गृहभूमिका कविता

गृहभूमिका कविता

गृहभूमि र लक्ष्यभूमिबीच आकर्षण र विकर्षणमा अल्मलिएका आप्रवासी कविताहरूमा छन्।

बेलायती डायस्पोराका नेपाली कवि दयाकृष्ण राई अश्वेत महावाणीमा गृहभूमि र लक्ष्यभूमिबीचको द्वैधतालाई अभिव्यक्त गर्छन्। यस कविता संग्रहमा ५१ कविता छन्। पाँच खण्डमध्ये पहिलोमा १९ कविताले पहिचान तथा विश्व परिवेशका समसामयिक मुद्दा समेटेका छन्। दोस्रो खण्डका १० लाई युद्ध कविता नामकरण गरिएको  पाइन्छ।

तेस्रो खण्डका १२ यौनमा केन्द्रित छन्। चौथो खण्डका पाँचलाई भूकम्प कविता भनिएको छ। जसले कोभिडकालको बन्दाबन्दी र सकसपूर्ण मानव अनुभूतिलाई प्रक्षेपण गरेका छन्। जसले कविको विषयगत वैविध्यलाई पुष्टि गर्छन्। पहिलो र दोस्रो खण्डका कविताले आप्रवासी जीवनका विरोधाभाषपूर्ण अस्तित्व र खण्डित ‘स्व’लाई व्यक्त गरेका छन्। गृहभूमि संस्कृति र लक्ष्यभूमि संस्कृतिबीच अल्मलिरहनु नै आप्रवासी चरित्र हो। कविले बौद्धिक र काव्यिक शक्तिको सन्तुलनसहित अभिव्यक्त गरेका छन्।

संग्रहमा गृहभूमि र लक्ष्यभूमिबीच आकर्षण र विकर्षणको चाकाचुलीमा अल्मलिरहेका आप्रवासी नै कविको रचनाका मुख्य पात्र देखिन्छन्। आप्रवासी राष्ट्रिय दायराभन्दा धेरै पर हुन्छ। विभिन्न संस्कृतिमा ऊ अन्तरसांस्कृतिक बन्दै जान्छ। ओझेल र दमनमा परेका सीमान्त जाति र समुदायका मुद्दा तथा अभियानमाथि उनको सहानुभूति छ। उनको सर्वोच्च कामना चाहिँ शारीरिक रूप र रङका आधारमा हुने पारस्पारिक विभेद, घृणा र संशयको समाधान हो।

एक उदारवादी आप्रवासीका रूपमा उनले ‘रङ, जाति र लिंगभेद’ शीर्षकको कवितामा रंगभेद, लिंगभेद र वर्गभेदको परिभाषालाई नयाँ ढंगले विस्तार गरेका छन्। हामी ख्यालै नगरी रंगभेद, लिंगभेद, जातिभेद र वर्गभेद गरिरहेका हुन्छौं। उनको विचारमा ‘गोरे’, ‘काले’जस्ता शब्द प्रयोग गर्नु रंगभेद हो। नाक देखाएर यो वा त्यो भन्नु जातीय भेद हो। ‘लोकल रातो भालेको सुप’, ‘मार्सी चामलको भात’जस्ता पदावली पनि लिंगभेद, रंगभेद र वर्गीय असमानताका घोतक हुन्।

दयाकृष्णले ‘सुदूर सम्झनामा विलय भइसकेकी सोल्टिनीलाई फेसबुकमा भेट्दा’ कवितामा गृहभूमि र लक्ष्यभूमिबीचको द्वन्द्वलाई निकै मार्मिक तरिकाले प्रस्तुत गरेका छन्। किशोरकालमा गाउँका हाटबजारमा सँगै डुलेकी सोल्टिनीसँग बकन्तेको लामो बिछोड हुन्छ। बकन्ते विदेशी सेनामा भर्ती भएर स्वदेश छोड्न पुग्छ। कैयौँ वर्षपछि डायस्पोरा निवासी सोल्टी र जन्मगाउँ निवासी सोल्टिनी फेसबुकमा भेटिन्छन्। सोल्टिनीको यस्तो प्रतिक्रियाबाट आप्रवासी सोल्टी बेखुस हुन्छ। सोल्टी भन्छ :मलाई उनको त्यो च्याँठिएको देशभक्तिले भनभन्ती रिङ्गटा छुट्योसोल्टिनी तिम्रो ठुटे देशभक्तिप्रति सलाम देशको भौगोलिक परिधिभित्र बस्नेले आफूलाई बढी राष्ट्रभक्त मान्ने मनोग्रन्थी बोकेको पाइन्छ। आप्रवासी पनि तुलनात्मक रूपमा सहज विदेशी जीवनशैली उपभोग गर्दै स्वदेशी अतीत अनुरागमा डुबिरहेका हुन्छन्। यही बिन्दुमा गृहभूमि र लक्ष्यभूमिबीच अल्झनुको द्वन्द्व बल्झिन्छ। ‘म ध्रुवतारा’ कवितामा दयाकृष्ण आफ्नोे परादेशीय नजरद्वारा देशका सीमारेखाहरूलाई कृत्रिम सीमांकन ठान्छन्। यो उनको डायस्पोरिक चेतनाको अभिव्यक्ति हो। यसो भन्न डायस्पोरा नै भइरहनुपर्ने जरुरी नहोला, यद्यपि डायस्पोरिक नजरमा राष्ट्रबीच सीमारेखा त्यति धेरै जायज लाग्दैनन्। राष्ट्रिय सीमारेखाहरूको कम्तीमा पनि एक तहको भञ्जनको चाहना डायस्पोरिक मनोविज्ञानमा कतै प्रष्ट र कतै प्रच्छन्न रूपमा बसेको हुन्छ। लेख्छन् :
पृथ्वीमा मानिसले तेरो र मेरो भन्दै 
आआफ्नै देशहरू सीमांकन गरेको 
कृत्रिम रेखाहरू देख्यौ कि देखेनौ ? (पृ. ४८)

‘फलानो गाउँ जाने बाटो सोधिरहेका गोर्खालीहरू’ कवितामा मातृभूमि नेपाललाई आमा र लक्ष्यभूमि बेलायतलाई सानीआमा भनिएको छ। सानीआमाबाट आफूमाथि भेदभावपूर्ण व्यवहार भइरहेको गुनासो कविले गरेका छन्। डायस्पोराहरू सानीआमाको काख त्यागेर आमाको काखमा पनि आउन सक्दैनन्। यो उनीहरूको आम सीमितता हो। उनी लेख्छन् :
श्याम, श्वेत, पीत वर्ण
सबैलाई समान अवसर भन्ने
नारामा मात्रै सीमित रहेछ 
रातो राहदानीले त हाम्रो पीत वर्ण
श्वेत वर्णमा अवश्य परिवर्तन हुन सक्दैन

आफ्नै लक्ष्यभूमि बेलायतप्रति कविको चरम निराशा छ। ‘के दिन सक्छौ नयाँ कुरा’ कवितामा उनी भन्छन्, ‘एक्काइसौं शताब्दीको सूर्य÷अब तिम्रो वशमा छैन’ (पृ. ६६)। पतन भइसकेको साम्राज्यको विरासत बोकेको बेलायत अब केवल भग्नावशेष हो। यससँग नयाँ विचार दिने र संसारलाई दिशानिर्देश गर्न सक्ने कुनै तागत छैन।

‘बिन लादेन र उनको सपना’ कविताभित्र बिन लादेनको जातीय शुद्धतावादी सोच उजागर भएको छ। आतंकवादको भियग्रा सेवनले मातेको बिन लादेनको नजरमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा एक अपवित्र अस्तित्व हो भन्ने कवि ठान्छन्। लादेनलाई ठिमाहापन विरोधी शुद्धतावादी भन्ने आरोप लगाइसकेपछि कवि ठिमाहापनका पक्षपाती देखिन्छन्।

समग्रमा, कविले विषयगत हिसाबमा विविधतायुक्त कविता प्रस्तुत गरेका छन्। काव्यको मिठाससहित वैचारिकताको उठान कवितामा प्रष्ट देखिने विशेषता हो। जातजातिका मुद्दा, लैंगिक सम्बन्ध, यौन, लक्ष्यभूमि र गृहभूमिप्रतिका दृष्टिकोणजस्ता विषयमा उनी कविताद्वारा विचार प्रदान गरिरहेका पाइन्छन्। यसका युद्ध कविताहरूले एकातिर गोर्खा सैनिकको अदम्य साहसलाई उजागर गरेका छन् भने अर्काेतिर गोर्खा सैनिकबारे निर्माण गरिएको आधारहीन नकारात्मक छविलाई निन्दा गरेका छन्। यसका साथै यौन विषयमा लेखिएका उनका कविता निकै नै ‘साहसी’ प्रतीत हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.