नेपाली ठेट शब्द र भाषामा शक्ति छ, जुन विश्वले मन पराउँछ
सिक्किमका नेपालीभाषी प्रज्वल पराजुलीको मावली इलाम हो। उनको हुर्काइको केही समय नेपालमा पनि बितेको छ। इलामका उकालोओरालोमा हिँड्दा खुट्टा ठोक्किएको याद अझै ताजै छ। सडक नपुगेको जमुनाको उकालो चढ्दा घोडाको ढाडको साथ लिए पनि ओरालोमा स्थानीय साल्दाइको डोको नचढी माउलको आँगन टेक्न सक्ने अवस्था थिएन त्यो समय। सानै उमेरमा साल्दाइको डोकोमा चढ्दा दाइको कपाल तानेर र टोकेर उखेलेको सम्झने उनी ठट्ट्याउलो भाषामा भन्छन्, ‘त्यही कर्मले होला मेरो तालु अहिले चिल्लै छ।’ कुरामात्रै होइन, नेपालीको रहनसहन र लवजलाई पनि उनी ठ्याक्कै शब्दमा उतार्न सक्छन्। त्यो पनि अंग्रेजी साहित्यमा। नेपालीभाषी परिवारका कथाहरूमा केन्द्रित ‘द गुर्खाज डटर’ र उपन्यास ‘द ल्यान्ड हृवेर आई फ्ली’ अन्तर्राष्ट्रिय पाठकमाझ लोकप्रिय छन्। यिनै पुस्तकले उनलाई विश्वमा चिनायो। अमेरिकामा स्नातक तहसम्मको अध्ययन गरेर बेलायतस्थित अक्सफोर्ड युनिभर्सिर्टीबाट स्नातकोत्तार गरेका उनले विभिन्न पुस्तकबाट नेपालीको वास्तविक मुहार विश्वमा पुर्याइरहेका छन्। उनै लेखक पराजुलीसँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी :
जन्म भारत, बसाइ प्रायः अन्य मुलुक। नेपाललाई कसरी सम्झनुहुन्छ ?
भारतमा जन्मिए पनि नेपालीभाषी भएका कारण र मेरो मावली इलाम रहेकाले यो साइनु पुरानु हो। वर्षमा नभए पनि दुई वर्षमा एक पटक त पहिले नेपाल आइरहने गथ्र्यो मेरो परिवार। आमा, बुवाको हात समाएर मावली इलामसँगै काठमाडौं सहर सानैमा घुमेको याद अमिट छ। किनकि ग्यान्टोक जति धनी भए पनि सानु ठाउँ हो। काठमाडौं आउँदा मलाई विकसित सहर पुगेको महसुस हुन्थ्यो। स्वचालित भर्याङ (लिफ्ट) पहिलोपटक काठमाडौंको विशाल बजारमा देखेको थिएँ, त्यो समय। अनि हामी पनि नेपाली भाषी भएकाले नेपाल त आफ्नै परिवार र समाज जस्तो लाग्छ नि। त्यो अवस्था पहिले मात्रै होइन, अहिले पनि छ। भाषाका कारण होला नेपाल आउँदा ढुक्क महसुस हुन्थ्यो÷हुन्छ। जति भारतका सहर कोलकाता र दिल्ली जाँदा भएन। त्यहाँ जाँदा सबैले भन्थे– ‘पहाडबाट आएको पकेट र सामान सुरक्षित गर्नु है।’ तर, काठमाडौंमा ढुक्कले आफ्नै भाषामा बोल्दै आनन्दले हिँड्न पाइन्थ्यो। नेपाल सम्झने मेरा धेरै बाटा छन्।
भाषाको कुरा जोड्नु भयो, भाषाकै कारण सुरक्षित महसुस हुने हो ? यसको शक्ति कस्तो हुने रहेछ ?
धेरै मुलुक पुगें। त्यहाँको भाषा जानेपछि त्यहाँका मानिसले गर्ने व्यवहार नै फरक हुने रहेछ। त्यो त मैले सानैमा नेपाल र भारतका सहर पुग्दा महसुस गरेको थिएँ। भाषाको शक्ति अथाहा छ। जहाँको भाषा जानिन्छ त्यहाँ फरक तरिकाको सम्मान हुन्छ। पहिले म फ्रान्स र न्युयोर्क ओहोरदोहोर गर्दा फ्रान्सको भाषा जान्दिनथेँ। अहिले केही जान्दछु। पहिले र अहिले गर्ने त्यहाँको व्यवहार पनि फरक पाएको छु। त्यहाँको भाषा जान्दा स्थानीय खुसी हुन्छन्। आत्मीय भएर कुरा गर्छन्। पहिलेदेखि नै मलाई भाषामा रुचि हो। अभैm नेपाली भाषाको कुरा गर्दा मलाई कम मात्रै बोल्न आउँछ। तर, धेरै बुझ्छु। सारै रमाइलो लाग्छ। भारतमा नेपाली भाषीले बोल्ने भाषा र नेपालमा बोल्ने फरक छ। यहाँ ‘पोलाइट’ बढी छ। हाम्रोतिर अलि ‘ठाडो’ टाइपको बाली हुन्छ भन्छन्। तर, त्यसलाई पनि यता कति मन पराउनुहुन्छ। यहाँ ‘हजुर’ भनेर कसैलाई सम्बोधन गरिन्छ। उता भनेको तपाईंभन्दा माथि त हुँदैन। यस्ता स–साना कुरा मात्रै फरक हो। तर, नेपाली बोलीको सुन्दरता अजिब छ।
सोचेजस्तो त हुँदैन। कथा वा उपन्यास लेख्दै जाँदा कहिले पात्र बटारिन्छ। मैले दिएको भूमिका उसलाई सुन्दर लाग्दैन। त्यसैले सुन्दर हुने भूमिका दिन्छु। जुन पाठकले पनि मन पराउनु भएको छ।
तपाईंले लेख्नुभएको पुस्तकमा नेपालीका कुरालाई अंग्रेजीमा बुझाउनु भएको छ। यताको कुरालाई कथा वा उपन्यासबाट अंग्रेजीका पाठकलाई कति बुझाए जस्तो लाग्छ ?
म जुन देशबारे पनि अंग्रेजीमा लेख्न सक्थे होला। तर, नेपालको संस्कार संस्कृति अचम्मका छन्। जस्तो ‘चित्रलेखाको चौरासी’ पुस्तकको कुरा गरौं। यो ८४ गर्ने कुरा विश्वका लागि अनौठो संस्कार हो नि। मलाई यस्ता युनिक कुरा मन पर्छन्। त्यसैले म नेपाली छान्छु। मैले यहाँको कुरा वेस्टर्न रिडरलाई सकेको बुझाएको छु। कथा र उपन्यासमार्फत मेरा पात्रलाई प्रयोग गरेर बुझाएको जस्तो लाग्छ। जे देखें, त्यही लेखेको छु। यसरी लेख्दा कतिले त ‘नेपालको राम्रा कुरा मात्रै लेख्नु पर्दैन ?’ भन्छन्। नेपालको नराम्रो नलेख्नु पनि भने। म ‘पब्लिक रिलेसन ब्रोसियर’ होइन नि। हाम्रो समाजमा सबै खाले मान्छे हुन्छ। म ‘भिजिट नेपाल’ खालको ब्रोसर लेख्दिनँ। तर, म फिक्सन राइटर भएकाले भएको कुरालाई ठ्याक्कै उतार्छु। त्यसलाई पाठकले मीठो रूपमा लिनु पनि भएको छ।
नेपाललाई विश्वमा चिनाउन तपाईं त पुस्तकमार्फत एउटा पुल पनि हुनुभयो। पाठकको खोजी नेपालको विषयमा के हुँदो रहेछ ?
वेस्टर्नमा रहेका धेरै नागरिकले नेपालको ठ्याक्कै मन पराउने कुरा नेपालीको आत्मीयता नै हो। जस्तो, बोल्दा हाँसेर बोल्ने, नरिसाउने, मिहेनती, घरघर डुलेर कुरा गरेर बस्ने अचम्मको संस्कार छ भनेर अनौठो मान्दै उनीहरूले यो अवस्था रुचाएका छन्। नेपालीको जीवन गरिब भए पनि खुसी देखिन्छन्। उनीहरू धनी भए पनि खुसी हुन नजानेकाले हुन सक्छ कसरी खुसी हुने भनेर पनि हामी (नेपाली)लाई खोजेका छन्। मेरो यो चित्रलेखाको चौरासी किताब पनि मिडियम नेपालीको कथा हो। यसले नेपालीलाई विश्वसँगको सम्बन्धमा जोडेको छ, चिनाएको छ।
भारतमा जन्मिए पनि नेपालीभाषी भएका कारण र मावली इलाम भएकाले यो साइनु पुरानो हो। आमा, बुवाको हात समाएर इलामसँगै काठमाडौं सहर सानैमा घुमेको याद अमिट छ। किनकि ग्यान्टोक जति धनी भए पनि सानु ठाउँ हो। काठमाडौं आउँदा मलाई विकसित सहर पुगेको महसुस हुन्थ्यो।
अहिले पनि भारतमा लेखिएका किताब, वृत्तचित्र र चलचित्रमा नेपालीलाई काम गर्ने मजदुर, कोठीमा काम गर्ने र दरबार पुगे पनि सरसफाइ गर्ने र सुरक्षा गार्डका रूपमा मात्रै प्रस्तुत गरेका छन्। मिडियाले पनि यस्तै कुरामा फोकस गरेको देख्छु। तर, नेपाली यहाँभन्दा धेरै माथि उक्सिए। जीवन सुन्दर छ। आधा समय नेपाल र आधा युरोपका देशमा समेत बस्न सक्ने छन् नेपाली। चुलोचौकाबाट महिला बाहिर आएर नेतृत्व लिन सक्ने बने। उच्च तहसम्म नेपाली छन्। यी लुकेका वास्तविक कुरा मेरा पुस्तकमा प्रशस्त छन्।
नेपालीको जीवनमा परिवर्तन आइरहनु एउटा विषय भयो। यहाँका संस्कार, संस्कृति र जीवनशैलीको पाटो अथाह छ। केही विषय त तपाईंले पुस्तकमा उतार्नु भयो। पुस्तक लेख्दै गर्दा यति धेरै विषय के छानौं, के छानौं हुँदैन ?
अपो.. लाग्छ नि हौं। कति धेरै विषय छन्। कुन कुरा लेखौं, कुन कुरा लेखौं भन्ने लाग्छ। जुन कथाले मेरो मस्तिष्क घोचिरहन्छ नि, त्यो विषयमा पात्रलाई खेलाउँछु। भन्दा यो जे पनि बोल्छ भन्ने लाग्न सक्छ। तर, कहिलेकाहीँ मेरा पात्र त्यो कुरा मान्दैनन्। म पोजेटिभ कुरामा पात्रलाई खेलाउन खोज्छु। पात्र नेगेटिभ भूमिकामा मात्रै सुन्दर देखिन्छ। अनि कथाले फरक मोड लिन्छ। तर, ती सबै नेपाली जनजीवनका वास्तविकता हुन्।
पात्रलाई तपार्इंले सोचेअनुसार भूमिका दिनुहुन्छ कि पाठकले खोजेअनुसार ?
मैले सोचेजस्तो त हुँदैन। कथा वा उपन्यास लेख्दै जाँदा कहिले पात्र बटारिन्छ। मैले दिएको भूमिका उसलाई सुन्दर लाग्दैन। त्यसैले ऊ सुन्दर हुने भूमिका दिन्छु। जुन पाठकले पनि मन पराउनु भएको छ। पाठकले त्यो पात्रलाई अन्याय गर्नुभयो भनेर पनि कमेन्ट गर्नुहुन्छ। त्यो भन्नु भनेको कथा वा उपन्यासको गहनता बुझ्नु पनि त हो नि। म त भन्छु मेरो पात्रले आफैं त्यो पुस्तकमा काम गरेको हुन्छ।
चित्रलेखाका चौरासी, गोरखाकी छोरीले नेपालको माया देखाएका छन् विश्वमा। पाठकले पुस्तक पढ्दा नेपाल बुझेका हुन्छन् कि कथा ?
दुवै बुझेका हुन्छन्। एउटा कथामात्रै पढेर त्यो मुलुकको विश्लेषण गर्न मिल्दैन। तर, केही भने त्यो पुस्तकले बुझाएको हुन्छन्। पाठकले देश बुझ्न एउटा पुस्तकमात्रै पढेर हुँदैन नि। गोरखाकी छोरीमा भएका कथामा नन्द र भाउजूको भूमिका छ। त्यो कथामा भएका कुरालाई मात्रै लिएर नेपालका महिला यस्ता हुन्छ त भन्नु भएन नि है ? तर, केही पात्र र अवस्था पक्कै पनि त्यो पुस्तकले बुझाएकै हुन्छ।
तपाईंले लेख्नु भएको किताबमा महिला पात्रलाई बढी र मुख्य भूमिका दिनु भएको छ ? मुख्य पात्र किन महिला नै छनोट गर्नुहुन्छ ?
भारतीय लेखकले लेखेको पुस्तक पढेर हुर्किएको हुँ। ती कथा र किताबमा एकजना हजुरआमा भेटिनुहुन्छ। उहाँ घरको काम गर्नु हुन्छ। मीठो अचार बनाउनुहुन्छ। उहाँको त्यहाँ भूमिका घर र अचारसँगै खानेकुरामा जोडिएको देखाइन्छ। पुरुषले मात्रै बाहिरको काम गर्न सक्छन् भन्ने कुरा बढी देखाइएको हुन्छ। तर, अवस्था त त्यो छैनन् नि। त्यसैले मेरा पत्रमा महिले त्यो पनि ‘खत्रा’ खालका छन्। उनीहरू पढेका हुन् या अनपढ तर, कुनै पनि शक्तिशाली पुरुषलाई आफ्नो बसमा पार्न सक्छन्।
नेपाली भाषाको सुन्दरता अथाह छ। ती शब्दका शक्ति अचम्मका छन्। नेपाली ठेट शब्द प्रयोग गर्दा लेखकले सबैभन्दा बढी आनन्द महसुस गर्छन्। अंग्रेजीमा लेखेको कुरालाई मजाले भाषा परिवर्तन गरेर नेपालीमा ल्याउँदा ‘ब्रान्डेड’ खानामा अझै मीठो मसला
थपे जस्तो हुन्छ।
मेरो कथामा महिलालाई शक्तिशाली महिलाको रूपमा खेलाएको छु। जसले राजनीति, समाज र कार्यालयको नेतृत्व गरेका हुन्छ। शिर उच्च पारेर ‘जे पनि’ बोल्न सक्छन्। म किनकि ती घरमा घिरिएकी हजुरआमा र अचारको रिलेसन जस्तो कथा लेख्दिनँ। र, अर्को कुरा नेपाली महिला रियलमा पनि यस्ता छन्। मेरो पुस्तकका पुरुष पात्र त साँच्चै अल्छी लाग्दा छन्। उनीहरूको भूमिका सेकेन्डरी मात्रै छ। तपाईंलाई थाहा छ नि महिला हिँड्दा केटाहरूले जिस्क्याएको कुरामा महिलाले कति मज्जाले उत्तर दिन्छन्... भनेर गाली नै गर्छन्। ती क्यारेक्टर लेख्न कति मजा आउँछ। ती नेपाली रियर शब्दलाई अंग्रेजीमा लेख्न मज्जा लाग्छ। ती कुरा लेख्दा हाँस्दै लेख्छु। यस्ता कुरा लेख्दा पुस्तक भरिएको थाहा नै हुँदैन।
नेपालमा बोल्दा मज्जा लाग्ने नेपाली ठेट शब्द बाँडिरहनु भएको छ विश्वभर। अंग्रेजीमा लेखेका चर्चित पुस्तकलाई नेपालीमा रूपान्तरण गर्दा त्यो मिठास घटेको छ कि बढेको ?
नो...। कहाँ नेपालीमा मिठास घट्नु ? झनै मजा आउँछ। नेपाली ठेट कुरालाई अंग्रेजीमा लेख्दा अझै लामो होला। तर, त्यसलाई नेपालीमा लेख्दा १-२ शब्दमै सकिन्छ। त्यसले अझै मिठास दिन्छ। ती वास्तविक कुरालाई नेपाली पाठकले पनि मन पराउनु भएको छ। साँच्चै भन्ने हो भने नेपाली भाषाको सुन्दरता अथाह छ। ती शब्दको शक्ति अचम्मको छ। ती नेपाली ठेट शब्द प्रयोग गर्दा लेखकले सबैभन्दा बढी आनन्द महसुस गर्छन्। अंग्रेजीमा लेखेकोलाई मजाले भाषा परिवर्तन गरेर नेपालीमा ल्याउँदा ‘ब्रान्डेड’ खानामा अझै मीठो मसला थपे जस्तो हुन्छ।
नेपालमा मावली, पढाइ बाहिरै, विभिन्न देश घुम्नुभयो। तर, किन तपाईंको खोजी नेपाली समाज नै भयो ? पात्र नेपाली किन लिनु भयो ?
सबै कुराले पूर्ण मुलुकमा मिठास अपूर्ण हुन्छ। जहाँ विभिन्न कुराले नागरिक थलिएका हुन्छन्। पेलिएका हुन्छन्। राजनीतिक अस्थिरता र द्वन्द्वले धेरै कुराको जन्म भएको हुन्छ। त्यसले समाजलाई भताभुंग मात्रै पार्दैन, नयाँ विचार र सोच पनि त्यहाँ उम्रिएको हुन्छ। हो मैले त्यहीँ कुरा टिप्ने हो। जुन मैले नेपालमा पाएको छु। सबै कुरालाई नजिकबाट बुझेको छु।
नेपालीको जीवनशैली र भोगाइ तपाईंका पुस्तकको महŒवपूर्ण अंश हुन् ?
हो, देखाएका भन्दा पनि नदेखाउने, मिडियामा र प्रचारमा कम आएका तर, मीठा नेपाली समाजका कथा मेरा पुस्तकका गुदी हुन्। यसैमा जीवनशैली र भोगाइ त पर्यो नि है ?
कथा वा उपन्यास लेख्दै गर्दा तपाईं आफैं पनि पात्र बन्नु भएको छ ? ती कथाभित्र आफैंलाई छिरौं लाग्यो कि लागेन ? कतिपयले कथाको रुत्व नै प्रज्वल पराजुली हो पनि भन्छन् नि ?
म रुत्वमा आफूलाई पूर्ण रूपमा त देख्दिनँ भने धेरै ठाउँ भने। तर, त्यसमा मेरो केही गुण त छ नि। कथाका पात्रमा आफ्नो जीवनका कुनै भोगाइ जोडिन्छ। आफैं हुँ जस्तो महसुस पनि हुन्छ नि। आफैं भन्नुहोस् त प्रज्वल पराजुली नराम्रो भएको भए रुत्व बन्थ्यो होला ? रुत्वले भन्ने धेरै कुरा सायद म पनि भन्छु होला। रुत्वको विकास गर्दै जाँदा आफूमा भएको नकारात्मक इनर्जीलाई एकीकृत गरेको चाहिँ अवश्य हो।
सुरुका पुस्तकका पात्र अर्को पुस्तकमा पुग्दा कतिको शक्तिशाली बन्छन्। ती पात्रको विकास भएको छ ?
अवश्य हुन्छ। मेरो पुस्तक एउटा संसार हो। त्यहाँ धेरै पात्रलाई जन्म दिएको छु। कहिलेकाहीँ त म मेरा पात्रलाई देखेर म पनि अचम्म मान्छु। कुनै कुनै पात्रलाई म पावरफुल बनाउँछु। धेरै ती पात्रका ‘फ्यान’ पनि भएका छन्। समयअनुसार ती पात्रलाई क्रमशः कथाअनुसारको भूमिकामा ढाल्छु। कुनै पात्र त हराए पनि होलान्, तर जति छन्। तिनीहरूको क्रमशः पुस्तकको महŒवसँगै विकास भने अवश्य भएको छ।
तपाईंका पात्रले नेपालको जीवन फरक संसारमा देखाए। ती पात्रले नेपालका के–के कुरामा खेल्न पाउँछन् अब। अब तपाईंको पुस्तकमा कुन विषय वा क्षेत्र बढी समेटिनेछ आगामी दिनमा ?
लेख्नु भनेको साह्रै अप्ठ्यारो कुरा हो। पात्रलाई सही भूमिका दिन झनै गाह्रो हुन्छ। कसैले मलाई त उपन्यास लेखिरहन मन लाग्छ भन्छन्। ती कुरा सुनेर म छक्क पर्छु। के भनेको होला भन्ने लाग्छ। म मन छोएको विषयमा सरर लेख्छु। त्यो मन कति वर्षमा छुन्छ टुंगो हुन्न। त्यसैले मेरा पुस्तक वर्षौंपछि निस्कन्छन्। विश्वलाई चिनाउने सबै कुरा समेटिनेछन्। फेरि म कुनै प्रेसरमा काम गर्दिनँ। मन लागेको बेला लेख्छु। पाठक र प्रकाशकले के चाहन्छ भन्ने म सोच्दिनँ। कहिलेकाहीँ कुनै कथाले मलाई छाड्दैन। नछाडेको समयमा लेख्छु। सबैको लेख्ने शैली र बानी एउटै हुँदैन। म कुनै पनि डेटलाइन दियो भने लेख्न सक्दिनँ।
तपार्इंका दुईवटा संसार छन्। पात्र दौडाउने संसार र वास्तविक संसार। तपाईं कुन संसारमा बढी हराउन मन गर्नुहुन्छ ?
म जहाँ छु, त्यही रमाउँछु। त्यसैले मजा दुवैतिरै छ।
विश्वका विभिन्न मुलुक पुग्दा नेपाल त्यहाँका नागरिकले कसरी बुझेको पाउनुभयो ?
कतिले त पुस्तक पढेर बुझे। कतिले सरकारको ब्रोसर पढेर बुझे। तर, नेपाल दुःखमा पनि खुसी हुने मुलुक हो भनेर चिन्दा रहेछन्। हामी त खुसी मान्छे हो नि। त्यसको वास्तविकता हेर्न त विदेशी यहाँ आउँछन्। नेपाली भनेको नेपाल, दार्जिलिङ, सिक्किम सबैको हो। हामी पहाडमा बस्ने मान्छे पहाडमा हिँडेर पनि होला शारीरिक रूपमा स्वास्थ्य पनि हुन्छन्। सोझा हुन्छन्। र, मन फुकाएर कुरा बाँड्ने हुन्छन्। म त सिम्पल मान्छे । दुःख गर्ने मान्छे सामान्य हुन्छन्। यो अचम्मको स्वभाव विश्वले हेरिरहेको छ।
अध्ययन गर्ने र लेख्ने धेरै माध्यम छन्। पुस्तक नै किन पढ्नुपर्छ भन्ने लाग्छ तपाईंलाई ?
तपाईंले टीभीमा चलचित्र हेर्नुभयो, त्यस्ले तपाईंको दिमागमा कस्तो छाप छाड्छ त्योभन्दा फरक पुस्तकले दिन्छ। तपाईंलाई फरक बनाउनमा र सकारात्मक कुरा दिमागमा छाड्नलाई पुस्तक नै मजबुत माध्यम हो। किताब लेख्नु धेरै गाह्रो भए पनि म भाग्यमानी भएकाले थोरै पुस्तकबाट पनि चर्चामा छु जस्तो लाग्छ।
आफूलाई पुस्तक लेख्नकै लागि जन्मिएको हो कि जस्तो लाग्दैन ?
कोही बेला लाग्छ पनि तर कुनै बेला लाग्दैन पनि। मैले अरू कुरा गरेको भए म त्यो कुरामा अति खत्तम हुने थिए। तर, अहिले सोच्छु म लेख्न चैं राम्रै लेख्छु जस्तो लाग्छ। जोभित्र पनि एउटा किताब हुन्छ। मभित्र भएको भाव निस्किएको हो। म पनि स्पेसल होइन, तर मभित्रको कथा मन पराउनु भएको छ।
पुस्तक लेखकले आफूलाई कुन बेला सफल भएको महसुस गर्छ ?
सफलता मापनमा धेरै कुरा हुन्छन्। कहिले पुस्तकले पाउने पुरस्कारले यसको मापन गर्छ त कहिले पुस्तकले पाउने रोयल्टीले। पाठकबाट आउने प्रतिक्रिया र पुस्तकभित्रका पात्रले पाठकको जीवनमा छाड्ने छापले पनि यसको मूल्यांकन गर्छ। तीमध्ये केही कुरा पाएको छु।