संस्कृतिका प्रतिमूर्ति आद्यजगद्गुरु
आद्यजगद्गुरु शंकराचार्यले शेषाम्नाय, आत्माम्नाय र निष्कल आम्नाय आदिको पनि स्थापना गरेका थिए।
नेपाली जाति पूर्वीय संस्कृतिका अनुयायी हौं। वैदिक सनातन धर्म—संस्कृतिको अनुसरण गरी आदर्श पूर्वजले स्थापित गरेको मर्यादा र अनुशासनको पालना गर्दै जीवनयापन गरेर मोक्ष प्राप्त गर्नु हाम्रो अभीष्ट हो।
वैदिक धर्मका प्रतिपादक श्रुति, स्मृति, षड्दर्शन, ब्राह्मणग्रन्थ, महाभारत, पुराण आदि हाम्रा आदर्श ग्रन्थ हुन्। ती तमाम ग्रन्थमा विभिन्न आदर्श महापुरुषहरूका अनुकरणीय जीवनचरित्र छन् जसले हामीलाई आदर्शमय जीवन कसरी यापन गर्ने भन्ने मार्ग निर्देश गरेका छन्। देवयोनिमा वामनादी, तियक् योनिमा मत्स्य, वराह आदि र नरयोनिमा राम, कृष्ण आदि अति महत्त्वपूर्ण अवतार हुन्। आद्यजगद्गुरु शंकराचार्यको अवतार पनि भगवान्का विविध अवतारमध्येको महत्त्वपूर्ण अवतार हो। वैदिक सनातन धर्म सागरजस्तै अथाह छ। यी धर्मदर्शनभित्र गोता लगाउनसके भगवान्का अवतारै अवतार र महापुरुषहरूका जन्म, दर्शन र आदर्श कर्मको भण्डार फेला पर्छ।
यी सबै अवतार विराट् भगवान्का विभूति भएको तथ्य फेला पर्छ।
प्रत्येक अवतार र महापुरुषहरूको यो संसारमा आगमन प्राणीमात्रको हित र मानव धर्मसंस्कृतिको रक्षाका लागि भएको पाइन्छ। शंकराचार्यको अवतार भगवान् शिवको अंशावतार हो। उनी अद्वितीय विद्वान् र महान् सन्त हुन्। भारतको केरलस्थित कालाडी ग्रामको नामपुद्री (शास्त्र विश्वासकर्ता) ब्राह्मण कुलमा उनको जन्म भएको थियो। राजाको आदरसम्मान स्वदेशमा मात्र हुन्छ भने अवतारी महापुरुष र विद्वान्को सम्मान सबै ठाउँमा हुँदा यो हाम्रा शास्त्रको उद्घोष हो।
शिवगुरु र विशिष्ट देवीका सुपुत्र उनी विद्वान् थिए। विद्याधरका एकमात्र सन्तान शिवगुरु निःसन्तान थिए। सपत्निक शिवगुरुकोे आराधनाबाट प्रसन्न भएका भगवान् शिवले दिएको वरदानबाट वैशाख शुक्ल तृतीयाको मध्याह्नमा विशिष्टादेवीको कोखबाट शंकर जन्मेका थिए। भगवान् शिवले म आफैं तिम्रो छोरोको रूपमा उत्पन्न हुन्छु भनी शिवगुरुलाई दिनु भएको वरदान अनुसार जन्मेका शंकर भगवान् शिवका प्रसाद हुन् भन्दा अत्युक्ति हुँदैन।
शिवको अंशका रूपमा जन्मेका अलौेकिक प्रतिभा उनको मस्तिष्कमा चक्र, ललाटमा नेत्र र काँधमा शूल चिह्न भएकाले पनि शंकर शिवावतार मानिन्छन्। हाम्रो धर्मसंस्कृतिले आत्मसात् गरेको सन्त संस्कृति अनुपम छ। सन्त स्वयं तीर्थ हुन् र उनीहरूले तीर्थलाई पनि पवित्र गर्छन् भन्छन् हाम्रा शास्त्र। शंकराचार्यले प्रतिपादन गरेको दर्शन अद्वैत दर्शन हो जसलाई अद्वैतवाद पनि भनिन्छ। उनले वैदिक सनातन धर्मशास्त्रको समन्वयवादी दर्शन प्रतिपादन गरेर पञ्चदेवोपासनापरक सिद्धान्त स्थापना गरे। उनको अद्वैतवादले द्वैत, विशिष्टाद्वैत र शून्यवाद आदिको महिमा र शक्ति क्षीण हुन पुग्यो।
यस्ता महापुरुषका जीवनदर्शन चित्तशुद्धि, अन्तःस्करणको पवित्रता र विवेकको उदयका पवित्र साधन हुन् जसले व्यक्ति ज्ञानी बन्छ। भनिन्छ, शंकरलाई सघाउन विष्णुका अंशले पद्यपाद, पवनका अंशले हस्तामलक, ब्रह्माका अंशले सुरेश्वर, वृहस्पतिका अंशले आनन्दगिरि र वरुणका अंशले चित्सुखाचार्य अवतरित भए । शंकरले तीन वर्षको उमेरमा आफ्नो मातृभाषा मलयालमका सबै ग्रन्थ पढिसकेका थिए। पिता शिवगुरुको स्वर्गारोहणपछि पाँच वर्षमा उपनयन संस्कार गरेर उनलाई गुरुकुलमा पढ्न पठाइयो। उनमा अद्वितीय प्रतिभा भएकोले गुरुकुलमा धेरै समय बस्नु परेन र दुई वर्षमै पारंगत भए। अवतारी शंकर अलौकिक व्यक्ति थिए।
विशेष प्रतिभा र क्षमतावान् उनी एकपल्ट एउटी निर्धन ब्राह्मणीका घरमा भिक्षा माग्न पुगेछन्। भिक्षा दिन योग्य अन्नादी नभएकी ब्राह्मणीले एउटा अमलाको दानो दिइछन्। उनकोे दरिद्रता नास गर्न शंकरले दारिद्रयनाशक कनकधारा नामको स्तोत्रको तुरुन्त रचना गरी लक्ष्मीको प्रार्थना गरेछन्। जसले भगवती लक्ष्मी प्रसन्न भएर सुनका अमलाले ब्राह्मणीको घरको कोठा नै भरिदिएको बताइन्छ।
आजीवन ब्रह्मचर्यमा बस्ने दृढप्रतिज्ञ शंकरले विवाह गरेनन्। ज्योतिषीले उनको जन्म लग्नमा अवतार योग परेकोले परिव्राजक र अल्पायु हुनुका साथै ८, १६ र ३२ वर्षको उमेरमा मृत्युयोग छ भन्ने भविष्यवाणी गरेका थिए। तपस्याले ८ वर्षको मृत्युयोग र देवकृपाले १६ वर्षको मृत्युयोग टर्न सक्ने पनि भनिएका उनलाई ८ वर्षमा नै वैराग्य उत्पन्न भयो। सन्यास लिएमा आत्मज्ञान प्राप्त भएर आत्मज्ञानले मोक्ष हुने बोध पनि उनलाई भएकोले उनले सन्न्यास लिने संकल्प गरे। अद्वैत ब्रह्मात्म विज्ञानको प्रचारका लागि पृथ्वीमा आएका उनलाई सन्न्यास लिन आमाको आज्ञा नपाएका उनी आमासहित नदीमा स्नानार्र्थ गएको बेला गोहीले पक्रिएकाले आमालाई पुकारे। आमाले समेत गोहीसित संघर्ष गर्दा केही लागेन।
सन्यास लिने आज्ञा भए भगवान्सँग प्रार्थना गरी मनमा आतुर सन्न्यासको संकल्प गरेर प्राणत्याग गरी मुक्त हुन्छु, गोहीले छोड्यो भने ८ वर्षको मृत्युयोग टर्छ र ८ वर्ष आयु थपिन्छ भनी आमासित प्रार्थना गरेछन्। छोराको पुकारापछि आमाबाट सन्न्यास लिने आज्ञा पाएपछि उनले पानीमै प्रैष मन्त्र जपेछन्। श्रापग्रस्त भै गन्धर्व योनिबाट गोही योनिमा प्राप्त गोहीले उनको खुट्टो छोडी गोही मुक्त भई गएछ। यो घटनापछि आमाले घर जाउँभन्दा सन्न्यास लिइसकेकोले घर जान नमिल्ने भनी उनी घर नगएको घटना घतलाग्दो छ।
आफू बेसहारा हुने आमाको बिलौना सुनेपछि आमाले बोलाएको बेला आउनेछु भनी प्रतिज्ञा गरे। अनि छोराको जन्मकालको वृत्तान्त र ज्योतिषीका भनाइ सम्झेर आमाले सन्न्यास लिने आज्ञा दिएपछि अग्नि स्थापना गरी विरजा होम गरेर शंकरले सन्न्यास ग्रहण गरेको
भनाइ छ। केही विद्वान्ले गुरु गोविन्दपादबाट उनले सन्न्यास ग्रहण गरेका थिए भनी फरक धारणा प्रस्तुत गरेका छन्।
नारायणबाट क्रमशः ब्रह्मा—वशिष्ठ—शक्ति—परासर—वेदव्यास—शुकदेव—गौडपाद—गोविन्दपाद हुँदै गुरु परम्पराबाट प्राप्त अद्वैत ब्रह्मविद्या शंकरले पाएर अद्वैत वेदान्त मतको प्रचारप्रसार गरे। व्यासद्वारा रचित एवं प्रतिस्थापित ब्रह्मसूत्रको अद्वैतवाद व्यासबाट शुकदेव हुँदै शंकरसम्म आएको हो। शिवको अंशबाट उत्पन्न शंकर लोकशंकर हुन् जसले अरू सबै धर्म सार्वभौम अद्वैत ब्रह्मज्ञानभित्र छन् भन्ने सिद्धान्त स्थापित गरे।
शास्त्र भन्छन्– आफैंले सृष्टि गरेका मानव सन्ततिलाई धर्मपथमा परिचालित गर्ने उद्देश्यले भगवान् हरेक युगमा आदर्श मानवरूप धारण गरी जगत्मा अवतीर्ण हुन्छन्। अति मानवहरूको जीवनमा एउटै जीवनधारा देख्न पाइँदैन। शंकर त्यस्तै अवतारी महामानव हुन् जसले तीन वर्षमै सिद्धि प्राप्त गरे। शंकरको जीवन बालक कालदेखि, तत्त्वज्ञान प्राप्तिसम्मको धारावाहिक इतिहास हो। भगवान् रामले गुरु वशिष्ठबाट र श्रीकृष्णले गुरु सान्दीपन मुनिबाट शास्त्र अध्ययन गरी निपुणता हासिल गरेझैं बालक शंकरले पनि गुरुकुलमा बसी शास्त्र पढेर पारंगत भए।