दुई महिनापछि मुस्ताङमा हवाई सेवा सुचारु
जोमसोम : विगत २ महिनादेखि स्थगित (पोखरा—जोमसोम ) हवाई उडान सेवा आइतबारदेखि सञ्चालनमा आएको छ। प्रतिकुल मौसम तथा पर्यटकीय अफ सिजनका कारण गत असार १३ गतेदेखि स्थगित गरिएको हवाई उडान आजदेखि सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ।
पोखरा—जोमसोमका लागि यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स् र समिट एयरलाइन्सको टुइनेटर जहाजहरुले उडान भर्दै आइरहेका छन्। यी दुई वटै निजी एयरलाइन्स कम्पनीहरुले प्रतिकुल मौसम र पर्यटक अफ सिजन सकिएकाले दुई महिनासम्म उडान स्थगित गरेका थिए।
बर्खायामको मौसम रोकिएसँगै पोखरा-जोमसोम हवाइ सेवा सुचारु भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए। उनका अनुसार आइतबार आज पोखरा—जोमसोमका लागि समिट एयरको जहाजले ३ वटा उडान भरेको छ। ‘बर्खायाम यहाँका लागि पर्यटकीय अफ सिजन मानिन्छ, बर्खायाममा मौसम समेत प्रतिकुल हुन्छ,’ कार्यालय प्रमुख शाहले भने,‘ मनसुन रोकिन थालेको र पर्यटकीय सिजन पनि सुरु हुँदैछ,जसका कारण एयरलाइन्स कम्पनीहरुले मुस्ताङमा उडान भर्न सुरु गरेका हुन्।'
मुस्ताङको जोमसोममा दुई महिनापछि हवाई सेवा सञ्चालनमा आएसंगै गुमनाम रहेको जोमसोम विमानस्थलमा पर्यटकीय चहल-पहल सुरु भएको हो। समिट एयरले हवाइ उडान सुरु गरे पनि तारा एयरलाइन्सको जहाजले यही भदौ २५ गतेदेखि हवाइ सेवा नियमित सञ्चालन गर्ने कार्यतालिका रहेको कार्यालय प्रमुख शाहको भनाइ छ।
प्रतिकुल मौसमका कारण रोकिएको पोखरा—जोमसोम हवाइ सेवा सुरु भएसँगै ५७ जना पर्यटक जोमसोम अवतरण भएका हुन्। जसमा समिट एयरको ३ वटा उडानमा ५४ जना भारतीय, १ जना तेश्रो मुलुक र २ जना आन्तरिक पर्यटक मुस्ताङ आइक्पुगेका हुन्।
मुस्ताङमा २ महिनासम्म फिक्सड विङ्ग हवाइ सेवा स्थगित गरिएको भए पनि रोटर विङ्ग हेलिकोप्टर सेवा भने यथावत थियो। हेलीले मुस्ताङमा आप्तकालीन सेवाका लागि उडान भर्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ। मुस्ताङमा हवाइ सेवा सुचारु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ। यसअघि बेनी—जोमसोम सडकमार्गको असहजता र हवाइ सेवा ठप्प हुँदा मुस्ताङमा पर्यटकीय गतिविधि ठप्पै रहेको थियो। बर्खायाम सकिएर अनुकुल मौसम सुरु भएसँगै पर्यटकले गुल्जार हुनेमा स्थानीय पर्यटन व्यवसायी आशावादी छन्।
मुस्ताङमा हवाई सेवा अवरुद्ध हुँदा र राष्ट्रिय राजमार्ग (बेनी—जोमसोम) सडकमा बाढी पहिरो र नदी कटानले पटक-पटक सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिक र कर्मचारीले सास्ती भोग्न बाध्य थिए। हवाइ सेवा नहुँदा र सडकमार्गको दुरअवस्थाका कारण आपत्कालिन सेवा नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो।
मनसुन रोकिएका सडकमार्ग समेत सुधारन्मुख हुने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०७०/०८० मा विभिन्न मुलुकका ७१ हजार विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए।