बेनीको मौलिक नागानागिनी नाच
बेनी : नागा नागीनी नाच म्याग्दीको सदरमुकाम बेनीका नेवार समुदायको मौलिक नाच हो। यो नाच अन्य ठाउँमा देखाइँदैन। बेनीमा मात्र देखाइने नेपाल भाषा मंका खःल म्याग्दीले जनाएको छ।
नागानागिनी नाचमा दुई जना कलाकार आवश्यक पर्छ। दुवै जना पुरुषमध्ये एक जनाले महिलाको कपडा पहिरिएर अभिनय गर्छन्। अनुहारमा मुकुन्दो लगाउने पुरुष कलाकारले घोति लगाएका हुन्छ। नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ।
बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ। ‘नागा र नागिनीले एक अर्कालाई माया प्रेममा परीक्षण गर्न खोजेको अभिनय गर्छन,’ उनले भने ‘श्रीमान श्रीमतीबीच विश्वास भयो भने परिवार सफल हुन्छ भन्ने सन्देश नागानागिनी नाचले प्रवाह गरेको हुन्छ।’
नाचको क्रममा नागालाई अरु नागिनीहरुले एक अर्कालाई परीक्षण गर्न आकर्षित गर्न खोज्ने र नागिनी पनि अरु पुरुषसँग नजिकिएको अभियन गर्छन्। नाचको अन्तिम समयमा नागिनीलाई लुकाइन्छ।
दुवै जनाले पारिवारिक अविश्वास सिर्जना भएको महशुस गर्छन् र सम्बन्धलाई सुधार गरेर विश्वास कायम गर्दै नाचको अन्त्य हुन्छ।
नयाँ पुस्तामा नागानागिनी नाचको सिप र कला हस्तान्तरण गर्ने उद्देश्यले तीन पुस्ताका कलाकारको सहभागितामा जनै पूर्णिमा र गाईजात्रा पर्वको अवसरमा बेनीमा नागानागिनी नाच प्रर्दशन भएको नेपाल भाषा मंका खःल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।
पाका पुस्ताका राजेन्द्रकुमार श्रेष्ठ र अभिनेश श्रेष्ठ, युवाका सज्जन र जेनेश तथा बालक पुस्ताका आरप र सालिन श्रेष्ठको जोडिले नागानागिनी नाच प्रस्तुत गरेका थिए। राजेन्द्र र जेनेस बुवाछोरा हुन्। आरप र सालिनको उमेर ६ वर्ष हो।
‘नागानागिनी नाच बेनीका हामी नेवार समुदायको मौलिक नाच हो। सायद यस्तो नाच देशका अन्य ठाउँमा छैन,’ उनले भने ‘नागानागिनी नाच लोप हुन नदिन पाका, युवा र बालक उमेरका तीन जोडी कलाकारलाई नचाएका हौं।’