चेतनाको कसौटीमा देवदेवी
पश्चिम नेपालको नेपालगन्जमा ४० वर्षे अध्यापन जीवनबाट खारिएकी साहित्यकार किरण आचार्यलाई यस क्षेत्रमा नसम्झे अपूरो हुन सक्छ। उनको कलमबाट ‘अनुभूति र अस्तित्व’ कवितासंग्रह, थारू भाषाको लोक कथासंग्रह ‘सपरजुवा’ ‘क्यान्टोन्मेन्ट कथा संग्रह’, ‘सृष्टिचक्र’ लोककथा संग्रह, र ‘जरत्कारु’ उपन्यास यस पहिले नै निस्किसकेका छन्। यतिबेला भने उनको ‘हाम्रा देवदेवी: भ्रम र यथार्थ’ प्रकाशित भएको छ। देवदेवीबारे बडो रोचक र यथार्थ विश्लेषणसहित लेखिएको यो पुस्तक सनातन धर्म संस्कृति र यसका विज्ञानसम्मत आयामलाई केलाउन निकै महत्त्वपूर्ण हुनेछ।
धर्म, भक्ति, आस्था र विश्वासजस्ता कुराले आधुनिक समाज, आजको पुस्ता र विज्ञानवादी एवं प्रगतिशील भन्न रुचाउनेका लागि भने खासै अर्थ राख्दैन होला। सनातन संस्कृतिले सिकाएको पाठ हो– जहाँ आस्था र विश्वास हुँदैन, त्यहाँ सृष्टि अपूरो लाग्छ। जहाँ धर्म हुँदैन त्यहाँ समाज र शासनमा सबैतिर नैतिकताको खडेरी पर्छ। विवेकको शून्यता रहन्छ। विवेकहीन व्यक्ति र शासकले कसैलाई पनि न्याय गर्न सक्दैन। सनातन संस्कृतिका यस्ता महत्त्वपूर्ण आयामहरूलाई क्रान्ति, प्रगतिशील र परिवर्तनको नाममा जुन तरिकाले मिथ्याकरण गर्दै गइयो, यसबाट हाम्रो पुस्ता नै आफ्नै मौलिक खोज र ज्ञानको भण्डारबाट नै बिमुख हुँदै गयो।
हिन्दुुधर्म र सनातन संस्कृतिभित्रका आराध्य देवदेवीहरू, ऋषिमुनिहरूको उत्पत्ति, उनीहरूले मानवलाई दिएको सन्देश र खोज अनुसन्धानको ज्ञानलाई कहिल्यै उल्था गरेर नभन्ने पण्डितको पूजा र कर्मकाण्डको मात्रै हिस्सा मान्दै गएको कुरा यथार्थ हो। धेरैजसो श्रुति परम्परामा पुस्तान्तरण हुँदै आएका कतिपय ज्ञानलाई सञ्चारको नक्कलमा भएको त्रुटिले पनि अपभ्रंश गर्दै गयो। अक्षता र अबिर मिसिएको चारमाना चामल र एक मोहर दाम लिएर समाजका गुरु पण्डितहरू महाधनाढ्य भएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। तर तिनै पण्डितलाई शोषकको दर्जा दिएर सिंगो सनातन संस्कृतिका अमूल्य ज्ञानहरूलाई मिथ्या, पाखण्ड र अर्थहीन भन्नेहरूले हाम्रा ती ज्ञानसागररूपी शास्त्रहरूको भावार्थ, खोज आदि कहिल्यै पढ्ने बुझ्ने गरेनन्। हाम्रो पुस्ता पनि यस्तैको लहलहैमा लागेको ६ दशक पुग्न लाग्यो। आफ्नो भकारीको ज्ञानलाई बुझ्ने प्रायस गरेनौं। बरु विरुद्धमा लाग्दा आफूलाई निकै गौरावन्वित महसुस गर्यौं।
आचार्यको पुस्तक ‘हाम्रा देवदेवी : भ्रम र यथार्थ’ माथि प्रस्तुत सबै सन्दर्भको जवाफ हो। १८ देवदेवबारे वेद, पुराण, गीतालगायत शास्त्रको अध्ययन गरेर निकालिएको यथार्थलाईं विज्ञानसित तादम्यता मिलाएर गरिएको विश्लेषण यसमा भएकाले हाम्रा देवदेवीबारेका भ्रम चिर्न सजिलो हुनेछ। यसमा विश्वस्त हुन सकिन्छ। हामीलाई हाम्रो समाजले जे सिकायो र जे बतायो अनि जुन कुरा श्रुति परम्पराबाट पुस्तान्तरण हुँदै आयो, त्यसको खोज हुन सकेन। यसैलै केही सनातन विरोधी तत्त्वहरू हाम्रा देवदेवीलाई मिथक मान्छन्। उनैले आधुनिकताका सर्जक भनेका त सबै पश्चिमामात्रै हुन् भन्ने भ्रम पालेपोसे र नेपाली समाजमा फैलाए। यसै अनुसार हाम्रा शिक्षानीति, राजनीति, दण्डनीति, कृषिनीति सबै बन्ने र चल्ने चलाइने गरिएको छ। आजसम्म आफ्नो ज्ञानपरम्परालाई पाखण्ड भन्नुलाई नै प्रगतिशीलता, क्रान्ति र विकास भन्ने छाप युवामा बसाइयो। नेपाली समाजमा यो मनोरोग विद्यमान रहेकाले त्यसलाई चिर्न यो पुस्तक उत्तम हुनेछ।
कुनै पनि कुरा सानो हुँदैमा त्यसमा असल गुण हुँदैन भन्ने हुन्न। यो पुस्तक आकारमा सानो, पेज संख्या थोरै (१४८) रहे पनि यसभित्र समेटिएका विषयले सनातनभित्र रहेको भ्रम चिर्न अस्त्र झैं तम्तयार छ। सनातनमा सर्वप्रथम श्री गणेशको पूजा हुन्छ। तर यसलाई हाम्रो पुस्तासम्मले मातापितालाई सर्वोपरि मानेकाले पूजा भएको मात्रै सुन्यौं। तर उनको उत्पत्तिबारे आजको डीएनए प्रविधिसँग लगेर हाम्रा नयाँ पुस्तालाई कहिल्यै बताउन चाहेनौं। विमान बनेका कथा र विमान बन्न सक्छ भन्ने लियो नार्दो दा भिन्चीका कथालाई तथ्य मान्नेहरूले हाम्रा शास्त्रमा रहेका विभिन्न पुष्पकदेखि अन्य विमानका कुरालाई सन्दर्भ मान्न सकेनौं। टेस्टट्युब र सरोगेसी विधिबाट बच्चा प्राप्तिको आधुनिक विज्ञानलाई वाह ! भन्दै गर्दा हाम्रा शास्त्रमा कुमार, दत्तात्रेय, चन्द्र, दुर्वाशा र पाण्डवहरूको जन्मलाई समेत गलत व्याख्या गरेर भद्दा मजाकमा लिने काम गर्यौं।
अनि सकेनौं, आधुनिक विज्ञानको खोजले टाइम ट्राभल्स र ब्रह्माण्डको कुरा खोजेको भनेर छाती फुलाउँदा हाम्रा ऋषि भृगुको ज्योतिष विद्याको खोज, रेवत राजाका बाबुछोरीको ब्रह्मलोक यात्रा, अर्जुनको स्वर्गको यात्रालाई जोडेर खोज गर्न। यस्ता कुरा सबै मिथ्या हुन् भन्नेले आज अन्तरिक्षमा यान पुगेको पत्याउँछौं। नेपालमा कुमारी पूजा हुने गरेको छ। समग्र हिन्दु संस्कृतिमा पञ्चकन्याको महत्त्व छ। गहिरो खोज अनुसन्धान गरेर कुमारी पूजा किन र कहिलेबाट भयो ? यी सबै पुस्तकमा छ। दर्शनशास्त्र विमुख व्यक्तिहरूलाई कात्यायनको दर्शनको प्रस्तुतिले ज्ञान बढाउनेछ। चार्वाक दर्शन त भौतिक दर्शन हो, यसको उत्पत्ति कतै माक्र्सले पो गरेका हुन् भन्न पनि भ्याउने आजका समाजवादीहरूले सबै यथार्थवादी दर्शन चार्वाक अर्थात् लोकायत दर्शनका स्रष्टा आफ्नै हुँदाहुँदै अरूको पछि दौडिरहेको देखिन्छ। तिनलाई पनि पुस्तकले ज्ञान दिएको छ।
द्वापरयुगमा अवतरित पुरुषोत्तम भगवान् श्रीकृष्णबारेका भ्रामक कुराहरू सटिक तरिकाले चिरेर यथार्थ दिइएको छ। नारीलाई देवी, कन्या, कुमारी, धर्ती, माता, आदिशक्ति आदि नामबाट पुजिने समाजमा नारी अधिकारका कुरा पश्चिमाहरूले उठाएको भनेर बोल्नेलाई पुस्तकले सबक सिकाएको छ। जर्ज वासिङ्टन, नेल्सन मण्डेला, अब्राहम लिंकन, गान्धी आदिलाई यो युगका महान् भनेर शिर झुकाउँदा यसै क्षेत्रका राजा भरतले सय पुत्र हुँदाहुँदै राज्य सञ्चालनमा योग्य नदेखेर सेनापति शान्तनुलाई राजा बनाएको कुरा बुझ्न पनि यो पुस्तक कामयावी छ।