनमिटरका लागि १२ औंस अर्थात् ३५४ मिलिलिटर पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

प्लानेटरी सोसाइटीका अनुसार चन्द्रयान–१ र नासाको लुनार रिकोनाइसेन्स अर्बिटर (एलआरओ)को तथ्यांकलाई हेर्दा चन्द्रमाको दुईवटा ध्रुवमा करिब ६० करोड टनभन्दा बढी पानीको बरफ छ। त्यो पानीको मात्रा भनेको करिब २ लाख ४० हजार ओलम्पिक आकारको स्विमिङ पुलहरू भर्न पर्याप्त हुन्छ। 

लक्ष्य प्राप्तिमा अन्य परियोजना

चन्द्रमाको विविध विषयको खोजी चन्द्रयान–३ मा मात्र सीमित छैन। नासा र यसका साझेदारहरूले सन् २०२५ भित्र चन्द्रमाको सतहमा अब महिला र अर्को पुरुष पठाउने लक्ष्य लिइएको छ। आर्टेमिस–३ नामक उक्त मिसन सम्भव भएमा ५० वर्षभन्दा लामो समयपछि चन्द्रमामा मानिस पुनः पुग्नेछ।

चन्द्रमाको दक्षिणी ध्रुव नजिकको क्षेत्रको अन्वेषण गर्न पहिलो मानव पठाएर नासाले पनि एक इतिहास रच्नेछ। तर यसभन्दा अगाडि अमेरिकी अन्तरिक्ष एजेन्सीको वाल्टाइल्स इन्भेस्टिगेटिङ पोलर एक्सप्लोरेसन रोभर (भाइपर)ले सय दिन लामो मिसनअन्र्तगत सन् २०२४ मा दक्षिणी ध्रुवको अन्वेषण गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी चीन पनि आफ्नो फस्टाउँदो अन्तरिक्ष उद्योगसँगै चन्द्रमाको दक्षिणी ध्रुवको अनुसन्धान कार्यमा जुट्दैछ। यसको अन्तरिक्ष एजेन्सीले सन् २०२६ मा चेन्ज–७ मिसनअन्तर्गत चन्द्रमामा एक रोभर पठाउनेछ।

यसरी चन्द्रमाको दक्षिणी ध्रुवमा धेरैको चासो रहनुको मुख्य कारण त्यहाँ बरफको रूपमा रहेको पानी नै हो। पानी जीवनका लागि अति आवश्यक छ। तर यसबाहेक अन्य उपयोगिता जस्तै अन्तरिक्षमा लगिने उपकरणहरूलाई चिस्याउन र रकेट इन्धनका रूपमा पनि यसलाई प्रयोगमा ल्याउन सकिन्छ। भविष्यमा कुनै दिन चन्द्रमाबाट मंगल ग्रहमा प्रक्षेपण गरिने मिसनका लागि पनि पानीको विशेष महत्त्व रहन्छ। त्यसैले पनि चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको पानीमा विश्वभरका वैज्ञानिक र अन्तरिक्ष एजेन्सीहरूको चासो बढ्दै गएको देखिन्छ।

आज विशेष दिन

अन्तरिक्ष अनुसन्धानमा शनिबार विशेष दिन हो। चन्द्रयान–३ को सफल प्रक्षेपणपछि इसरोले अर्को ठूलो परियोजनाका लागि २ सेप्टेम्बर २०२३ अर्थात् आजकै दिन तय गरेको छ। अन्तरिक्ष अध्ययनको क्षेत्रमा चन्द्रयान–३ पछि भारतले आफ्नो पहिरो सौर्य मिसन आदित्य एल–१ आज प्रक्षेपण गर्दैछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का अनुसार यसले सूर्यको गतिशीलता र अन्तरिक्ष मौसमको विषयमा खोजीमा महत्त्वपूर्ण भूमिका निभाउने छ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.